बर्दिया अस्पतालको कमाल :

सात महिनाका जुम्ल्याहा : गर्भमै बित्यो एउटा, अर्कोलाई झिकेर बचाईयो

के हो नवजात शिशुको केश ?

काठमाडौँ, २३ बैशाख । पछिल्ला केही वर्ष यता लुम्बिनी प्रदेशका उत्कृष्ठ सरकारी अस्पतालहरुको नाम लिने हो भने बर्दिया अस्पताल अग्रस्थानमा आउँछ । कुल ५० बेडको स्विकृतिमा चलेको यो अस्पतालले यतिबेला त्यस भन्दा बढी क्षमतामा उत्कृष्ठ सेवा दिदै आएको छ । त्यसैको पछिल्लो उदाहरण हो गुलरिया – ३ बर्दियाकी सुशीला गोडियाले जन्माएको नवजात शिशुको केश ।

अस्पतालका बरिष्ठ मेडिकल सुपरीडेन्टन डा सुवास पाण्डे यो नवजात शिशुको केश सफल हुँदा आफूहरुले साच्चिकै उत्कृष्ठ सेवा दिएको महसुस भएको बताउँछन् ।

के हो नवजात शिशुको केश ?
ठिक ३७ दिन अघि बेस्सरी पेट दुखेपछि गुलरिया नगरपालिका -३ बर्दियाकी गर्भवती सुशीला गोडियालाई परिवारले बर्दिया अस्पतालको इमरजेन्सीमा ल्याए । सात महिनाको गर्भवती महिलाले पेट दुख्यो भन्दै आत्तिदै आएपछि तत्काल भिडियो एक्सरे अन्य परीक्षण गरियो ।

परीक्षणबाट थाहा भयो पेटमा पानी कम रहेछ र जुम्ल्याहा शिशु मध्ये एउटा मृत अवस्था रहेछ । सो रिपोर्ट डाक्टरले तत्काल परिवारलाई जानकारी गराए । संगसंगै उनीहरुले यो पनि भने कि, ‘अर्को बच्चाको पनि मुटुको धडकनमा गडबढी छ यत्तिकै छाडियो भने के हो के हो, तत्काल सिजेरियन सेक्सन गरेर झिक्न सकियो भने जोगिने सम्भावना हुनसक्छ ।’

परिवारका सदस्यले डाक्टरको सल्लाहलाई माने । सुशीलाको तत्काल शल्यक्रिया गरियो र गर्भवाट एउटा मृत र एउटा कम तौल ( १२००ग्राम) को शिशु (छोरी)जिवितै  झिकियो ।

अवधी नपुगी जन्मिएको शिशु, कम तौल छ, एनआईसीयूमा राख्नु पर्छ । यहाँ त्यो सुविधा छैन् । नजिक भनिएको नेपालगञ्जका अस्पतालहरुमा सो सुविधा हुनसक्छ के गर्ने भनेर पुन सल्लाह गरियो । आर्थिक अवस्था कमजोर रहेका परिवारले अन्यत्र लैजानसक्ने अवस्था नरहेको बताए । उनीहरुले जे जति हुन्छ यहि नै उपचार गरिदिनु भन्न थाले ।

अस्पताल मेसु पाण्डे भन्छन्, ‘जिल्ला लेभलको अस्पतालमा हामीसंग एनआईसीयूको सुविधा थिएन तर एसएनसीयू थियो । अस्पतालमा कोभिडको बेलामा एउटा भेन्टिलेटर पनि थपिएको थियो । हामीले नवजात शिशुलाई त्यहि राखेर उपचार गर्ने निधो गरयौँ ।’

उनका अनुसार सुरुको दश दिन शिशुलाई भेन्टिलेटरमा राख्नु पर्ने अवस्था भयो । ‘बर्दिया जस्तो ठाँउमा ७ महिनाको शिशुलाई १० दिन भेन्टिलेटरमा राखेर उपचार गर्नु भनेको सानो कुरा थिएन । तर हामी त्यसमा सफल भयौँ । तर बीचमा फेरी सेप्सीस भएर निमोनिया भयो । त्यसमा पनि हामी सफल भयौँ । नवजात शिशु हिजो ३७ औँ दिनमा अस्पतालबाट डिस्चार्ज भयो,’ डा पाण्डेले भने ।

नवजात शिशुको उपचार सफल बनाउन डा पाण्डेको नेतृत्वमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा केशर चौधरी, बालरोग विशेषज्ञ डा विश्ननाथ साह, नर्सिङ इन्चार्ज सृजना ज्ञवाली, एसएनसीयूका मुना, झरना सहितको टिम, फिजियोथेरापीमा युवराज लगायत खटिएका थिए ।

‘आर्थिक रुपमा कमजोर परिवारको जटिल उपचार थियो । तर हाम्रा लागि एउटा उदाहरणीय काम पनि । त्यसैले करीब १ लाख बढी खर्च अस्पताल आफैले व्यहोरेको छ,’ मेसु डा पाण्डेले भने ।

उनले राज्यको तर्फबाट चलाइएको आमा सुरक्षा कार्यक्रममा जटिल केशका लागि ८ हजार रुपैयाँ मात्रै सोधभर्ना हुने भएकोले बाँकी सबै खर्च अस्पतालकै दायित्व भित्र पर्ने समेत स्पष्ट पारे ।

‘लाख रुपैयाँ बढी हाम्रो खर्च भयो, शिशुको परिवारले पनि ३० ४० हजार बढी खर्च भयो होला । तर शिशु बचाउँन सफल भईयो । यसैमा हामी खुशी छौँ,’ पाण्डेले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *