पर्वत : नसर्ने रोग पहिचानका लागि रक्त परीक्षण कार्यक्रम

44
Shares

पर्वत, १७ फागुन । पर्वतको कुश्मा नगरपालिकाले नसर्ने रोगको पहिचानका लागि रक्त परीक्षण कार्यक्रम सुरु गरेको छ। नागरिकको स्वास्थ्य सुरक्षा अभियानअन्तर्गत कुश्मा नगरपालिकाका १४ वटै वडामा रहेका नागरिकको नसर्ने रोग पहिचान शिविर सुरु भएको हो। अभियानको सुरुवात कुश्मा नगरपालिका– ९ कटुवाचौपारीबाट भएको छ।

सोमबार कटुवाचौपारीमा आयोजित शिविरमा ३ सय जनाको रक्त परीक्षण गरिएको छ। अधिकांशमा मधुमेह, उच्च रक्तचाप, तथा बाथ रोगजस्ता नसर्ने रोग देखिएको परीक्षणबाट पुष्टि भएको छ। सो परीक्षणमा ३९ जनामा उच्च रक्तचाप, २२ जनामा मधुमेहको उच्च जोखिम तथा अन्यमा सामान्य अवस्था रहेको पाइएको स्वास्थ्य सहसंयोजक यामप्रसाद शर्माले जानकारी दिए।

ज्येष्ठ नागरिकमा नसर्ने रोग लाग्ने र समयमै परीक्षण गरी थप उपचार गर्न सहज होस् भनेर कुश्मा नगरपालिकाले यो कार्यक्रम सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङले जानकारी दिए। रोगले थलिएपछि बल्ल उपचारका लागि जाने धारणा समाजमा रहेको अवस्थामा यो अभियानले बेलैमा रोगको पहिचान र निदान हुने भएकाले कुश्मा नगरपालिकाले अभियान सुरु गरेको गुरुङले बताए।

नसर्ने रोगको पहिचान शिविर नगरपालिकाका सबै वडामा सञ्चालन हुने नगरप्रमुख रामचन्द्र जोशीले बताए। कुश्माबजारदेखि दुरदराजसम्म पुगेर स्वास्थ्यकर्मीले शिविर सञ्चालन गरी बिरामीको पहिचान र उपचार गर्ने जोशीले बताइन्।

रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *