स्वास्थ्य मन्त्री बस्नेतको दावी, ‘सुर्तीजन्य पदार्थमा यसपटक १० प्रतिशत कर बढ्यो’

काठमाडौँ, १९ जेठ । मन्त्रालयमा पदभारका बेला देखि विश्व स्वास्थ्य संगठनको ७६ औँ महासभा पुग्दासम्म नेपालले सुर्तीजन्य पदार्थमा भारी मात्रामा कर बृद्धि गर्नेछ भन्दै आएका स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतलाई गत सोमबारको बजेट भाषणले उल्टो जवाफ दियो । अर्थात, सुर्तीजन्य पदार्थमा कर बढ्नुको सट्टा मुद्रास्फितिमा आएको बृद्धिका कारण घटने अवस्थामा पुग्यो ।

शुक्रबारको मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले त्यहि कुरा उक्काए । तर मन्त्री बस्नेतले भने सञ्चारकर्मीले सुर्तीजन्य पदार्थको करका विषयमा गरेको आँकडा गलत भएको ठोकुवा गरे ।

उनले भने, ‘मेरो जानकारी अनुसार सुर्तीजन्य पदार्थमा तपाईँहरुले भने जस्तो यसअघि ३३ प्रतिशत कर होईन, ४१ प्रतिशत कर थियो । र यसपटक १० प्रतिशत कर बढेको छ । मैले कम्तीमा २० ३० प्रतिशत कर बढाउन सकिन्छ भनेर पहल पनि गरेको हुँ, तर भएन ।’

सञ्चारकर्मीले उनलाई  ‘सुरुवात देखि नै सुर्तीमा कर बढाउँछु भन्दै हिड्ने र करको दर घटेर आउँदा सुर्ती उद्योगीहरुले चलखेल गर्ने मौका पाएकी ?’ भन्ने अर्को प्रश्न राखेका थिए । मन्त्री बस्नेतले  त्यसतर्फ भने आफूले खासै नसोचेको बताए । ‘यो मलाई कसैले दिएको आइडिया थिएन, स्वास्थ्यमा बजेट बढाउनु थियो बिरामी हुनबाट बचाउन पनि थियो । त्यसको सजिलो उपाय सुर्तीमा कर बढाइदिए हुने रहेछ । विश्वको प्राक्टिस पनि हो । मैले त्यहि कुरा सोचेर भन्दै गएँ अरुले के खेल्छ भनेर सोचिँन् । करको दर १० प्रतिशत भन्दा बढाउन सकिएन । उनले पुन जवाफ दिए ।’

मन्त्री बस्नेतले जेनेभामा करको दर बढाउने भनेकै कारण नेपाललाई हेर्ने दृष्टिकोण नै फरक भएको बताए । उनले जेनेभामा प्रतिवद्धता जनाउँदा नेपालले पाउने स्वास्थ्य सेवामा फाइदा भएको समेत ठोकुवा गरे ।

‘डब्लुएचओका महासचिव डा. टेड्रोसले चासो दिनु भयो । हामीलाई थप सहयोग गर्ने आश्वास दिनु भयो । यति धेरै देशका प्रतिनिधि आएका थिएँ तर नेपालले गरेका कुराहरुलाई उहाँले ट्वीट गर्नु भयो । यो त राम्रै भयो नि होईन र ?’ प्रतिप्रश्न गर्दै उनले भने ।

करको दर १० प्रतिशत बढेको हो त ?

मन्त्री बस्नेतले सुर्तीजन्य पदार्थमा हाल करको दर ४१ प्रतिशत भने पनि बास्तविकता होइन् । सुर्तीजन्य पदार्थ विरुद्धको अभियान सञ्चालन गर्दै आइरहेको संस्था एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्द भन्छन्, ‘नेपालमा सुर्तीजन्य पदार्थमा करको दर हाल ३३ प्रतिशत रहेको छ । उनले यसपटकको बजेटमा करको दर १० प्रतिशत बृद्धि भएको बताए पनि त्यसमा सत्यता भने छैन् । कुल २.५ देखि ४ प्रतिशतको हाराहारीमा करको दर बढ्दा मुद्रास्फितिदर ७.८ प्रतिशतले बढेको छ । यो दरले अहिले सुर्तीजन्य पदार्थमा करको दर कम्तीमा ४ देखि ५ प्रतिशत कम हुने देखिन्छ ।’ करको दरका विषयमा थुप्रै अर्थशास्त्रीहरुसंगको परामर्श पछि आफूले यति भन्न सकेको सुनाए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *