‘महिनावारी सुकेपछि पुन: सुरु भयो ? परीक्षण गराई हाल्नुहोस् है, कारण अर्कै हुन सक्छ…..’

काठमाडौँ, १४ पुस । ‘मेरो महिनावारी सुकेको दुई तीन वर्ष भयो तर अहिले फेरी हुन थाल्यो । अनि अहिले हुन थालेको महिनावारी चै नियमित छैन, दुखाई बढी छ, महिनावारी हुने समय पनि गडबढी छ,’ स्त्री क्यान्सर रोग विशेषज्ञ डा. सरिता घिमिरेले जब उपचारका लागि आफूलाई खोज्दै आएका बिरामी महिलालाई समस्या बारे सोध्दा यस्तो उत्तर प्राप्त गर्दथिन् मनको कुनामा चिसो पसि हाल्दथ्यो ।
उनले तत्कालै पाठेघरको मुखको परीक्षण गराउथिन् । रिपोर्टमा आउथ्यो, पाठेघरको मुखको क्यान्सरको थर्ड स्टेज, फोर्थ स्टेज ।
शुक्रबार ललितपुरमा भएको एक अन्तरक्रिया कार्यक्रममा डा. घिमिरेले समयमै पहिचान गर्न सके पूर्ण रुपमा निको हुने पाठेघरको मुखको क्यान्सरबारे प्रयाप्त जनचेतना बढाउन नसक्दा दैनिक ४ जना महिलाले ज्यान गुमाउनु परिरहेको नमिठो यथार्त पोखिन् ।
‘सामान्य त ४९ – ५० बर्षमा महिनावारी सुक्छ । तर त्यसका केही वर्ष पछि पुन: महिनावारी भयो भन्दै आउनु हुन्छ,’ उनले दोहोर्याएर थपिन्, ‘यदि महिनावारी सुकिसकेपछि त्यसरी योनीमार्गबाट पुन: रगत आएको छ भने केही गडबड छ भनेर सोच्नु पर्छ है । तत्काल स्त्री रोग तथा क्यान्सर रोग विशेषज्ञलाई देखाएर आवश्यक परामर्श लिई हाल्नु पर्छ ।यस्तो हुनु भनेको पाठेघरको मुखको क्यान्सरको लक्षण पनि हुनसक्छ ।
महिलाहरुमा देखिने पाठेघरको मुखको क्यान्सरको भार विश्व परिवेशलाई नियाल्दा पाँचौ स्थानमा छ तर नेपालमा दोस्रो स्थानमा छ ।
डा. घिमिरेले अगाडी थपिन्, ‘महिलाहरुमा देखिने क्यान्सरहरुमा कम खतरनाक भनेर चिनिएको त छ तर यसैले दैनिक ४ जना दिदी बहिनीको ज्यान लिईरहेको छ । नियमित स्क्रिनिङ गर्न सके यसबाट सहजै जोगिन पनि सकिन्छ । सुरुका स्टेजमा उपचार गर्न सकेमा पूर्ण निको पनि हुन्छ ।’
उनले योनीबाट गन्हाउने पानी बग्ने, महिनावारी सुकिसकेपछि पुन रक्तश्राव देखिने भयो भने त्यो पाठेघरको मुखको क्यान्सरको लक्षण हुन सक्ने बताईन् ।
शुक्रबार स्वास्थ्य पत्रकार मञ्च नेपालको सहकार्यमा स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले आयोजना गरेको पाठेघरको मुखको क्यान्सर वर्तमान अवस्था, नीति तथा चुनौती विषयेक पत्रकार अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सञ्चार केन्द्र, आड्रा नेपाल, यूएनएफपीए, नर्वेजीयन दुतावासले सघाएका थिए ।
सो कार्यक्रममा परिवार कल्याण महाशाखाकी कविता अर्यालले पाठेघरको मुख्य क्यान्सर न्युनिकरणका लागि सरकारले चालेको कदमबारे प्रस्तुति दिएकी थिईन् । उनले नेपाली महिलाहरुमा पाठेघरको मुखको क्यान्सर परीक्षण गर्नुपर्छ भन्ने चेतनाको समेत अभाव रहेको भन्दै यसले गम्भीर स्वास्थ्य संकट निम्त्याएको बताईन ।

नेपालले सन २०३० सम्म पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ ९० प्रतिशत पुर्याउने लक्ष्य राखेको छ । तर अहिलेसम्म ११ प्रतिशत मात्रै भएको छ । उक्त लक्ष्य हासिल गर्न मुस्किल रहेकोले नयाँ तरिकाले सोच्नुपर्ने बेला आएको उनको भनाई थियो ।
यो रोकथामका लागि सरकारले नीतिगत तथा कार्यक्रममा प्राथमिकता दिएपनि बजेटको व्यवस्था नगरेको अर्यालको गुनासो छ ।
कार्यक्रममा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनीलराज शर्माले पाठेघरको मुखको क्यान्सर विरुद्ध सचेतना बढाउनु जरुरी रहेको बताए । उनले भने, ‘सचेतना भएमा परीक्षण दर बढ्छ र यसले जटिल अवस्थामा पुग्ने सम्भावना पनि कम हुन्छ ।’
कार्यक्रममा स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष सरोज ढुंगेलले स्वास्थ्य सचेतनामा पत्रकार तथा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने भन्दै राज्यले यस तर्फ लगानी बढाउनु पर्ने बताए ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




