चिसोका कारण महोत्तरी जिल्ला अस्पतालमा बढ्न थाल्यो बिरामीको चाप

180
Shares

जलेश्वर, २२ मंसिर । विगत एक सातादेखि बढेको चिसोको कारण महोत्तरी जिल्ला अस्पतालमा बिरामीको सङ्ख्यामा वृद्धि भएको छ। चिसो हावा, हुस्सु र बाक्लो कुहिरो लागेका कारण यहाँको मौसम असहज भएको छ।

जिल्ला अस्पतालमा उपचारको लागि पहिलेभन्दा बढी बिरामी आउन थालेको मेडिकल सुपरिटेन्डेन्ट डा सतिश साहले बताए। उनका अनुसार चिसोकै कारण यहाँका स्वास्थ्य केन्द्रलगायत जिल्ला अस्पतालमा ज्वरो, रुघाखोकी, दम, कोल्ड डायरियाका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ।

सामान्य अवस्थामा औसतमा ४०र५० जना बिरामी उपचारका लागि आउने गरेकोमा पछिल्लो समय दैनिक एक सय ५० सम्म बिरामी उपचारको लागि आउने गरेको डा साहले बताए।

लगातार बढ्दै गएको जाडोबाट सबैभन्दा बढी बालबालिका, वृद्धवृद्धा र सुत्केरी महिला बढी प्रभावित भएका छन्। साथै, आर्थिकरुपले कमजोर व्यक्तिसमेत बढ्दै गएको जाडोको प्रत्यक्ष मारमा परेका छन्। बालबालिका, वृद्धवृद्धा र सुत्केरी महिलामा रुखाखोकी, ज्वरो, दम, हातगोडा सुनिने, दुख्नेलगायत समस्या देखिएको डा साहले बताए।

१० नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीको विभिन्न गाउँ बस्तीमा जाडोबाट बच्नका लागि ठाउँठाउँमा स्थानीयले आगो बालेर ताप्ने गरेको देखिन्छ। यसैबिच, ग्रामीण भेगमा वस्तुभाउसहित कृषिबालीमा पनि चिसोका कारण समस्या भइरहेको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *