‘आर्थिक अनियमितता’को आरोप लागेपछि आपूर्ती शाखा प्रमुख डा. चौरसियालाई राज्यमन्त्री केसीले बयानका लागि बोलाए

काठमाडौं, १० साउन । औषधि उपकरण खरीदमा व्यापक अनियमितता गरेको खबर सार्वजनिक भएको भन्दै स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखाका प्रमुख डा सुरेन्द्र चौरसियालाई तत्काल मन्त्रालय उपस्थित भई सत्य तथ्य जानकारी दिन निर्देशन दिएका छन् ।
राज्यमन्त्री केसीको निजी सचिवालयले व्यवस्थापन महाशाखालाई पत्र पठाउँदै चौरसियालाई आज अपरान्ह ५ बजे भित्र राज्यमन्त्री केसी समक्ष उपस्थित भई जवाफ दिन निर्देशन दिएको छ ।
राज्यमन्त्री केसीको सचिवालयले व्यवस्थापन महाशाखालाई लेखेको पत्रमा शाखा प्रमुख डा चौरसियाले १० अर्वको औषधि उपकरणहरु खरीदमा व्यापक अनियमिता गरेको आरोप उल्लेख छ । त्यसमा ५० लाख रुपैयाँको लेनदेनमा सरुवा गरेको, ५ करोड भन्दा बढी घुस लिएको, लुम्बिनी र हस्पिटेक इन्टरप्राइजेसलाई ८० प्रतिशत ठेक्का अनियमित तरिकाले दिएको उल्लेख छ । यस्तै ०.५ प्रतिशत कमिसन आफूलाई भनेर लिने गरेको समाचार प्रकाशित प्रति राज्यमन्त्रीको ध्यानाकर्षण भएको उल्लेख छ ।
‘पत्रको अन्तमा यस सम्वन्धमा के भएको हो ? बास्तविकता के हो ? आज बेलुका ५ बजेसम्म माननीय राज्यमन्त्री ज्यू समक्ष उपस्थित भई जवाफ दिनुहुन आदेश अनुसार जानकारी गराईन्छ,’ निजी सचिव वीरसिंह राईले हस्ताक्षर गरेको पत्रमा भनिएको छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




