नेपालको स्वास्थ्य सेवाका खम्बा, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका : के छ योग्यता ? कति छ सुविधा ?

काठमाडौँ, २१ मंसिर ।  गत मंगलबार स्वास्थ्य सेवा विभाग नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाको आयोजनामा २० औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइरहँदा नेपाल स्वास्थ्य स्वयंसेवी सङ्घकी केन्द्रीय अध्यक्ष समेत रहेकी महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका गीता थिङले सुविधा बढाउन सरकारसंग माग गरेकी थिईन् ।

नेपालको बाल तथा मातृमृत्युदर घटाउन प्रमुख भुमिकामा रहेका स्वास्थ्य स्वयंसेविकाहरुलाई राज्यले समयानुकुल सुविधा नदिएको उनको गुनासो थियो ।

‘अन्तर्राष्ट्रिय श्रम संगठनले दैनिक १ घण्टा काम गरे पनि श्रमिकको मान्यता दिएको हुँदो रहेछ तर हामीले दैनिक औषत चार घण्टा काम गरिरहेकै हुन्छौँ । हामीलाई न योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गरिएको छ, न न्युनतम ज्याला दिइएको छ । स्वयंसेवा नाम दिइएकै भरमा यति महत्वपूर्ण कार्यलाई कुशलतापूर्वक सम्पन्न गरिरहेका महिला दिदी बहिनीमाथिको श्रम शोषण होईन ? लोकतान्त्रिक गणतन्त्र शासन व्यवस्थामा पनि हामीमाथि निरंकुशता लाधने ? ३० औँ बर्ष काम गरेको व्यक्तिलाई अवकाशमा जाँदा २० हजार रुपैयाँ हातमा थमाएर पठाउन लाज हुँदैन ?’  उनले कडा रुपमा रुपमा स्वयंसेविकाको समस्या र गुनासा पस्कँदा हलमा उपस्थित अरु स्वयंसेविकाहरुले ताली बजाएर समर्थन गरेका थिए ।

त्यसपछि बोल्ने पालो आएका उपचारात्मक महाशाखाका निर्देशक डा अनुप बास्तोला र अतिरिक्त स्वास्थ्य सचिव डा दीपेन्द्ररमण सिंहले नेपालको स्वास्थ्य क्षेत्र सुधारका लागि मुख्य खम्वा महिला स्वास्थ्य स्वयंसेविका रहेको भन्दै उनीहरुको सम्मान र सुविधामा बढोत्तरी गर्नु पर्नेमा विचार राखे । उनीहरुले संघीय सरकार मात्रै नभई प्रदेश तथा स्थानीय तहका सरकारबाट समेत यसबारेमा सोच्नु पर्ने बताए ।

विसं २०४५ साल देखि सुरु भएको महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रममा अहिले ५१ हजार ४२३ जना कार्यरत रहेका छन् ।

महिला स्वास्थ्य स्वयंसेविकाहरुले के पाउँछन् सुविधा ?
स्वास्थ्य सेवा विभाग नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी निर्देशक हिराकुमारी निरौलाले स्वयंसेविका अध्यक्ष थिङले भनेजस्तै संघीय सरकारले स्वयंसेविकाहरुलाई सेवाबाट विदा हुँदा कदर पत्र सहित २० हजार रुपैयाँ उपलव्ध गराउने बताईन् ।

निरौलाका अनुसार त्यसबाहेक स्वयंसेविकाहरुले बार्षिक रुपमा १० हजार रुपैयाँ पोशाक भत्ता, बार्षिक रुपमा १२ हजार रुपैयाँ यातायात खर्च पाउँछन् ।

यस्तै आम औषधि सेवन कार्यक्रम, खोप अभियान आदिमा क्रियाशिल हुँदा प्रतिदिन ४०० रुपैयाँ खाजा तथा यातायात खर्च भनेर उपलव्ध हुने गर्दछ । त्यसबाहेक स्वयंसेविकालाई तालीम तथा गोष्टीहरुमा सहभागि हुँदा खाजा तथा भत्ताहरु उपलव्ध हुन्छ ।

यी भत्ता बाहेक प्रदेश तथा स्थानीय तहले थप सुविधा तथा भत्ता दिने गरेका छन् । जस्तो कि काठमाडौँ महानगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाको उमेर ६० बर्ष पुगेर सेवाबाट विश्राम लिदै गर्दा उनको हातमा २ लाख रुपैयाँ र कदर पत्र थमाउने गरेको छ । यसपटक देखि बागमती प्रदेश सरकारले सबै महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई बार्षिक रुपमा ५ हजार रुपैयाँ प्रोत्साहन भत्ता उनीहरुको खातामा हालिदिने निर्णय गरेको छ ।

त्यसो त संघीय सरकारले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई स्वास्थ्य वीमामा ५० प्रतिशत प्रिमियम तिरिदिने गरेको छ । अहिले बागमती प्रदेश सरकारले आफ्ना स्वयंसेविकाहरुलाई संघीय सरकारले झैं बाँकी ५० प्रतिशत आफूले तिरिदिने निर्णय गरेको छ । यसले बागमती प्रदेशका स्वयंसेविका र तिनका परिवारले स्वास्थ्य बीमा गर्दा पैसा तिर्नु नपर्ने भएको छ । यस्तो सुविधा अन्य प्रदेश तथा स्थानीय तहले पनि दिने गरेका छन् । तर रकम फरक फरक हुने गरेको निर्देशक निरौलाले बताईन् ।

स्वयंसेविका हुनका लागि के छ योग्यता र मापदण्ड ?
महिला स्वास्थ्य स्वयंसेविकाको छनौट स्थानीय आमा समूहले गर्ने गर्दछन् । त्यसमा केही मापदण्ड रहेका छन् । जस्तो कि स्वास्थ्य स्वयंसेविका बन्ने महिला स्थानीय बासिन्दा हुनु पर्दछ । सेवा प्रवेशको उमेर २५ देखि ४५ बर्ष तोकिएको छ । ६० बर्ष पछि भने अनिवार्य अवकाश हुनुपर्छ ।

स्वयंसेविका हुनका लागि सामान्य त १० पास गरेको व्यक्ति हुुनुपर्छ । यदि दुर्गम ग्रामिण क्षेत्रका टोल छिमेकमा १० पास गरेको व्यक्ति छैन् भने आधारभूत तह उत्तीर्ण गरेको महिलाले पनि काम गर्न सक्ने व्यवस्था गरिएको छ ।

स्वयंसेविका बन्नका लागि अर्को मापदण्ड भनेको उनीहरुको अन्य जागिरमा आवद्ध भएको हुनु हुँदैन भने कुनै राजनीतिक दलमा आवद्धता हुन पनि पाइदैन् ।

छनौट भएका महिलाहरुलाई १८ दिनको तालीम दिइसकेपछि कार्यस्थलमा पठाइन्छ । उनीहरुले परिवार नियोजनका अस्थायी साधन पिल्स कण्डम वितरण गर्ने देखि गर्भवती महिलाहरुलाई आइरन चक्की वितरण गर्ने, आम औषधि सेवन कार्यक्रममा सहभागी हुने, स्वास्थ्य शिक्षा सम्वन्धी सन्देशहरु गाउँ टोलमा पुर्‍याउने लगायतका कामहरु गर्नुपर्छ

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *