म्याग्दीको गुर्जा गाउँमा सुर्तीजन्य पदार्थ सेवनमा प्रतिवन्ध

76
Shares

म्याग्दी, १० साउन । म्याग्दीको धवलागिरी गाउँपालिका १ गुर्जामा जुवातास खेल्न, धूम्रपान र सुर्ती सेवन गर्न प्रतिबन्ध लगाइएको छ।

वडाका जनप्रतिनिधिहरूको सोमबार बसेको बैठकले जुवातास, धूम्रपान सेवनमा प्रतिबन्ध लगाउनुका साथै तोकिएको भन्दा अन्य समय मदिरा सेवन गर्नेलाई जरिवाना तिराउने निर्णय गरेको छ।

चुरोट, खैनी सेवनलाई पूर्णप्रतिबन्ध र बिहान ५ देखि साँझ ५ बजेसम्म जाँडरक्सी सेवन गर्न प्रतिबन्ध लगाइएको वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताए।

‘तोकिएको भन्दा अन्य समय मदिरा सेवन गर्नेलाई पहिलो पटक सम्झाई बुझाई, दोस्रो पटक १०० र तेस्रो पटकदेखि दोब्बरका दरले जरिवाना तिराउने नियम बनाएका छौ’ उनले भने, ‘जरिवानाबाट संकलन भएको रकम फोहर र दूषित पानीका कारण हुने स्वास्थ्य समस्या न्युनीकरणका लागि व्यक्तिगत तथा सामुदायिक सरसफाई गर्ने व्यक्ति र परिवार पहिचान गरेर पुरस्कृत गर्न खर्च गर्छौ।’

घरेलु हिंसा, बिवाद, झगडाका साथै स्वास्थ्य र सामाजिक समस्याको मुख्य कारण जुवातास र मदिरा भएकाले प्रतिबन्ध लगाइएको वडा अध्यक्ष छन्त्यालले बताए।

जुवातास खेलेर समय विताउने युवा र प्रौढ पुरुषहरुलाई घरायसी, आयआर्जन र विकास आयोजनामा परिचालन गरिने कार्यपालिका सदस्य सिताकुमारी छन्त्यालले जानकारी दिए।

अघिल्लो कार्यकालमा गरेको प्रयासले सामाजिक, आर्थिक सुधार, शान्ति र सद्भाव कायम राख्न सहयोग पुगेकाले आमा समूह, युवा क्लव र अगुवाहरुसँग समन्वय गरेर निरन्तरता दिइएको वडा कार्यालयले जनाएको छ।

सडक यातायातको सुबिधा नपुगेको भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित गुर्जामा २६५ घरधुरी छन्त्याल र दलित समुदायको बसोबास छ। रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *