लेबनानको हैजा नियन्त्रणका लागि खोप अभियान

52
Shares

बेरुत, २७ कात्तिक । लेबनानमा हैजा नियन्त्रणका लागि खोप अभियान सुरु गरिएको छ । उत्तरी लेबनानमा केही हप्तायतादेखि सुरु भएको हैजाको प्रकोपबाट यहाँ कैयौँ मानिसको ज्यान गएको छ भने हैजा अहिले पनि फैलिने क्रममा रहेको बताइएको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयले उत्तरी लेबनानका हैजा प्रभावित जिल्लाहरुमा शनिबारदेखि यो अभियान सुरु भएको जनाएको छ । यो अभियान एक हप्तासम्म सञ्चालन गरिने जनाइएको छ ।

एक हप्तामा यहाँका कम्तीमा पनि छ लाख मानिसलाई हैजा विरुद्धको खोप दिइने यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको हो । गत अक्टोबर ६ तारिखमा यहाँको स्वास्थ्य मन्त्रालयले लेबनानमा हैजा देखिएको जनाएको थियो ।

त्यस यता यो रोगबाट १८ जनाको ज्यान गएको छ भने अरु हजारौँ जना विरामी भएका छन् । लेबनानले सहयोगका लागि विश्व समुदायलाई नै आग्रह गरेको थियो ।

यसैबीच संयुक्त राष्ट्रसंघले लेबनानको हैजा नियन्त्रणका लागि करिब ९५ लाख अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराएको गत हप्ता जनाएको थियो । लेबनानमा केही समययतादेखि फैलिएको हैजा नियन्त्रण गर्न राष्ट्रसंघको सहयोगको याचना गरिएको लेबनानले जनाएको थियो ।

केही हप्ता यतादेखि लेबनानमा फैलिएको हैजाको प्रकोप नियन्त्रणका लागि खानेपानीको व्यवस्था, सरसरफाई एवं औषधि उपचारका लागि लेबनानले आर्थिक सहयोगको याचना गरेको थियो ।

यहाँ देखिएको हैजाबाट चार सय ९० जना विरामी अस्पतालमा राखिएको जनाइएको छ । यहाँको स्वास्थ्य मन्त्रालयले गत अक्टोबर ६ देखि नै यहाँ हैजा भेटिएको र त्यसयता हैजाको संक्रमण फैलिएको जनाएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *