क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीलाई ‘स्वाथ्य सेवा सम्मान – २०२२’ प्रदान
चितवन, ७ पुस । ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही चितवनको माडीमा सम्मानित भएका छन् ।
क्यान्सर रोगको उपचार तथा सचेतना अभियानमा उत्कृष्ठ कार्य गरेको भन्दै डा शाहीलाई गैर आवासीय नेपाली संघ (एनआरएनए) क्यालिफोर्निया अमेरिका र देउराली फाउन्डेशनले संयुक्त रुपमा ‘राष्ट्रिय स्वास्थ्य सेवा सम्मान २०२२’ प्रदान गरेको हो ।
माडी भिलेज रिसोर्टको सभाहलमा बिहीबार आयोजित कार्यक्रममा बामगती प्रदेशसभा सदस्य ठाकुर प्रसाद ढकाल र माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकालले डा. शाहीलाई ताम्रपत्र तथा खादा ओडाएर सम्मान गरेका हुन् ।
डा. शाहीले सम्मानबाट आफूलाई बिरामीको उपचारमा झनै जिम्मेवारीपूर्वक लाग्न हौसला मिलेको बताए । सो अवसरमा उनले नसर्ने रोग, त्यसमा पनि क्यान्सरको बढ्दो जोखिम र यसलाई न्युनिकरण गर्न व्यक्ति, समुदाय तथा सरकारले गर्नुपर्ने दायित्वको बारेमा समेत झक्झक्याएका थिए ।
माडीका पूर्व शिक्षक एवं सामाजिक अगुवा देबेन्द्र प्रसाद पौडेलले डा शाहीको उपचार सेवा लिने एक जना बिरामी आफू पनि रहेको भन्दै सम्मान गर्न पाएकोमा खुशी लागेको बताए ।
कार्यक्रम देउराली फाउण्डेशनका अध्यक्ष भीम घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।