लुम्बिनीबासीलाई मुटु, क्यान्सर र मिर्गौलाको उपचारमा प्रदेश सरकारले दिन थाल्यो थप दुई लाख रुपैयाँ
उपचार सुविधा लिनका लागि बिरामी पक्षले के के गर्नुपर्छ ?
काठमाडौँ, १९ फागुन । लुम्विनी प्रदेश सरकारले आफ्नो प्रदेशका नागरिकलाई तीन वटा कडा रोगको उपचारमा दुई लाख रुपैयाँ सहयोग गर्न शुरु गरेको छ । प्रदेश सरकारले क्यान्सर, मुटुको भल्भ फेर्ने र मिर्गौला प्रत्यारोपण गर्नुपर्ने बिरामीका लागि दुई लाख रुपैयाँ सहयोग गर्न थालेको हो ।
संघीय सरकारले विपन्न नागरिक उपचार सहयोग अन्तरगर्त मुटु र क्यान्सरका विरामीलाई एक लाख रुपैयाँ र मिर्गौला प्रत्यारोपणका लागि झण्डै पाँच लाख रुपैयाँ सहयोग गर्दै आएको छ ।
लुम्बिनीले प्रदेश स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा अन्तर्गत यी तीनवटा रोगका बिरामीलाई उपचार सुविधा दिन थालेको हो ।
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदकुमार गिरीले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम अन्तर्गत मुटु क्यान्सर र मिर्गौलाका बिरामीलाई दुई लाख रुपैयाँ सहयोग गर्न थालिएको बताए ।
उनले आफ्ना नागरिकलाई उपचार गरेका अस्पताललाई दुई लाख रुपैयाँ सोधभर्ना गरिदिने बताए । डा गिरीले सो सुविधा प्रदेशसंग सम्झौँता सरकारी तथा निजी अस्पतालमा उपचार गर्नेहरुले मात्रै पाउने स्पष्ट पारे ।
‘अहिले हामीले भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र नेपालगञ्जस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालसंग क्यान्सरको उपचार लागि सम्झौँता भइसकेको छ । यो रोगको उपचार हुने बाँकी अस्पताललाई पनि सम्झौँताका लागि चिठी पठाईसकिएको छ । मुटु र मिर्गौलाको उपचार तथा प्रत्यारोपण गर्ने अस्पतालहरुलाई पनि हामीसंग सम्झौँता गर्न पत्र मार्फत भनिएको छ । सबै सकारात्मक छन् । संघीय सरकारसंग विपन्नको उपचार गर्नका लागि सूचीकृत भएका सबै अस्पतालहरुले हामीसंग सम्झौँता गर्न सक्छन्,’ डा गिरीले स्पष्ट पारे ।
उनले यी तीनवटा कडा रोगको उपचार हुने देशभित्र जहाँ सुकैको सूचीकृत अस्पतालले सम्झौँता गर्न सक्ने तर सम्झौँता अनुसार लुम्बिनी प्रदेशका नागरिकले मात्रै यो सुविधा पाउने बताए ।
‘उपचार सुविधा लिनका लागि यी तीनवटा रोग लागेका लुम्बिनी बासीले प्रमाणित कागजात सहित पहिले स्थानीय तहमा निवेदन दिनु पर्छ । स्थानीय तहले प्रमाणित गरी प्रदेश स्वास्थ्य निर्देशनालयलाई पत्र लेख्छ । प्रदेशले सम्वन्धीत अस्पताललाई दुई लाख रुपैयाँसम्मको उपचार खर्च सोधभर्ना गरिदिन्छौँ भनेर पत्र लेख्छौँ,’ उपचार सुविधा पाउने प्रक्रियाबारेमा उनले जानकारी दिए ।
प्रदेश सरकारले यसअघि नै गत ७ पुस पछि मुटुका भल्भ फेरेका, मिर्गौला प्रत्यारोपण गरेका र क्यान्सर भएका बिरामीलाई दुई लाख रुपैयाँ दिईने भन्दै सूचना जारी गरिसकेको थियो ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

