अनशनरत डा.केसीको पेटमा कडा खालको अल्सरको आशंका, उपचारका लागि काठमाडौँ ल्याइँदै

काठमाडौँ, ४ असोज । निर्धारित समयमा आफ्ना माग पुरा नगरेको भन्दै २० औँ अनसन सुरु गरेका डा गोविन्द केसीलाई पेटमा कडा खालको अल्सरको आशंकामा उपचारका लागि काठमाडौँ ल्याइँदै छ । डा केसीको स्वास्थ्य स्थिति झन् जटिल हुँदै गएपछि सेती अञ्चल अस्पतालले सुविधासम्पन्न अस्पतालमा लैजान सल्लाह दिएको हो ।
अस्पतालले डा. केसी शरीरमा पोषणतत्व र पानीको असन्तुलनले बेहोस हुन सक्ने बताएको छ । त्यस्तै पेटमा कडा खालको अल्सर भएको आशंका गरिएको पनि अस्पतालले जनाएको छ ।
अनसन बसेको दोस्रो दिनदेखि नै डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सेती प्रादेशिक अस्पतालको आईसीयुमा भर्ना गरिएको थियो । औषधि सेवन नगर्दा उनको स्वास्थ्य स्थिति गम्भीर भएकाले प्रादेशिक अस्पतालले मंगलबार बिहान एक प्रेस विज्ञप्ति जारी गर्दै उनलाई विशिष्ट स्वास्थ्य सुविधा भएको अस्पतालमा लैजान सामाजिक विकास मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोग र संघीय स्वास्थ्य मन्त्रालयलाई जानकारी पठाएको छ ।
केसीले लिखित रुपमै मुखबाट पानी र नसाबाट रिडगर ल्याक्टेट बाहेक अन्य कुरा नलिने अडान लिएका कारण समस्या गम्भीर भएको जनाएको छ । पेटको सम्भावित अल्सरको उपचारका लागि पेन्टाप्राजोल इन्जेक्सन थपिएको अस्पताको विज्ञप्तिमा उल्लेख छ ।
यसैबीच अनशनरत डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा वार्ता सुरु भएको छ ।

सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 