राष्ट्रिय ट्रमा सेन्टरले सञ्चालनमा ल्यायो डी आर सिस्टमको डिजिटल एक्सरे मेसिन

काठमाडौँ, १५ असार । राष्ट्रिय ट्रमा सेन्टरमा आजबाट डीआर सिस्टमको डिजिटल एक्सरे मेसिन सञ्चालनमा आएको छ ।

स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री हिराचन्द्र केसी आज ट्रमा सेन्टर पुगेर सो मेसिनको उद्घाटन गरेका हुन् ।

सो अवसरमा बोल्दै स्वास्थ्य राज्य मन्त्री केसीले सञ्चालमा आएको मेसिनको आवश्यकता अनुसार समुचित रुपमा उपयोगमा ल्याउन आग्रह गरे । उनले यसबाट ट्रमामा आउने बिरामीको उपचारमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले ट्रमा सेन्टरलाई एमआरआई मेसीन उपलब्ध गराउन पहल थाल्ने समेत बताए । उनले अस्पतालको सेवामा थप सुधार र स्तरोन्नती गर्ने बताए ।

उनले भने, ‘ट्रमामा २५ बेडको आइसीयू बनाउन पहल गर्छु । अब छिटै नै ट्रमामा एक सय शैया थप गर्ने योजना समेत रहेको छ ।’

ट्रमा सेन्टरका निर्देशक डा प्रमोदकुमार यादवले आज उदघाटन भएको मेसिन सञ्चालनमा आएको बताए । ट्रमाले एक करोड ५० लाख रुपैयाँमा यो मेसिन खरीद गरेको हो ।

ट्रमा सेन्टरका सूचना अधिकारी अर्जुन भेटुवालका अनुसार यो मेसिन सञ्चालनमा आएपछि ट्रमाका विरामीहरुको हरेक कोणबाट रेडियोग्राफी इमेज निकाल्न सकिनेछ ।

उनी भन्छन्, ‘यो अटोमेटिक र पूर्ण प्रविधिमैत्रि डिजिटलाईज्ड रेडियोग्राफी उपकरण हो । यसले धेरै विरामीहरुको प्रभावकारी ढंगले इमेज खिच्न सक्छ र यसमा ओभर लोड प्रोटेक्सनको पनि क्षमता रहेको छ ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *