जुम्लाको पातारासी गाउँपालिका पूर्णखोप सुनिश्चित घोषणा

खलङ्गा, १६ असार । जुम्लाको पातारासी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको छ। विगत दुई वर्ष पहिले देखिको प्रयास र लक्ष्यअनुसार पातारासीलाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले बताए ।

कोभिडका कारणले पूर्ण खोप पालिका घोषणा गर्न एक वर्षपछि धकेलिए पनि सबै सूचक पूरा गरेरेर पातारासीलाई पूर्ण खोप सुनिश्चित घोषणा गर्न सफल भएको स्वास्थ्य संयोजक रतन बुढ्थापाले बताए ।

पूर्णखोप पालिका घोषणा गर्न महिला स्वास्थ्य स्वयं सेविका र स्वास्थ्यकर्मीको विशेष भूमिका रहेको थियो। जस अनुसार ७ वडा उत्कृष्ट सातजना स्वयमसेविका र स्वास्थ्यकर्मीलाई नगदसहित सम्मान गरिएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले शिक्षा, स्वास्थ्यको हिसाबले दुर्गम मानिने पातारासी पूर्ण खोपपालिका घोषणा हुनु गौरवको विषय भएको बताए। उनले भने, “यहाँका सबै बालबालिका रोगमुक्त र खोपयुक्त भएको सन्देश फैलिएको छ। अन्य पालिकाले पनि पूर्ण खोप अभियान चलाउन आवश्यक छ । स्वास्थ्यमा पातरासीले मारेको फड्को प्रशांसनीय छ ।”

प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले दिगो विकासको मुख्य सूचक मानिने पूर्ण खोप अभियानमा पातारासी सफल भएको बताए। बाटो खन्नु र भवन बनाउनु मात्र विकास नभइ पोषणदेखि पूर्ण खोपको पहुँचमा बालबालिका पुग्नुलाई पनि विकासको सूचक मानिने उल्लेख गरे ।

विसं २०३० नेपालाई पूर्णखोप सुनिश्चिता घोषणा गर्ने सरकारको लक्ष्यमा पातारासीले इँटा थपेको छ। पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले भने, “दुर्गम मानिने पातारासीको स्वास्थ्य क्षेत्रलाई अब्बल र गुणस्तरीय बनाउन घोषणाको प्रभावकारी कार्यान्वयनमा जोड दिइने छ। पोषणस्थिति सुधारदेखि औषधि आपूर्ति र नियमित स्वास्थ्य जाँचको सवालमा पालिका नीतिगत ढङ्गले अघि बढ्ने छ ।”

प्रमुख प्रशासकीय अधिकृत विष्णु धितालले घोषणा गर्नुभन्दा ठूलो कुरा नभइ प्रभावकारी कार्यान्वयनमा उत्तिकै चुनौती रहेको बताए। विगत दुई वर्षको मेहनतले पूर्ण खोपपालिका घोषणा भएको र यसको कार्यान्वयनमा आम सरोकारवाले साथ दिनुपर्नेमा उनको जोड थियो ।

खोप बालबालिकाको नैसर्गिक अधिकारभित्र रहेको उल्लेख गर्दै पूर्ण खोपलाई सरकारले विशेष प्रथामिकता दिएको जनस्वास्थ्य अधिकृत कृष्ण सापकोटाले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *