चितवनमा किशोरीहरुलाई नि:शुल्क रुपमा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिईदै

चितवन, २४ फागुन । चितवनमा किशोरीहरुलाई निशुल्क रुपमा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाउन थालिएको छ ।

वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले विद्यालयमा अध्ययन गर्ने ११ देखि १३ बर्ष उमेर समूहका किशोरीहरुलाई एचपीभी भनिने ह्युमन प्यापिलोमा भाइरस खोप दिन थालेको हो ।

यो खोप लगाएपछि महिलाहरुमा पाठेघरको मुखको क्यान्सर हुने सम्भावना ९० प्रतिशतले कम हुने विभिन्न अनुसन्धानले पुष्टि गरेको छ ।

अस्पतालका क्यान्सर रोग निवारण शाखाका डा. अस्मिता राणाले यसपटक जिल्लाका ६ हजार २५० जना किशोरीहरुलाई यो खोप दिन सकिने बताईन् । उनले भरतपुर महानगरपालिका, माडी नगरपालिका र रत्ननगर नगरपालिकामा मात्रै यो खोप दिइएको प्रष्ट पारिन् ।

‘हामीसंग १२ हजार ५०० डोज खोप आएको हो । यो दुई डोज दिनु पर्ने भएको हुनाले खेर नफाली लगाउन सकियो भने पनि ६ हजार २५० जना किशोरीहरुलाई मात्रै पुग्छ । अहिलेसम्म हामीले यी तीनवटै नगरपालिकामा तोकिएका उमेर समूहका ५ हजार ५०० जना किशोरीलाई पहिलो डोज खोप दिई सक्यौँ,’ उनले भनिन् ।

डा. राणाले पहिलो खोप लिएको ५ देखि १२ महिना भित्र दोस्रो डोज लिनु पर्ने बताईन ।

खोपका सम्बन्धमा रत्ननगर नगरपालिकाभित्रका सामुदायिक २९ र संस्थागत २७ विद्यालयका प्रधानाध्यापक, प्राचार्य र स्वास्थ्य शिक्षा अध्यापन गराउने शिक्षक–शिक्षिकाका लागि अभिमुखीकरण कार्यक्रम गरी खोप कार्यक्रम सञ्चालन गरिने भएको छ । विश्व स्वास्थ्य सङ्गठनले खोपबारे चासो देखाएका कारण नेपाल सरकारले सन् २०२३ देखि राष्ट्रिय खोप नीतिमा समावेश गर्न लागेको छ ।

डा. राणाका अनुसार यो खोपले पाठेघरको मुखको क्यान्सरको मात्र नभई योनी, मलद्वारको क्यान्सर, मुखको क्यान्सरबाट समेत बचाउँछ । विश्वका धेरै देशमा लगाइएको यो खोपको ‘साइड इफेक्ट’ छैन ।

धेरैसँग असुरक्षित यौन सम्पर्क गरेमा, सानै उमेरमा विवाह भएमा वा सानै उमेरदेखि यौनजन्य क्रियामा सहभागी भएमा, सानै उमेरमा बच्चा जन्माएमा, धेरै बच्चा जन्माएमा, पटक–पटक गर्भपतन गराएमा, धूमपान गरेमा, लामो समयसम्म हार्मोनयुक्त परिवार नियोजनका साधन प्रयोग गरेमा पाठेघरको मुखको क्यान्सर हुन सक्ने डा. राणाले बताईन ।

आठ वर्ष अघि पनि सुरु भएको थियो एचपीभी खोप कार्यक्रम

सरकारले आठ वर्ष अघि अर्थात विस २०७२ र०७३ मा पनि किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप (एचपीभी) दिने अभियान सुरु गरेको थियो ।

त्यसबेला ‘द ग्लोवल एलाइन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन (गाभी) को निशुल्क सहयोगमा बुधबार १७ हजार ६ सय भाइल खोप आएको थियो । यो खोप चितवन र कास्कीका करीव १५ हजार किशोरीहरुलाई दिईने बताइएको थियो । पहिलो डोज ९४ प्रतिशत कभरेज भएको समेत त्यसबेलाको रिपोर्टमा उल्लेख छ ।

त्यतिवेला विद्यालय गएका कक्षा ६ मा पढ्ने र विद्यालय नगएका १० बर्ष उमेरका बालबालिकाहरुलाई २ मात्रा एचपीभी खोप दिइएको थियो ।
तर, एक वर्ष पुग्दा नपुग्दै कार्यक्रमले निरन्तरता पाएन । खोप अभाव भएको भन्दै दातृ निकायले हात झिकेपछि त्यसबेला कार्यक्रम रोकिएको हो । यसपटक चितवनमा भने सरकारकै बजेटबाट यो खोप खरीद गरि लगाउन लागिएको हो ।

अस्पतालका क्यान्सर रोग निवारण शाखाका पूर्व प्रमुख किशोरकुमार प्रधानांङ्गले यो खोपले त्यसबेला देखि नै निरन्तरता पाएको भए अहिलेसम्म देशव्यापी रुपमा नियमित खोपमा समावेश भइसक्ने थियो भन्दै, कार्यक्रम रोकिनु खोप कार्यक्रम र क्यान्सर रोग निवारण कै लागि दुर्भाग्य भएको बताउँछन् । उनले अब सरकारले एचपीभी खोप कार्यक्रमलाई नियमित खोपमा समावेश गर्नु पर्ने बताउँछन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *