बच्चामा पेट दुख्ने समस्या के कारणले हुन्छ ?

पूर्ण स्तनपान भएका बच्चाहरुलाई पेट दुख्ने समस्या कम हुन्छ ?

बच्चामा पेट दुख्ने कारण धेरै हुन सक्छन् । त्यसमा पनि उमेर र लिङ्गले पनि फरक पार्दछ । जस्तो कि, भर्खर जन्मेको शिशुको पेट दुख्ने कारण टुकु टुकु हिड्ने अर्थात दुई तीन वर्षको बच्चाको कारणसंग नमिल्न सक्छ ।

यस्तै स्कुल जाने उमेर ६ – ७ वर्षको बच्चाको कारण अर्कै हुनसक्छ । १२ – १३ वर्षको अर्कै र १७ – १८ वर्षको बच्चामा अर्कै कारण हुनसक्छ । उमेर मात्रै होइन कहिलेकाही  लिङ्गको कारणले पनि दुखाईमा कारक फरक हुन सक्छ । अर्थात एउटै उमेर भएपनि केटा मान्छेलाई पेट दुख्ने कारण र केटी मान्छेलाई पेट दुख्ने कारण फरक हुनसक्छ ।

अर्को पेन एब्डोमेनमा दुई कुरा छुट्याउनुपर्छ ।

एउटा अक्युट पेन एब्डोमेन भन्छौँ । जसलाई सर्जिकल एब्डोमेनल पेन पनि भन्दछौँ । जो बच्चा दुखेर, छट्पटाएर, आत्तिएर, कुदाएर इमरजेन्सीमा आउँछ । त्यसको पहिचान, परीक्षण र उपचार पनि उत्तिकै तिब्रगतिमा हुनुपर्छ ।

दोस्रो क्रोनिक पेन एब्डोमेन भन्दछौँ । धेरै लामो समय देखि दुखी रहेको अवस्था । अक्युट तत्काल जाँच पडताल गरेर उपचार सुरु गरिनै हाल्नुपर्छ । त्यसमा ढिलाई गर्दा समस्या थप जटिल पनि बन्न सक्छ ।

बच्चाको समस्या पहिचान गर्न पहिलो र मुख्य स्रोत आमा
ठूलो उमेरको बच्चा छ, आफै बोल्न सक्छ भने बच्चालाई नै सोध्नुपर्छ । सानो उमेरको बच्चा छ भने आमालाई सोध्नुपर्छ । सानो बच्चाका लागि हिस्ट्री लिने सबैभन्दा महत्वपूर्ण सोर्स आमा हो ।

हिस्ट्री लिई सकेपछि त्यसपछि हामीले प्रारम्भिक जाँच गर्दछौँ । त्यसबाट आवश्यकताको आधारमा थप जाँचका लागि प्रक्रिया अघि बढाउन पनि सक्छौँ । त्यसैको आधारमा अस्पतालमा भर्ना गरेरै उपचार गर्ने कि औषधि दिएर घरमा पठाएर उपचार गर्ने भन्ने निर्णय हुन्छ ।

बोल्न सक्ने उमेर नभएका अर्थात जन्मेको एक दुई वर्षका बच्चाहरुको पेट दुखेको हो भनेर कसरी थाहा हुन्छ ?
पेडियाट्रिकमा यो पनि एउटा च्यालेन्जिङ्ग विषय हो । बच्चाले केही भन्नै सक्दैन । रुन्छ मात्रै । के भएर रोएको हो भनेर भन्न नै सक्दैन । कहाँ दुखेर रोएको भन्नै सक्देन भने गाह्रो हुन्छ । त्यसबेला आमासंग लिईने हिस्ट्री महत्वपूर्ण हुन्छ ।

आमाले बताउने कुराहरुले बच्चाको समस्या पत्ता लगाउन धेरै मद्धत गर्दछ । त्यसपछि मात्रै चिकित्सकले फिजिकल एक्जामिनेसन गर्दछौँ । फेरी पनि कुरा के हो भने सानो बच्चाको समस्या पत्ता लगाउनका लागि आमाले भन्ने हरेक शब्दहरु महत्वपूर्ण हुन्छन् । उपचार गर्ने डाक्टरलाई आमाले कत्ति पनि बढाई घटाई नगरी यर्थात भन्नुपर्छ । उपचार गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीले पनि निकै नै ध्यान दिएर सुन्नुपर्छ । त्यसो गर्दा धेरै जसो रोग नै पत्ता लागिसकेको हुन्छ । अर्थात आमासंग डिटेल हिस्ट्री लिनुपर्छ ।

पूर्ण स्तनपान भएका बच्चाहरुलाई पेट दुख्ने समस्या कम हुन्छ ?
एक्सक्लुसिभ ब्रेस्ट फिडिङ्ग अर्थात पूर्ण स्तनपानको विषयलाई विश्व स्वास्थ्य संगठनले नै इन्डोर्स गरेको विषय हो । यो भनेको जन्मेपछि पहिलो छ महिना सम्म बच्चालाई आमाको दुध मात्रै दिने भन्ने हो । आमाको दुध बाहेक पानी पनि बच्चाको शरीर भित्र जानु हुन्न । बट्टामा पाउने दुधहरु वा अन्य दुधहरु पनि दिन हुँदेन भन्ने हो ।

आमाको दुध प्रकृतिले कस्तो बनाएको भने त्यो आहार मात्रै होइन औषधि पनि हो । पूर्ण स्तनपान गराएको बच्चालाई पछि एलर्जी हुने सम्भावना कम हुन्छ । श्वासप्रश्वास दम सम्वन्धी रोग लाग्ने समस्या कम हुन्छ । आमाको दुध खाने बच्चालाई तौल राम्रो लिन्छ । झाडा पखला लाग्दैन ।

कति बच्चाहरुलाई गाँईको दुध खुवाउने चलन छ तर सानोमा गाँईको दुध खुवाउँदा त्यसले एलर्जी बनाइरहेको हुन्छ । तर नेपालमा यसको समस्याबारे खोज तलास गरिएको छैन् । आमाको दुख नदिई गाँईको दुध खुवाउँदा कति स साना बच्चाहरु इरिटेड हुने, झगडा गर्ने, रुने कराउने, कब्जियत हुने, डायरिया हुने जस्ता समस्या पनि हुन्छ । त्यसैले कतिपय डाक्टरले समेत यसको कारण वा निदान पत्ता लगाउन अल्मलिईरहेको हुन्छ ।

कतिपय आमाहरुले बजारमा पाइने ल्याक्टोजिन एक थोपा पनि दिएको छैन्, मेरै दुध मात्रै खुवाउँछु तर कसरी समस्या आइरहेको हुन्छ भनेर पनि भन्नुहुन्छ ? आमाले पनि यदि डेरी प्रडक्ट खाइरहेको हुन्छ भने दुध दही पनिर, चीज बटर घीउ आदी खाएको छ भने पनि त्यसले दुध खाने बच्चालाई असर गर्दछ ।

बालबालिकाहरुलाई कस्ता कस्ता समस्या हुन्छन् ?
यो पनि उमेर अनुसार हुन्छ । भर्खर जन्मेको बच्चालाई अर्कै समस्या हुन्छ । भर्खर जन्मेको कतिपय बच्चामा जन्मजात गर्भवाट आउने समस्या (बर्थ डिफेक्ट) हुनसक्छ । कसैलाई आन्द्रामा समस्या हुनसक्छ । कसैलाई कलेजोमा, कसैलाई पित्तको नलिमा हुनसक्छ । जन्मने वित्तिकै समस्या भयो भने डाक्टरहरुको बडी फोकस पनि यिनै खालका समस्या होला भनेर हुन्छ ।

अनि अलि ठूलो बच्चा अर्थात टुकु टुकु हिड्ने बच्चाको समस्या जन्मजात भन्दा अरु कारणले हुनसक्छ । जन्मजात पहिलो तीन चार हप्ता वा पहिलो तीन छ महिनामा देखिईहाल्छ । जन्मजातको समस्या एकैपटक ९ वर्षमा त देखिदैन । यसरी उमेर अनुसार रोगमा फरक पर्छ ।

बच्चालाई स्वस्थ राख्न आमाले के के कुरालाई ध्यान दिने ?
अस्पतालमा बच्चा जन्मियो । त्यसपछि बच्चालाई घरमा लिएर गईयो । त्यसपछि मात्रै स्वस्थ राख्ने कुरा सुरु भएको मानिन्छ । तर खासमा बच्चाको स्वास्थ्य गर्भावस्था देखि नै हेरिएको हुन्छ । आमाको गर्भबाट नै बच्चाको स्वास्थ्य जाँची रहेका हुन्छौँ । संसारमा आउनु अघि नै बच्चाको स्वास्थ्य हेरेका हुन्छौँ । रगतबाट, अल्ट्रासाउन्डबाट ।

अमेरिकामा त फिटल सर्जरी समेत हुन्छ । यो भनेको आमाको गर्भभित्र नै ल्याप्रोस्कोपिक प्रोसिजरबाट भ्रूणको सर्जरी गर्ने प्रक्रिया हो । यो समेत हुन्छ भनेपछि मेडिकल साइन्स कहाँ सम्म पुग्यो ? तपाईँ कल्पना गर्नुहोस् त । हामीले फिटल सर्जरी नभएपनि एन्टीनेटल स्क्यानिङ गरिरहेका हुन्छौँ ।

त्यसपछि डेलिभरीको कुरा आउँछ, त्यसमा साधारण सुत्केरी भयो, कि कप्लिकेटेड हो कि भन्ने पनि ख्याल गर्छौँ।
बच्चा जन्मने वित्तिकै आमाको न्यानो जसका लागि हामीले आमाको काखमा बच्चा राखिदिन्छौँ । जसलाई क्यामेल केयर भन्छौँ, डव्लुएचओले पनि के भनेको छ भने आमा र बच्चा जति नजिक भयो आमाको न्यानोपनले पनि बच्चाको मृत्युदरमा फरक पार्दछ ।

स्तनपानमा ढिलाई र अल्छि नगरौँ
शिशु जन्मने वित्तिकै स्तनपान गराउन ढिला गर्नु हुँदैन् । आधा वा एक घण्टा भित्रै गराईसक्नु पर्दछ । कतिपय सिजेरियन (शल्यक्रिया) द्धारा सुत्केरी भएका आमाहरुले घाउँ वा दुखाईका कारण भन्दै दुध नचुसाउने र शिशुलाई अभिभावकको जिम्मा लगाउने गरेको पाईन्छ । अभिभावकहरुले पनि बाहिरको दुध खुवाईदिने गरेको पाइन्छ । तर कुरा के हो भने सीजेरियनबाट सुत्केरी भएपनि आधा एक घण्टा भित्र स्तनपान गराईसक्नु पर्छ ।

पहिलो पटक आउने आमाको दुध जसलाई हामी कोलस्टर्म भन्दछौँ । त्यो बच्चाको लागि अति आवश्यक पोशिलो पदार्थ हो । त्यसमा रोगविरुद्ध लड्ने एन्टीबोडी हुन्छ । पछि मात्रै दुध आउँछ । कतिले सुरुको दुध बच्चालाई नखुवाउने गरेको पनि पाइएको छ । तर त्यसो गर्नु हुँदैन् ।

कतिपय सिजेरियन गरेका आमाहरुले बच्चालाई आफ्नो दुध नखुवाई बट्टाको दुध खुवाउने गरेको र पछि डाक्टर मेरो त दुध नै आएन वा बच्चाले दुध चुसेन भन्ने गरेको पनि सुनेको छु । तर कुरा के हो भने बच्चाले स्तनको मुन्टो निप्पलमा जति चुस्यो हर्मोनल चेन्जले त्यसको प्रभाव ब्रेनमा पुग्दछ र आमाको दुध उत्पादनमा बृद्धि हुन थाल्दछ । जति आमाले दुध खुवायो उति नै बच्चाको स्वास्थ्य राम्रो हुँदै जान्छ । दुध खाने शिशुहरुलाई कोभिडविरुद्धको खोप किन दिईएन भने आमाको दुधबाट नै कोभिडविरुद्धको एन्टीबोडीमा बच्चामा गएको छ भनेर नै हो ।

बच्चालाई कतिपटक ? कति समयको अन्तरालमा बच्चलाई स्तनपान गराउने ?
एक पटक बच्चालाई दुध चुसाउँदा एकापट्टीको दुध पूर्ण रुपमा खाली गराउनुहोस् । त्यसका लागि १५ देखि २० मिनेट लाग्छ । हतार गर्न हुँदैन् । बच्चाले स्तनपान सुरु गर्दा अगाडी आउने दुधलाई फोर मिल्क भनिन्छ । त्यसमा प्रोटिन हुन्छ । अन्तिम अर्थात निख्रने बेलामा आउने दुधलाई हाइन्ड मिल्क भनिन्छ ।

त्यसमा फ्याट, भिटामिन, न्युट्रियन्टहरु हुन्छ । त्यसैले यसमा कम्प्लिट रुपमा खाली गर्नु र औषतमा १५ देखि २० मिनेट लगाएर । त्यसपछि मात्रै अर्को स्तन चुसाउनु भन्दछौँ । त्यसमा पनि १५ देखि २० मिनेट लगाऔँ । भनेपछि एकपटक दुध खुवाउँदा आधा घण्टा देखि ४० मिनेट विताएको हुनुपर्छ ।

कति खुवाउने भन्ने सवालमा स्वस्थ बच्चा छ भने दुई देखि तीन घण्टाको फरकमा खुवाई रहनु पर्दछ । दिनमा ८ देखि १२ पटक यसरी दुध खुवाउनु पर्छ । कुनै बच्चा रुन थाल्यो भोकाएको जस्तो गरेमा त्यसबाहेक अझ छिटो पनि खुवाउनु पर्नसक्छ ।

बच्चाको पिसावहरु राम्रो आइरहेको छ भने पुगिरहेको छ दुध पुगिरहेको छ भनेर जान्नु पर्छ । चौविस घण्टामा छ देखि ८ पटक पिसाव गर्नुपर्छ ।

आमाको दुधले मात्रै पुग्छ कि पुग्दैन ?
पहिलो छ महिना आमाको दुध मात्रै खुवाउनु पर्छ । बच्चाको लागि आमाको दुध नै काफि हो । आमाको दुधमा पानी पनि हुन्छ, अतिरिक्त पानी दिनु पर्दैन । झाडा पखला लागेको बाहेक अवस्थामा ।

अर्को कुरा गाईँको दुध दिईयो भने एउटा त एलर्जी हुन्छ । अर्को त्यो बच्चाले पचाउन सक्दैन । उसको आन्द्राले पचाउन सक्दैन । मान्छेको बच्चा जन्मदा साढे दुई तीन किलो हुन्छ । गाँईको बाच्छा जन्मिदा कति किलो हुन्छ ? २० – २२ किलो हुन्छ । अनि २० किलोको बाच्छाका लागि तयार भएको दुध तीन किलो तौल भएको शिशुले पचाउन सक्छ ? प्रकृतिले एउटै बनायो होला त ? त्यसरी पनि हामीले आमाहरुलाई भन्नुपर्छ ।

छ महिना पछि विस्तारै लिटो र अन्य खाद्य पदार्थहरु दिन सकिन्छ ।

#डा. योन्जन ईशान बाल तथा महिला अस्पतालमा कार्यरत छन्

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *