जुम्लाका बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइँदै

खलङ्गा, १६ चैत । जुम्लाका ४२ हजार ४२० बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइने भएको छ । यही चैत २५ देखि आगामी वैशाख ७ गतेसम्म जिल्लामा टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन हुने जनस्वास्थ्य कार्यालय प्रमुख कृष्ण सापकोटाले जानकारी दिए।

उनले यहाँका आठवटै स्थानीय तहका १९ महिनादेखि माथि र १५ वर्षमुनिका ती बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने उनले बताए ।

खोपबाट बचाउन सकिने रोगहरुलाई शून्यमा झार्ने सरकारको लक्ष्यअनुसार जुम्लामा बढ्दो टाइफाइड रोगविरुद्ध खोप अभियान सञ्चालन गर्न थालिएको हो । पूर्ण खोपको सुनिश्चितता गर्न, खोप कभरेज ९५ प्रतिशत पुर्‍याउने जिल्लामा अभियानकै रुपमा खोप दिन थालिएको छ ।

टाइफाइड दूषित पानी र खानेकुराबाटै सङ्क्रमण हुने रोग हो । चैत/वैशाखमा धुलोधुवाँ बढ्ने, गर्मीले खानेकुरा पनि सफा नहुने भएकाले रोग फैलिने जोखिम हुन्छ ।

बेलैमा सचेत रहन तथा टाइफाइडबाट बालबालिकालाई बचाउनका लागि खोप अभियान चलाउने तयारी गरिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार खोपबाट कोही बालबालिका नछुट्ने गरी गाउँ तथा विद्यालयमा १९१ को खोप टोली परिचालन गरिनेछ ।

जिल्लामा आव २०७५/७६ मा ९७८, आव २०७६/७७ मा एक हजार १५८, आव २०७७/७८ मा ८७९ र चालु आवको आठ महिनामा ५९२ जना गरी चार वर्षमा जिल्लाका तीन हजार ५९७ नागरिक टाइफाइडका बिरामी रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *