पाल्पामा डेँङ्गुका बिरामी बढ्दै

पाल्पा, ५ असोज । पाल्पामा डेँङ्गु रोगका बिरामी बढ्दै गएका छन् । जिल्लामा हालसम्म एक सय ५७ जना डेँङ्गु रोगका सङ्क्रमित फेला परेको स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन अधिकृत मधुसुदन भट्टराईले बताए।
उनका अनुसार डेँङ्गुको सङ्क्रमणले पाल्पामा एक जनाको मुत्यु भएको छ। सङ्क्रमित बिरामीको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
तानसेन नगरपालिका, रैनादेवीछहरा गाउँपालिका, रिब्दिकोट गाउँपालिकामा सङ्क्रमित बढिरहेको पाइएको छ ।
सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा जिल्लाका सरकारी अस्पतालमा कीट अभाव छ। डेङ्गु नियन्त्रणका लागि जिल्लाका विभिन्न पालिकाले जनचेतनामूलक कार्यक्रम गरिरहेका छन्। डेँङ्गु एक प्रकारको ज्वरो हो ।
यो लामखुट्टेको टोकाइबाट सर्ने सङ्क्रामक रोग हो। डेँङ्गुको भाइरसबाट सङक्रमित भएको ‘एडिस रजिष्टाइ’ जातको पोथीले यो रोग सार्छ। यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा बढी पाइने गर्दछ। यसले स–साना पानी जमेका स्थानमा फूल पार्ने गर्दछ ।
खासगरी वर्षाको पानी जस्तै टिनका डब्बा, थोत्रा टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रम, फूलदानी गमला, पानीका ट्याङ्कीमा यसले फूल पार्दछ। सहरी क्षेत्रमा यस्ता वस्तु पर्याप्त मात्रामा हुने भएकाले पनि यो लामखुट्टे सहरमा बढी देखिने गरेको पाइन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




