त्रिवि शिक्षण अस्पतालमा भयो ११ महिने बालकमा कलेजो प्रत्यारोपण

काठमाडौँ, १ चैत । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल) का चिकित्सकहरुले १ बर्ष भन्दा कम उमेरको बालकमा कलेजो प्रत्यारोपण गरेका छन् । काभ्रे भएका एघार महिनाको बालकलाई शनिबार राती ८ घण्टा लगाएर कलेजो प्रत्यारोपण गरेका हुन् । प्रत्यारोपणका लागि ती बालकलाई उनका  ३५ बर्षका बाबुले कलेजो दान गरेका थिए ।

प्रत्यारोपणमा सघाउन फोर्टिस अस्पताल भारतका डा विजय भिजको नेतृत्वमा चिकित्सकको टोली आएको थियो । उनीहरुको सहयोगमा प्रत्यारोपण सफल भएको त्रिवि शिक्षण अस्पताल प्रत्यारोपणविद डा रमेशसिंह भण्डारीले बताए ।

डा भण्डारीका अनुसार त्रिवि शिक्षण अस्पतालमा यो पाँचौं कलेजो प्रत्यारोपण हो । यस्तै सानो उमेर (शिशु)मा गरिएको पहिलो प्रत्यारोपण हो ।

मिर्गौला र कलेजो प्रत्यारोपण हुने त्रिवि शिक्षण अस्पतालमा कोरोना महामारीपछि झण्डै एक बर्ष यी दुबै सेवा रोकिएका थिए । मिर्गौला प्रत्यारोपण केही साता अघि देखि शुरु भएको बताइएको छ । कलेजो प्रत्यारोपण भने कोरोना महामारी शुरु भए यताको पहिलो हो ।

गत वर्ष लकडाउन हुनु अघि त्रिवि शिक्षण अस्पतालमै प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । डा भण्डारीले प्रधानमन्त्री ओलीले स्वदेशमै दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेर नेपालका चिकित्सक र अस्पतालप्रति विश्वास दर्शाउदा आम सर्वसाधारणमा समेत त्यसको प्रभाव परेको भन्दै ओलीलाई समेत धन्यवाद दिएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *