बाँकेमा ७६ हजार बढी बालबालिकालाई कोभिडबिरुद्धको ‘पेडियाट्रिक डोज’ दिईदै
नेपालगञ्ज, ६ असार । आगामी ९ असार देखि सुरु हुन लागेको कोभिडविरुद्धको ‘पेडियाट्रिक डोज’ खोप लगाउने अभियानमा बाँके जिल्लाबाट ७६ हजारभन्दा बढी बालबालिका समेटिने भएका छन् ।
आइतबार राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको सहकार्यमा स्वास्थ्य पत्रकार मञ्च नेपालले आयोजना गरेको कोभिड खोप सम्बन्धी पत्रकार अन्तरक्रिया कार्यक्रममा सो जानकारी दिइएको हो ।
कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश बाबु श्रेष्ठले ५ देखि ११ बर्ष उमेर समूहका ७६ हजार २३९ बालबालिकालाई कोभिडबिरुद्धको फाइजर खोप दिन लागिएको बताए । उनले त्यसका लागि सम्पूर्ण तयारी पूरा भएको र विद्यालयमा खोप केन्द्र तोकेर खोप दिइने समेत जानकारी दिए ।
कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेकी निमित्त प्रमुख सुनिता पौडेलले बालबालिकालाई दिन लागिएको फाइजर बायोनटेक पेडियाट्रिक खोप सुरक्षित र प्रभावकारी भएको भन्दै सबै अभिभावकले ढुक्क भएर आफना बालबालिकालाई खोप लगाउन आग्रह समेत गरिन । उनले खोपकाबारेमा समाचार लेख्दा सञ्चारकर्मीहरु अलि बढी संवेदनशिल भइदिन पर्ने र सूचना आधिकारीक हो होइन बुझेर मात्र समाचार सम्प्रेषण गरिदिन पर्ने जिकीर गरिन ।

उनले मिडियामा आएका सामग्रीका आधारमा जनमानसले धारणा बनाउने हुँदा भ्रमपूर्ण कुराहरु वा एउटा मात्र पाटो समाचारमा आउँदा त्यसको नकारात्मक असर तुरुन्त पर्ने समेत जनाइन।
कार्यक्रममा स्वास्थ्य पत्रकार मञ्च नेपालकी निवर्तमान अध्यक्ष कल्पना आचार्यले स्वास्थ्य सिधै मानिसको जीवनसँग जोडिने विषय भएकाले यस्ता समाचार लेख्दा समाजमा पार्ने प्रभावकाबारेमा बुझेर मात्र लेख्नपर्ने र यस्ता विषयमा हतार गर्न नहुने बताइन्। कहिलेकाहीं हतारमा लेखिएको समाचारले देशकै राष्ट्रिय अभियानहरुमा प्रभाव पार्ने भन्दै यस्ता कुरामा सञ्चारकर्मी स्वयं जिम्मेवार भएर समाचार सम्प्रेषण गर्नुपर्नेमा उनले जोड दिइन । उनले कोभिडको महामारीसँगै नेपालमा सूचनाको पनि महामारी जस्तै आएको समेत जिकीर गरिन ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




