अन्तर्राष्ट्रिय सम्मेलन लगत्तै संघले गर्यो अन्तर्राष्ट्रिय स्तरको बाल शल्य चिकित्सा सम्वन्धी दुईवटा कार्यशाला
काठमाडौँ, ८ चैत । पहिलो पटक बाल शल्य चिकित्सकहरुको अन्तर्राष्ट्रिय सम्मेलन गरेको नेपाल बाल शल्य चिकित्सक संघले त्यस लगत्तै दुईवटा महत्वपूर्ण अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।
संघले कागोसिमा युनिभर्सिटी पेडियाट्रिक जापानको प्रविधिक सहयोगमा गत ५ देखि ७ चैतमा पहिलो प्याडियाट्रिक ल्याप्रोस्कोपिक हर्निया रिपियर सर्जरी सम्वन्धी कार्याशाला र ७ चैतमा ब्रिटिस एसोसिएसन अफ पेडियाट्रिक सर्जनको प्राविधिक सहयोगमा नियोनेटल सर्जिकल स्किल्स कोर्स सम्वन्धी अर्को कार्याशाला सम्पन्न गरेको छ ।
संघका अध्यक्ष डा आरपी चौधरीका अनुसार यी दुबै कार्यशाला बसुन्धरास्थित ईशान बाल तथा महिला अस्पतालमा गरिएको थियो ।
यस कार्यशालामा प्राडा चौधरी र डा नारायणबहादुर थापा मेमोरियल ओरेसन पनि पहिलो पटक समावेश गरिएको थियो ।
कार्याशालामा विकसित देशले बाल शल्यचिकित्सा विधामा अपनाइएका प्रविधिका विषयमा प्रस्तुति तथा छलफल भएको थियो ।
सम्मेलनमा भाग लिन देशभरबाट आएका शल्य चिकित्सकहरु यसमा सहभागी थिए ।
यसअघि गत ३ देखि ४ चैतमा होटल पार्क भिलेजमा बाल शल्यचिकित्सकहरुको पहिलो अन्तराष्ट्रिय सम्मेलन गरिएको थियो ।