मेडिकल काउन्सिलको प्रशासन प्रमुख लामा बनिन् उपप्रमुखको उम्मेद्धार
काठमाडौँ, १३ बैशाख । नेपाल मेडिकल काउन्सिलको प्रशासन प्रमुखको जिम्मेवारी सम्हालेकी प्रशासकीय अधिकृत अनिता लामाले बुढानीलकण्ठ नगरपालिकाको उपप्रमुख पदमा उम्मेद्धारी दिएकी छन् ।
आगामी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेको तर्फबाट उनी उपप्रमुख पदमा उम्मेद्धारी दिएकी हुन् ।
उम्मेद्धारी मनोनयन गर्नु अघि उनले काउन्सिलबाट राजीनामा दिएकी थिईन् । उनको राजीनामा स्विकृत भईसकेको काउन्सिल प्रवक्ता डा कृष्णप्रसाद अधिकारीले बताए ।
‘काउन्सिलमा १७ वर्ष सेवा गरें, पछिल्लो समय प्रशासन प्रमुखको जिम्मेवारीमा थिएँ । तर अब अर्को बाटो समाएकी छु । आफ्नो ज्ञान र सीप अब फरक क्षेत्रबाट प्रयोगमा ल्याउने छु । जनप्रतिनिधिको रुपबाट,’ लामाले भनिन् ।
त्यसो त लामा एमाले भातृ संगठन युवा संघको केन्द्रीय सचिवालय सदस्य, अखिल नेपाल महिलासंघको केन्द्रीय सदस्यमा समेत रहेकी थिईन् । ‘त्यहाँ रहँदा मैले अफ आवरमा मात्रै पार्टीको काम गरेँ । कार्यालय समयमा मैले कहिल्यै राजनीतिक गतिविधिमा सहभागी भईन,’ उनले भनिन् ।
स्थानीय तहको निर्वाचनका सोमबार मनोनयन भईरहँदा स्वास्थ्य क्षेत्रका थुप्रै व्यक्तिहरुले उम्मेद्धारी दिएको पाइएको छ ।
सम्पर्क इमेल : [email protected]