मस्तिष्क मृत्यु पछिको अंगदान सम्बन्धि अभियानलाई देशब्यापी बनाउनु पर्छ : स्वास्थ्य राज्यमन्त्री केसी

पोखरा, ३ असोज ।  स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले मस्तिष्क मृत्यु पछिको अंगदान सम्वन्धी अभियान देशव्यापी बनाउनु पर्ने बताएका छन् । उनले सो अभियानका लागि सरकारले आवश्यक सहयोग गर्ने समेत उल्लेख गरेका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको संयुक्त आयोजनामा सोमबार पोखरामा गरिएको अंगदान मस्तिष्क मृत्यु तथा अंग प्रत्यारोपण सम्वन्धी अन्तरक्रिया कार्यक्रम बोल्दै सो कुरा बताएका हुन् ।

कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा राज्यमन्त्री केसीले यो अभियानलाई सरकारले पूर्ण रुपम सहयोग गर्ने र यसको लागि विशेष व्यवस्था गरेको जानकारी समेत गराए । उनले मस्तिष्क मृत्यु पछि अंगादान गरेमा यो भन्दा पून्य काम अरु केही नहुने भन्दै आम जनमानसमा यसबारेमा सहि जानकारी हुन आवश्यक रहेको बताए ।

कार्यक्रममा गरेका पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा डुकबहादुर क्षेत्रीले मस्तिष्क मृत्युपछि अंगदान गर्ने अभियानमा प्रष्ठिानको सहयोग रहने बताए । उनले प्रतिष्ठान अन्तरगर्तको अस्पतालले पनि मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिसकेको भन्दै यसलाई सहज रुपमा अघि बढाउनका लागि अंगदान सम्वन्धी जनचेतना आवश्यक रहेको औल्याउँदै त्यसमा आफूहरुको सहयोग रहने बताए ।

कार्यक्रममा अस्पतालका निर्देशक डा भरतबहादुर खत्रीले पनि अंगदान तथा अंग प्रत्यारोपण सम्वन्धी कार्यमा आफूहरु योजनाका साथ अघि बढेको बताए ।

कार्यक्रममा प्रत्यारोपणविज्ञ एवं भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले अंगदान तथा प्रत्यारोपणका विभिन्न विधाका बारेमा जानकारी गराए । उनले नेपालमा प्रत्येक वर्ष ३ हजार जनाको मिर्गौला फेल हुने र एक हजार जनाको कलेजो फेल हुने बताए । उनले दुबै खाले अंगका लागि मस्तिष्क मृत्यु भएका र स्वस्थ व्यक्ति दुबैले अंगदान गर्न मिल्ने सुनाए । ‘तर हामीकहाँ बार्षिक १ हजार व्यक्तिको मस्तिष्क मृत्यु हुन्छ । एक जना व्यक्तिबाट ८ वटा अंग झिकी आठ जनालाई बचाउन सकिन्छ । त्यसैले यो अभियान फैलाउन जरुरी छ,’ उनले भने ।

डा श्रेष्ठले  नेपालमा अहिले पनि अंग प्रत्यारोपणमा ८० प्रतिशत पुरुष अंग लिने र ८० प्रतिशत महिला अंग दान दिने भएको भन्दै यसमा परिवर्तन आवश्यक भएको बताए । उनले सबैलाई अंगदान गर्न अनुरोध गरे ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका सिनियर कन्सलटेन्ट नेफ्रोलोजिष्ट डा कल्पना श्रेष्ठले नेपालमा बार्षिक करीब ३ हजार जानाको मिर्गौला फेल हुने र त्यसको तुलनामा डायलासिस सेवा र प्रत्यारोपण सेवा अत्यन्त न्युन हुने रहेको जानकारी गराईन् ।

उनले अहिले १० हजार जनाले डायालासिस सेवा लिईरहेको र बार्षिक करीव २ सय जनाको मात्रै मिर्गौला प्रत्यारोपण हुने गरेको बताईन् । तसर्थ प्रत्येक वर्ष थपिने करीव ३ हजार डायालासिसको उपचारका लागि र प्रत्यारोपणका लागि धेरै महत्व भएकोले डायलासिस भन्दा प्रत्यारोपणमा ध्यान दिनुपर्ने बताइन ।

केन्द्रकै बरिष्ठ नेफ्रोलोजिष्ट डा निभा श्रेष्ठले मस्तिष्क मृत्युबारेमा जानकारी गराउनु भयो । उनले मस्तिष्क मृत्यु पूर्ण तया मृत्यु हो भन्दै त्यसमा कन्फ्युजन हुन नपर्ने बताईन् ।

सो अवसरमा उनले मस्तिष्क मृत्युसम्वन्धी कानूनी व्यवस्था, व्यहारिक पक्षको बारेमा चर्चा गरिन । एक जना व्यक्तिको मस्तिष्क मृत्यु भएमा खरानी भएर जाने अंगहरुलाई अरुको जीवन बचाउन प्रयोग गर्न सक्ने समेत उल्लेख गरिन् ।

नेपालमा डायलासिस सेवा १९ जिल्लामा मात्रै उपलव्ध छ । शहीद धर्मभक्त राष्ट्रिष्य प्रत्यारोपण केन्द्रमा अहिलेसम्म ९३९ जनाको प्रत्यारोपण भएको छ भने पछिल्ला बर्षमा बार्षिक करीव २ सय जनाको मिर्गौला प्रत्यारोपण हुँदै आएको छ ।

नेपालमा अहिलेसम्म मस्तिष्क मृत्यु भएका ४ जना व्यक्तिको अंगदान मार्फत ८ जनाको मिर्गौला र २ जनाको कलेजो प्रत्यारोपण भएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *