‘नमिल्ने ओहोदा’ लिने र दिने गरेको भन्दै दुई जना डाक्टरमाथि भ्रष्टाचारको आरोप

काठमाडौँ, १० माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नमिल्ने ओहोदा लिने र दिने गरेको भन्दै दुई जना डाक्टरमाथि भ्रष्टाचारको आरोप लगाएको छ ।

अख्तियारले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी र विराट मेडिकल कलेजका सञ्चालक डा ज्ञानेन्द्रमान सिंह कार्की बिरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

अख्तियारले डा गिरीमाथि नपाएको ओहोदा पाएँ भनि ढाँटेर पदीय मर्यादा विपरित कार्य गरेको आरोप लगाएको छ भने डा कार्की माथि ओहोदा अनुमोदनको लागि मतियारको भूमिका खेलेको आरोप लगाएको छ ।

उपकुलपति नियुक्ती हुँदा गिरीले आफूलाई प्राध्यापकको ओहोदा थपेर प्रस्तुत गर्दथे । पछि छानवीनले उनी प्राध्यापक नभएको ठहर गरेपछि भने प्राध्यापक लेख्न छाडेका छन् । अख्तियारले डा. गिरीलाई फेक प्राध्यापक बनाउनमा डा. कार्की समेत मतियारको रुपमा भूमिका खेलेको आरोप लगाएको छ ।

अख्तियारले डा. कार्कीमाथि डा. गिरीको विषयमा काठमाडौँ विश्वविद्यालयलाई प्राध्यापकका लागि सिफारिस सम्म गर्न सक्ने भए पनि आफैले नियुक्त दिएर प्राध्यापक बनाइदिएको भनेको छ ।

अख्तियारद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘प्रतिवादी डा. ज्ञानेन्द्रमान सिंह कार्कीले डा. ज्ञानेन्द्र गिरीलाई प्रोफसर पदको अनुमोदनको लागि काठमाडौं विश्वविद्यालयमा सिफारिस गर्नसम्म सक्नेमा निजले नियुक्ति दिएको आधारमा प्रतिवादी ज्ञानेन्द्र गिरीले नपाएको ओहदा प्रयोग गरेको र उक्त कार्यमा निज ज्ञानेन्द्रमान सिंह कार्कीको मतियारको भूमिका रहेको देखिएको हुनाले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिमको कसुरमा सोही ऐनको दफा २२ बमोजिमको सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालत, काठमाडौंमा आरोपपत्र गर्ने निर्णय भएको छ ।’

डा. गिरीको विषयमा अख्तियारले आधिकारिक निकायबाट प्राप्त नगरेको ओहोदा पाएँ भनी अरुले विश्वास गर्ने गरी प्राध्यापक पद प्रयोग गरेको देखिएकोले र निजले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १५ बमोजिमको कसुर भएको उल्लेख छ ।

अख्तियारद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले नपाएको ओहदा पाए भनी पदीय मर्यादा विपरीत कार्य गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा डा. ज्ञानेन्द्र गिरीले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको उपकुलपति जस्तो पदमा नियुक्ति भइसकेपछि नियमित काम गर्ने क्रममा अरुले विश्वास गरोस्‍ भनी बदनियतसाथ कुनै पनि आधिकारीक निकायबाट प्राप्त नगरेको नपाएको ओहदा पाए भनी अरुले विश्वास गर्ने गरी प्रोफेसर पद प्रयोग गरेको देखिएको र निजले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिमको कसुर भएकोले निज ज्ञानेन्द्र गिरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिमको कसुरमा सोही ऐनको दफा १५ बमोजिम सजाय हुन र सोही ऐनको दफा २४ बमोजिमको थप सजायसमेतको मागदावी लिइएको छ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *