सुत्केरीको मृत्युपछि गठन भयो छानविन समिति, परिवारलाई १० लाख क्षतिपूर्ति

पाँचथर,२३ साउन । सदरमुकाम फिदिममा भर्खरै सञ्चालनमा आएको गणेशमान सिंह सामुदायिक अस्पतालमा प्रसूति गराएकी महिलाको मृत्यु भएको घटना छानबिन गर्न समिति गठन गरिएको छ । शनिबार सो अस्पतालमा सुत्केरी भएकी फिदिम नगरपालिका ६ की १९ बर्षीया करिना फागोको आइतबार विहान निधन भएको थियो ।

परिवार तथा आफन्तले मृत्यु हुनुको पछि अस्पताल तथा स्वास्थ्यकर्मी दोषी रहेको बताउँदै आएका छन् ।

छानविन समिति संयोजकका रुपमा पाँचथर अस्पतालका निमित्त प्रमुख बरुण अग्रवाललाई तोकिएको छ ।

सुत्केरीको मृत्युपछि आफन्तले हो हल्ला र नाराबाजी गर्दै आएका थिए । अपरान्ह तिर जिल्ला प्रशासन कार्यालयको सक्रियतामा आफन्त र अस्पताल सञ्चालक सहित बसेको सर्वपक्षीय बैठकले छानविन समिति गठन गर्ने निर्णय गरेको हो ।

सोही बैठकले मृतकको परिवारलाई अस्पतालले १० लाख रुपैयाँ उपलब्ध गराउने सहमति गरेको छ । सो सहमतिसंगै आफन्तले शव बुझ्ने भएका छन् । अस्पताल प्रशासनले मृतकका आफन्तलाई किरिया खर्चस्वरुप तत्काल ५ लाख र नवजात शिशुको शिक्षादीक्षाका लागि बैंक खाता खोलेर थप पाँच लाख गरी १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेलगत्तै शव बुझ्ने बुझाउने प्रक्रिया सुरु हुने सञ्चालक सन्तोष श्रेष्ठले जानकारी दिए ।

अस्पताल प्रशासनका अनुसार शनिबार उनले सामान्य अवस्थामा बच्चा जन्माएकी थिइन् ।

साँझ शरीरमा रगतको मात्रा कम भएपछि थप रगत दिइएको थियो । त्यसपछि रक्तस्राव रोकिए पनि अचानक रक्तचाप घटेर स्वास्थ्यमा जटिलता देखिएको थियो ।

यसपछि थप उपचारका लागि तराईको सुविधा सम्पन्न अस्पताल पठाउने तयारी गर्दा गर्दै उनको मृत्यु भएको श्रेष्ठको भनाइ छ । चिकित्सकहरुका अनुसार यो उपचारको क्रममा भएको लापर्बाही होइन । प्रसूतिपश्चात् अचानक हेमोग्लोबिन र रक्तचाप कम हुँदा यस्तो समस्या हुने उपचारमा संलग्न डा. शुभनारायण ठाकुरले बताए । तर परिवारजन भने अस्पताल पक्षको जवाफबाट सन्तुष्ट थिएनन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *