सन्दर्भ : महिनावारी स्वच्छता दिवस

महिनावारी र सरसफाई व्यवस्थापन

– अस्मिता किवानयो, जनस्वास्थ्यकर्मी

महिनावारी भनेको एक प्राकृतिक प्रक्रिया हो । यो हरेक महिलामा मासिक रुपमा हुन्छ ।

महिलामा रगतरस (Hormone) को प्रभावले गर्दा डिम्बासयबाट डिम्ब निस्कासन भएपछि बिस्तारै बाक्लो हुँदै गएर पाठेघरको भित्री तहमा गएर तुहिन्छ र रगत भएर बग्छ । यदि पाठेघरको भित्री तहमा डिम्ब पुग्दा शुक्रकिटसंग मेल भएमा गर्भ बस्छ र रगत भएर बग्न पाउँदैन् ।

साधारणतया महिलाहरुमा २८ दिनमा एक पटक योनिबाट रगत बग्छ । जसलाई हामी महिनावारी भन्ने गछौं ।

सामान्यतया यो २१ देखि ३५ दिन भित्रमा हुन्छ ।

३ देखि ५ दिन सम्म रगत बग्छ । यो सबै महिलाहरुमा १० देखि १५ वर्षको उमेरमा सुरु हुन्छ भने लगभग ४५ देखि ५५ वर्षका महिलाहरुमा रोकिन्छ ।

यो बेला सरसफाईको विशेष आवश्यकता पर्छ । दैनिक रुपमा नुहाउने, पोषिलो खानेकुरा खाने, समय समयमा योनि सफा गर्ने साथै ३-४ घण्टाको फरक वा आवश्यकता अनुसार रगत व्यवस्थापनमा प्रयोग गरिएका प्याड, ट्यामपोन, महिनावारी कपको सफा गर्नु पर्छ ।

के हामीले यी सबै कुरालाई व्यवस्थित गर्न सकेका छौं त ?
घटना – १
होली भिजन कलेज अफ हेल्थ साइन्समा फार्मेसी अध्ययनरत एक छात्रालाई कलेज हाता भित्र महिनावारी हुन्छ । महिनावारी भएको बेला रगत व्यवस्थापन गर्न उसलाई स्यानिटरी प्याडको आवश्यकता पर्छ । कलेजमा उपलब्ध हुदैंन । दिक्क मान्दै साथीहरुसंग प्याड छ कि भनेर बुझ्छिन् तर कसै संग पनि हुँदैन ।

खाजा र गाडि भाडाका लागि ल्याएको पैसाबाट प्याड किनेर लगाउँछिन् । उनी खाजा नखाई कलेज सकेर घर जान बाध्य हुन्छिन् । महिनावारी भएको बेला साविक भन्दा बढि खानेकुरा पौष्टिक, झोल कुरा खानुपर्ने बेला उल्टै भोकै बस्नुपरेको छ ।

छात्र छात्रा दुवै समान रुपमा पठन पाठन गराउने यसता कलेजहरुमा महिनावारीमा प्रयोग गर्न सहज हुने स्यानिटरी प्याड पनि हुँदैन । यसरी कलेज हाता भित्र महिनावरी हुँदा सहज रुपमा व्यवस्थापन गर्न नसक्दा व्यक्ति स्वयम्लाई नकारात्मक असर पर्छ ।

घटना – २
अस्पतालको सघन उपचार कक्षमा आफ्नी आमालाई उपचार गरारहेकी उमाको कथा पनि उस्तै छ । अस्पतालमा आमालाई कुर्दै गर्दा आधा रातमा महिनावारी हुन्छ । रातको समयमा प्याड किन्न जान पनि सकिदैन, पसलहरु सबै बन्द छ ।

अस्पताल हाता भित्र कहिं स्यानितरी प्याडको व्यवस्था छ कि भनेर खोज्छ तर हुँदैन् । रगत बग्दै गर्दाको असहज परिस्थितीमा आफुलाई समाल्ह्दै कसरी यसको व्यवस्थापन गर्ने होला भनेर सोचिरहेको हुन्छ । यक्तिकैमा सघन उपचार कक्षमा कोहि हिडेको चाल पाउँछ ।

भित्र बाहिरबाट सञ्चार गर्न राखिएको सानो झ्यालबाट भित्र बिरामीको उपचारमा खटिएकि नर्सलाई बाहिर बोलाउछ र आफुलाई परेको समस्या बताउछ । नर्सले अस्पतालमा स्यानिटरी प्याड उपलब्ध नभएको जानकारी गराउछ ।

राती भएकोले बाहिर किन्न जान पसल बन्द भएकोले नर्ससंग सहयोगका लागी अनुरोध गर्छ । नर्सले पनि रातीको समय भएकोले तत्कालका लागी घाउ ड्रेसिङ गर्दा प्रयोग गर्ने प्याड दिन्छ र रात भर त्यहि प्याड राख्छ ।

घटना –
रारा गाउपालिका वार्ड न.२ कि वडा सचिव महिनावारी भएको बेला कार्यालयमा जनताको नियमित सेवामा छिन् । घरबाट नयाँ प्याड राखेर जान्छिन् । साथमा अर्को पनि लिएर जान्छ । उक्त दिन नियमित भन्दा बढि रगत बगेर छिट्टै प्याड फेर्नुपर्ने हुन्छ र फेर्छ । रगत बग्न कम हुदैन । धेरै रगत बग्दा राखिराखेको प्याडले थेग्न सक्दैन । फेर्नलाई अर्को प्याड पनि हुदैन । आवश्यकता अनुसार फेर्न (३-४ घण्टामा) प्याड फेर्नु पर्नेमा कार्यालय हातामा वा सार्वजनिक स्थानमा सहजरुपमा स्यानिटरी प्याडको उपलब्धता नहुदा लामो समय एउटै प्याड राहिराख्नु पर्नेहुन्छ । यसले महिनावारी सरसफाईको सत्ता उल्टो संक्रमणको जोखिम बढाउछ ।

यी त प्रतिनिधि घटना मात्र हुन् । यसता घटनाहरु दैनिक रुपमा घटिरहेको हुन्छ । यसको कुनै तथ्यांक छैन । यो समस्या जटिल हैन वा व्यक्ति विशेषको मात्र हो भन्ने सोच्छौं । तर यसको असर सुशुप्त र दीर्घकालिन हुन्छ ।

मासिक रुपमा हुने महिनावारीको बेला स्वस्थ र आनन्ददायी जीवनयापन नहुदा आफुमा असहज हुने गर्छ, लामो समय असहज महसुस हुदाँ मानसिक तनाव हुने र आफ्नो दैनिक कार्यमा हस आउने गर्छ । लामो समय एउटै प्याडको प्रयोग गर्न नहुने हुदाँ, आवश्यकता अनुरुप प्याड फेर्नका लागि सहजरुपमा सार्वजनिक स्थान, कार्यालय, अस्पताल, कलेजहरुमा यसको व्यवस्थापन नहुदा उल्टै संक्रमण फैलन सक्छ । महिनावारी सरसफाईका लागि स्यानिटरी प्याड साथै शौचालय र पर्याप्त पानीको व्यवस्थापन गर्न जरुरी छ ।

यसरी कहाँ, कुन बेला महिनावारी हुन्छ स्वयंम आफैलाई पनि थाहा हुदैंन । यो महिना पुगे पछि आफै हुन्छ । कसैले चाहदैमा, अनुकुल अवस्था नहुदैमा रोक्न मिल्ने र सक्ने होइन । तै पनि सके सम्म त सबैले आफ्नो स्वास्थ्यको ख्याल गरी आफुलाई चाहिने सामानको पूर्व तयारी गरेकै हुन्छ ।

आफैले पूर्व तयारी गरेर हिँड्दा पनि सार्वजनिक शौचालय सम्म हुदैंन । शौचालय बोकेर हिँड्ने कुरा पनि हुदैन ।

उचित महिनावारी सरसफाई नहुदा फंगस तथा जिवाणुहरुले पाठेघर र पिसाब नलीमा सक्रमण गराउन सक्छ । त्यसतै योनी वरिपरी चिलाउने, बिमिराहरु आउने, रातो हुने हुन्छ । महिनावारीमा हुने लापरवाहिले प्रजनन स्वास्थ्यमा धेरै दीर्घकालिन असर पर्न सक्छ ।

महिनावारीमा सरसफाई, सन्तुलित आहारको कमिले गर्दा महिलामा प्रजनन स्वास्थ्यमा विभिन्न नकारात्मक असर पर्ने गर्दछ जस्तै सेतो पानी बग्ने, पिसाब नलिमा संक्रमण हुने, तथा पछि गएर पाठेघरको मुखको क्यान्सर समेत हुन सक्छ । यसले पछि यौन जिवनमा असर गर्ने, बच्चा नबस्ने, बसे पनि सफल गर्भाधारण हुन नसक्ने जस्ता समस्याहरु आउने गर्दछ ।

दीगो विकास लक्ष्य २०३० ले लक्ष्य न. ६ मा स्वस्थ पानी र सरसफाई सबैका लागी भनेर व्यवस्था गरिएको छ ।

जसमा सन् २०३० सम्ममा सबैका लागी पर्याप्त र समतामूलक सरसफाई र खुल्ला दिसामुक्त, आवश्यकता अनुसार महिला तथा केटिहरुको जोखिमपूर्ण अवस्थालाई ध्यान दिने भनिएको छ । त्यसैगरी सन् २०१९ बाट नेपाल सरकारले सामुदायिक विद्यालयहरुमा स्थानिय निकाय संग समन्वय गर्दै निशुल्क प्याड वितरणको कार्यक्रम तय गरेको र कार्यान्वयन गर्दै आइरहेको छ । सामुदायिक विद्यालय संगै सार्वजनिक स्थान, कार्यालय, स्वास्थ्य संस्थाहरुमा पनि निशुल्क स्यानितरी प्याडको व्यवस्था गर्न जरुरी छ ।

नेपालको संविधानले धारा ३५ मा स्वास्थ्य सम्बन्धी हक :

(१) प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन ।

(३) प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ ।

(४) ‘प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेछ,’ भनेर भनिएको छ ।

के महिनावारी हुनु र महिनावारी हुदाँ प्रयोग हुने प्याड, ट्यामपोन, महिनावारी कप आधारभूत स्वास्थ्य सेवा भित्र पर्दैन ? महिनावारी सरसफाइका लागि आवश्यक मापदण्ड पुरा नहुदा सरसफाइमा नागरिकको पहुँच कसरी पुग्छ ?

आफैले बनाएको कानुनको कार्यान्वनमा ढिला सुस्ति किन हुन्छ ? कि महिलाले कुनै पनि खालको हक अधिकार प्राप्तिका लागि आन्दोलन नै गर्नु पर्ने हो ? सडक र सडन नै तताउनु पर्ने हो ? तसर्थः आधा आकास ढाक्ने महिलाहरुको प्राकृतिक प्रकृयालाई नजर अन्दाज गर्नु राज्यले महिला माथि गरेको विभेद हो भन्दा फरक नर्पला ।

महिनावारी सरसफाईलाई मजबुद बनाउन के गर्न सक्छौँ ? 

 महिनावारी सरसफाईलाई व्यवस्थापन गर्न सार्वजनिक स्थानहरुमा कम्तिमा निशुल्क घुम्ति शौचालय र स्यानितरी प्याड संगै पर्याप्त पानीको व्यवस्था गर्न सके महिला दिदी बहिनीहरुमा राहत पुग्ने थियो ।

 प्रत्येक कार्यालयहरुमा निशुल्क स्यानितरी प्याडको व्यवस्था गर्न सके अझै महिलाहरुको यौन तथा प्रजनन स्वास्थ्यमा टेवा पुग्ने छ ।

 सहज र सरल रुपमा हरेक ठाउँमा महिलावारी सरसफाईको व्यवस्थाले किशोरी, महिला कर्मचारी, गृहिणी तथा सम्पूर्ण महिला दिदी बहिनीहरुमा आत्मसम्मान बढेनुका साथै आ आफ्नो क्षेत्रमा सकारात्मक उर्जा थपिने छ ।

 आधारभूत र आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नहुने गरी, समान हकका साथ महिनावारीको बेला गर्नुपर्ने व्यवस्थापन अत्यावश्यक भएकोले संविधानमा उल्लेख भए अनुसार कार्यान्वयन गर्न अति आवश्यक छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *