निषेधित क्षेत्रमा एक सर्को चुरोट ताने ४ लाख रुपैयाँ बढी जरिवाना तिर्नुपर्ने !

सुर्तीजन्य पदार्थ छाड्न चाहनेका लागि 'टोवाको सिसेसन प्रोग्राम' संगसंगै
सार्वजनिक स्थलमा धूमपान गरेका व्यक्तिसंग बयान लिदै स्थानीय प्रहरी अधिकारीहरु

काठमाडौँ, २० मंसिर । नेपालको कानून अनुसार सार्वजनिक स्थलमा धूमपान गर्ने व्यक्तिलाई १०० रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था छ । त्यसबाहेक उक्त व्यक्तिलाई सार्वजनिक स्थलबाट बाहिर निकाल्न सकिने समेत भनिएको छ ।

२०७२ सालको फागुनमा काठमाडौँका तत्कालिन प्रहरी प्रमुख विक्रमसिंह थापाले सो व्यवस्थालाई कार्यान्वयन समेत गरे । उनी नियन्त्रणको काठमाडौँ प्रहरीले सार्वजनिक स्थलमा चुसे (चुरोट सेवन) नियन्त्रण अभियान नै सञ्चालन गरयो र एक सय रुपैयाँ जरिवाना उठाउन थाल्यो । त्यसबेलाको यो अभियानले केही हदसम्म सार्वजनिक स्थलमा धूमपान गर्ने कार्यमा कमि आएको थियो । तर अहिले त्यो अभियान एकादेशको कथा जस्तै बनेको छ ।

गत भदौको अन्तिम तिर काठमाडौँ महानगरपालिकाले १ असोज देखि सार्वजनिक स्थलमा धूमपान निषेध गरिने घोषणा गरे तर त्यो घोषणाको कार्यान्वयन भएको देखिएको छैन् । नेपालमा त्यस सम्वन्धी कानून बनेको एक दशक बढी भईसक्यो तर त्यसको कार्यान्वयन अझै राम्ररी भएको छैन् ।

सार्वजनिक स्थलमा धूमपान गर्न नपाइने व्यवस्था नेपालमा मात्रै होइन इन्डोनेसियाको बाली अन्तरगर्तको क्षेत्रीय राज्य रहेको क्लुङकुङमा पनि छ ।

सन् २०१६ देखि सुर्ती नियन्त्रण सम्वन्धी कानून कार्यान्वयनको तयारी थालेको सो क्षेत्रीय राज्यले जरिवानाको भने नेपालमा भन्दा कैयौँ गुना बढी तोकेको रहेछ ।

स्वास्थ्य र विकासका लागि एशिया प्यासेफिक क्षेत्रको नगरहरुको दवाव समूह एपिक्याटको सातौं शिखर सम्मेलनको अन्तिम दिन शनिबार विहान आयोजकले आमन्त्रित १० देशका प्रतिनिधिहरुलाई क्लुङकुङ क्षेत्रको भ्रमण मात्रै गराएनन् युवाहरुको अगुवाईमा सार्वजनिक स्थलमा धूमपान गर्न नपाइने कडा व्यवस्था कसरी सफल भएको छ भन्ने पनि देखाए ।

प्रतिनिधिमण्डल क्लुङकुङस्थित एक डिपार्टमेन्ट स्टोरमा छिर्दा स्थानीय प्रहरीको टोलीले एक जना धूमपान सेवन कर्तासंग बयान लिई राखेको थियो । उनीहरुले धूमपान प्रयोगकर्तासंग सार्वजनिक स्थलमा धूमपान गरेवापतको जरिवाना भराउँदै गर्दा छेवैमा रहेको जनस्वाथ्यकर्मीहरुको अर्को टोलीले धूमपानले गर्ने असर तथा छाड्दा हुने फाइदाका बारेमा अर्का व्यक्तिलाई सम्झाई रहेका थिए ।

क्लुङकुङ क्षेत्रको सार्वजनिक स्थलमा धूमपान गर्ने व्यक्तिले ५० मिलियन इन्डोनेसियन रुपियाँ अर्थात झण्डै ४ लाख २० हजार नेपाली रुपैयाँसम्म तिर्नुपर्ने व्यवस्था छ । यस्तै तीन महिनासम्म जेल बस्नु पर्ने हुनसक्छ । तर त्यसका लागि प्रहरीले पटके वा कसुर मात्राको आधारमा सजाय तथा जरिवाना तोक्ने गर्दछन् ।

धूमपान तथा सुर्तीजन्य पदार्थ छाड्न चाहनेका लागि टोवाको सिसेसन चलाउँदै स्वास्थ्यकर्मीहरु

बयान लिईरहेका ती व्यक्ति स्थानीय नभई अन्य जिल्लाबाट पहिलो पटक आएको थाहा भएकोले थप बयानहरु लिईरहेको प्रहरी अधिकारीहरुले हामीलाई बताएका थिए । ती अधिकारीले थाहा नभएको वा बाहिरबाट आएर पहिलो पटक कारवाहीमा परेको व्यक्तिले दिने वयानको आधारमा जरिवाना केही हेरफेर गर्न सकिने संकेत गरे तर कारवाही भने भएरै छाडने बताए ।

क्लुङकुङ क्षेत्रमा युवाहरुको समूहले सार्वजनिक स्थलमा धूमपान गरेको नगरेको निगरानी गर्ने गर्दछ तर कारवाही र जरिवाना भने स्थानीय प्रहरीले गर्दछ ।

त्यसो त इन्डोनेसियाको संघीय सरकारले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) फ्रेमवर्क कन्भेन्सन अन टोवाको कन्ट्रोल (एफसीटीसी) मा अहिलेसम्म हस्ताक्षर गरेको छैन् । तर त्यहाँका प्रान्तीय, क्षेत्रीय र स्थानीय सरकारहरुले आफ्ना लागि आफै नीति बनाई कार्यान्वयनमा ल्याउने गरेका छन् ।

‘क्लुङकुङ त्यसैको एक गतिलो उदाहरण हो,’ द युनियनका एशिया प्रशान्त क्षेत्रका निर्देशक डा तारासिंह बमले भने ।

उनका अनुसार क्लुङकुङलाई धूमपान निषेधित क्षेत्र घोषणा गर्न र त्यसलाई कार्यान्वयनमा ल्याउनका लागि स्थानीय युवाहरुको ठूलो हात रहेको छ । युथ भोलेन्टियरले धूमपान विरुद्धको अभियानलाई यसरी फैलाए कि प्रान्तिय सरकारले त्यसलाई सजिलै अपनत्व लियो र अभियानलाई अघि बढायो ।

क्लुङकुङ क्षेत्रमा अहिले सुर्तीजन्य पदार्थको विज्ञापन प्रवर्धन, स्पोन्सरसीप पूर्ण निषेध गरिएको छ । खुल्ला रुपमा सुर्तीजन्य पदार्थका विक्री वितरण गर्न पाइदैन, बालबालिका र गर्भवतीहरुले यसको विक्री वितरण र प्रयोग गर्न पाउदैनन् ।

नसर्ने रोग विरुद्धको प्रमुख कारक सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्ने अभियानलाई क्लुङकुङ क्षेत्रका बासिन्दाले राम्ररी कार्यान्वयन गर्न सघाइ रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *