भरतपुर अस्पतालको आकस्मिक सेवा नयाँ भवनबाट

60
Shares

चितवन, २५ असोज । भरतपुर अस्पतालको आकस्मिक (इमर्जेन्सी) सेवा छ दशकपछि नयाँ भवनबाट सुरुआत भएको छ । अस्पतालले विसं २०२० मा बनेको अस्पतालको आकस्मिक सेवा नयाँ भवनबाट सुरु भएको हो ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ड प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार पुरानो र जीर्ण भवनबाट सञ्चालन हुँदै आएको सेवा नयाँ भवनबाट सुरु गरिएको छ । हाल २० शय्याबाट सुरु भएको नयाँ भवनको सेवा केही समयपछि नै ५० शय्यामा सञ्चालन गरिने उनले बताए ।

नयाँ भवनमा आकस्मिक प्रयोगशाला, एक्सरे, सामान्य शल्यक्रिया कक्षसहितको सेवा हुने उनको भनाइ छ । यी सेवा पूर्णरूपमा सञ्चालन गर्न भने एक–दुई महिना लाग्ने प्रा डा पौडेलले बताए। नयाँ भवनको माथि दुई तला थप्ने अस्पतालको तयारी छ । दुई तला थप गरेपछि ट्रमा सेन्टरसमेत सोही भवनमा सञ्चालन गरिने छ ।

स्वास्थ्य मन्त्रालयले रु सात करोड लागतमा एकतले भवन बनाएको हो । अस्पतालले दुई तला थप गर्ने गरी विस्तृत अध्ययन प्रतिवेदन तयार गरिसकेको छ । उनले भने, “तला थप गर्न मन्त्रालयमा पुनः बजेट माग गर्ने तयारीमा छौँ ।”

विगतमा १२ शय्या सञ्चालन हुँदै आएको पुरानो आकस्मिक कक्ष गत वर्षदेखि २० शय्या पु¥याइएको थियो । सोही २० शय्यालाई हाल नयाँ भवनमा सारिएको हो । नयाँ भवनमा पर्याप्त ठाउँ भएकाले उपचारमा सहज हुने छ । नयाँ भवनको आकस्मिक सेवा पूर्णरूपमा सञ्चालन आएसँगै शय्या अभावमा बिरामी बाहिर पठाउनुपर्ने बाध्यताको अन्त्य हुने मेसु डा पौडेलले बताए ।

अस्पतालको तथ्याङ्कानुसार वार्षिक झण्डै एक लाखको हाराहारीमा आकस्मिक कक्षमा बिरामी आउने गर्छन् । विसं २०१३ मा महेन्द्र आदर्श चिकित्सकलयको नामबाट स्थापना भएको अस्पताल हाल सङ्घीय अस्पतालका रूपमा छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *