वीर अस्पतालमा गरिएका सामान्य पाँच काम, कम हुँदैछ परिसरमा भीडभाड र जाम

काठमाडौँ, २१ जेठ । तपाईँ यसअघि सेवा लिन वीर अस्पतालमा जानु भएको छ ? जानु भएको छ भने सेवा लिन कत्तिको सहज लाग्यो ? सेवा लिन जाँदा सबैभन्दा अफ्टेरो के भयो ?

तपाईँ धेरैको उत्तर हुन सक्छ टिकटका लागि लाग्नु पर्ने भिड, ओपिडी कता छ भनेर खोज्नु पर्ने समस्या, परीक्षणका लागि क्यास काउन्टरमा लाग्नुपर्ने लामो लाइन, साघुरो गल्लीको प्रयोगशाला, पालो कुरेर बस्नु पर्ने बिरामी र आफन्त बस्ने ठाँउको अभाव आदि आदि ।

तर अब वीरमा जानु भयो भने तपाईँले भोगेका विगतका समस्याहरुमा पक्कै कमी पाउन सक्नुहुन्छ । उपचार सेवालाई व्यवस्थित र सहज बनाउन अस्पताल प्रशासनले गरेका सामान्य कामले  अहिले  बिरामी र आफन्तहरुलाई धेरै सहज भएको छ ।

अस्पताल भित्र केही हप्ता अघिसम्म देखिदै आएको अव्यवस्थित भीड नियन्त्रणउन्मुख देखिन्छ । यसले सेवामा पनि चुस्तता थपेको छ ।

मात्रै साढे तीन महिना अघि निर्देशकको जिम्मेवारी सम्हाल्न आएका युवा चिकित्सक डा. सन्तोष पौडेलले सामान्य कामबाटै अस्पतालको सेवा सुधारको प्रयास थाले । अहिले उनको यो प्रयासलाई साथ दिन आइपुगे निमित्त उपकुलपतिको रुपमा प्राडा भुपेन्द्रकुमार बस्नेत ।

शुक्रबार स्वास्थ्य मन्त्रालयको हलमा स्वास्थ्य मन्त्री मोहन बस्नेतले वीरको सुधारका लागि दिएको एक साताको अल्टिमेटम सकिएको भन्दै रिपोर्ट कार्ड माग्दा उपकुलपति प्राडा बस्नेत र निर्देशक डा पौडलले पछिल्लो समय भएका काम र देखिएका सुधारका फेहरिस्त प्रस्तुत गरे ।

वीर अस्पताल सुधारको रिपोर्ट कार्ड सुनेपछि मन्त्री बस्नेतमा पनि सन्तुष्ट भाव देखिएको थियो ।

यी हुन उपचार सेवालाई व्यवस्थित गर्न वीर अस्पतालमा गरिएका पाँच सामान्य काम

१. अनलाइनमै टिकट :
हुन त वीर अस्पतालमा अनलाइन टिकट काट्ने व्यवस्था भएको ६ महिना बढी भैसक्यो । तर यो सेवाको सदुपयोग १ प्रतिशत विरामीले पनि गरिरहेका थिएनन् । पछिल्लो केही साता देखि अस्पतालले अनलाइन टिकटिङ सेवालाई जोडतोडका साथ अघि बढाउँन थालेको छ ।

‘हामीले सञ्चारमाध्यम, सामाजिक सञ्जाल र अस्पताल परिसरमै स्टल राखेर अनलाइनबाट टिकट काट्ने सेवाका बारेमा प्रचार प्रसार गरिरहेका छौँ । यसको नतिजा विस्तारै देखिन्छ भन्ने हाम्रो विश्वास छ,’ शुक्रबार मन्त्रीलाई ब्रिफिङ गर्ने क्रममा उपकुलपति प्राडा बस्नेतले भनेका थिए ।

निर्देशक डा पौडेलका अनुसार वीर अस्पतालको मोवाइल एप इन्स्टल गरेपछि त्यसबाट नै डाक्टर रोजेर टिकट लिन सकिन्छ । अनलाइनमा टिकट लिएको व्यक्ति सिधै ओपिडी कक्षमा गएर आफ्नो जाँच गराउन सक्छ । अनलाइनमा टिकट काट्नेको पहिलो पालो आउँछ ।
उनले अनलाइन सिस्टमलाई प्रभावकारी ढंगले अघि बढाउने र अस्पतालमा टिकटको लाइनको भिडलाई व्यवस्थित गर्ने योजना अनुसार बर्तमान टिम अघि बढीरहेको बताए ।

२. सिलिङ र भित्तामा सेवा कक्षबारे जानकारी मुलक पेन्टिङ :
‘हेर्दा त के नै गरेको हो र जस्तो पनि लाग्छ । हुन पनि सिलिङ र भित्तामा पेन्टिङ गरेर कुन सेवा कता पट्टी छ भनेर देखिइएको मात्रै न हो । तर यसको प्रभावकारीता अचम्मले देखियो । वीर अस्पतालको सेवा कहाँ छ भनेर अल्मलिने मानिसहरुलाई यसले धेरै नै राहात दिएको छ । सिलिङ वा भित्ता लेखिएका जानकारी हेरेर ओपिडी, शल्यक्रिया वा अन्य परीक्षण कक्षहरु बिरामी र तिनका आफन्तले सहजै पत्ता लगाउँछन् । यसले अलमल भएर हुने भिड व्यवस्थापनलाई समेत निकै सुविधा दिएको छ,’ निर्देशक डा पौडेलले भने ।

उनले अब भुई तल्लामा नै डिजिटल डिस्प्ले राख्ने र कुन तलामा के के सुविधा छ भनेर उल्लेख गर्ने तयारीमा रहेको समेत बताए ।

३. भुक्तानीका लागि तल्ला पिच्छे काउन्टर
प्रभु बैंकको काउन्टर रहेको वीरमा केही अघिसम्म उपचारका लागि जानेहरुले भुक्तानीका लागि पुरानो भवनको भुई तल्लामा रहेको एउटा काउन्टरमा लामो लाइन लागेर पालो पर्खनु पर्दथ्यो । तर केही दिन देखि अस्पताल प्रशासनले दोस्रो र तेस्रो तल्लामा पनि काउन्टर थप्ने व्यवस्था मिलायो । अहिले बढी भिड हुने दोस्रो र तेस्रो तल्लाका बिरामीहरु आफ्नै तल्लाका काउन्टरबाट सेवा लिन थालेपछि भुईतल्लाको भिड धेरै घटेको छ । यता बिरामीलाई सजिलो भयो, उता भिड व्यवस्थापनमा पनि सहजता देखियो ।

निर्देशक डा पौडेलले पछिल्लो पटक भिड व्यवस्थापनमा गरेको सुधारबारे तल्ला पिच्छे काउन्टर राखेपछिको प्रभावबारे त्यसरी जानकारी दिए । हुन पनि अहिले निकै भिड हुने भुइतल्लामा खुल्ला देखिन्छ ।

४. प्रयोगशाला खुल्ला ठाँउमा
वीर अस्पतालको सेवा लिन असहज हुने अर्को कारण विलिङ काउन्टर संगसंगै जस्तो रहेको प्रयोगशाला थियो । अहिले त्यसलाई न्याम्स भवनको पछाडीपट्टी खुल्ला ठाँउमा सारिएको छ । यसले ठूलो हुल हुने समस्यालाई धेरै नै हल गरिदिएको छ । अहिले पहिले प्रयोगशालाको नमूना संकलन गर्ने ठाँउमा इमरजेन्सीको १० शैय्या थपिदैछ ।

५. अस्पताल परिसरमा वेटिङ बेन्चको व्यवस्था
वीर अस्पतालको एउटा मुख्य समस्या भनेको साघुँरो परिसर र आउने बिरामी तथा आफन्तहरुलाई बाहिर बस्ने व्यवस्था नहुनु हो । नयाँ टिम नेतृत्वमा आएपछि अहिले छानो सहितका बेच्चहरु परिसरको अगाडी राखिएको छ । ‘यो वारपार नै राखिन्छ । यसले पनि भिड व्यवस्थापनलाई थप सहयोग पुरयाँउछ,’ निर्देशक डा पौडेलले भने । उनले यसबाहेक अल्ट्रासाउण्ड, सिटीस्क्यान, एमआरआई, ईको लगायतका परीक्षणका लागि पालो छिटो र सहज बनाउने काम पनि भइरहेको बताए ।

एकै पटक सबै सुधार गर्छु भनेर पनि हुँदैन् । तर हामीले थालनी चाहि गरेका छौँ । यसको नतिजा केही महिना भित्र देखिन्छ । डा पौडेलले थपे ।

न्याम्सका उपकुलपति प्राडा बस्नेतले आम जनताको आशा र भरोसाको केन्द्र वीरलाई सेवामा चुस्त बनाउन आफू समेत लागि परेको बताए । ‘यो काम त सामुहिक रुपमा गरेपछि मात्रै नतिजा निस्कने हो । हामीले पछिल्लो केही सातामै धेरै कामहरु सुरु गरिसकेका छौँ । नतिजा देखिन थालिसकेको छ । अझै अबको केही महिनामा त प्रसस्तै सुधार देख्न पाउनुहुन्छ,’ उनले भने ।

‘अहिले वीरमा सबैभन्दा समस्या नर्सिङ जनशक्तिको हो । लोक सेवाले यसलाई अघि बढाइसकेको छ । यसलाई टुङ्ग्याएर ती जनशक्ति सेवामा आउने वित्तिकै वीरको सेवाले थप उचाई प्राप्त गर्दछ,’ उपकुलपति प्राडा बस्नेतले भने ।

निर्देशक पौडेलले छोटो समयमा भइरहेका यी कामहरुमा तल्लो तह देखि माथिल्लो तहका स्टाफहरुको निरन्तर सहयोग भएको बताए । ‘यो सुधारका नेतृत्व कसैले लिए पनि वीर अस्पतालका प्रत्येक स्टाफको सहयोग छ । म भन्न चाहन्छु, टिमको नेतृत्व कसैले गर्दछ र त्यसमा साथ सहयोग सबैको छ । हामी सबै मिलेर नै आम नागरिकको भरोसा रहेको वीरलाई साच्चिकै सुधार गर्नुछ ।’

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *