विश्व प्रतिजैविक सचेतना सप्ताह मनाउँदै गर्दा यता तिर ध्यान दिईयो ?

– डा. उत्तम पच्या

यसवर्षको विश्व प्रतिजैविक सचेतना सप्ताहको आज अन्तिम दिन । सप्ताहव्यापी कार्यक्रम गरी विश्वभर गत १८ नोभेम्बर यो दिवस मनाइदै थियो ।
यसवर्षको नारा ‘जागरुकता छर्नुहोस, किटाणुको प्रतिरोध क्षमता रोक्नुहोस्’ भन्ने राखिएको थियो ।

यो नाराले विश्वमा अत्यावश्यक विश्वव्यापी स्वास्थ्य चुनौती विरुद्ध लड्नु पर्छ भन्ने इंगित गर्छ । यो सप्ताह मनाउदै गर्दा गर्दै हामीले कति जनाले चिकित्सकले प्रेस्क्राइब गरेको मात्र एन्टिबायोटिक तथा अन्य औषधी सेवन गरेका छौं ?

आफुलाई सोध्नु होस् है ,  यदि सही उत्तर आएमा निरन्तरता दिनुहोस् होइन भने घोत्लिएर सोच्नुहोस ।

जथाभावी औषधी पसलबाट चकलेट किनेर खाए जस्तो औषधी सेवन नगर्नुहोस् । किनभने यसले अकाल मै ज्यान पनि जान सक्छ । जथाभावी एन्टीबायोटिक प्रयोग गर्दा किटाणुको लड्ने क्षमता बढेर आउछ र एन्टीबायोटिकले काम नै नगर्ने हुन सक्छ ।

यसरी जसले पनि जथाभावी एन्टिबायोटिक प्रयोग गरेमा कुनै दिन त्यस्तो संसारमा हुने छौ जहाँ सबैका घाउ पाकेका छन्, संक्रमणले जताततै मान्छे मरेका छन्,  मरेका मान्छेको लास कसैले विसर्जन गर्ने सम्भावना छैन ? आदि आदि ।

कतै  हामी यस्तो संसार त निम्ताउदै छैनौं ?

त्यसैले म फेरी भन्छु,

सजिलो लाग्छ भनेर पसलबाट चिकित्सकको प्रेसक्रिप्सन बिना एन्टीबायोटिक किनेर नखानुहोस । सकेसम्म चिकित्सक संग परामर्श लिनुहोस् । त्यसो त अचेल डाक्टर भन्दा अहेव जान्ने अहेव भन्दा औषधी पसले जान्ने भएको परिवेश पनि प्रशस्तै नभएको होईन ।

विश्व स्वास्थ्य संगठन GLASS २०२१ को  प्रतिवेदन अनुसार ७० देशका करीब ३० लाख नमुना मध्ये रगतको नमुनामा  ३६.६ % E. coli किटाणुको प्रतिरोध क्षमता तेश्रो पिंढीको सेफलस्परिन एन्टिबायोटिकको विरुद्ध देखियो भने २४.९% MRSA देखियो । समग्रमा तेश्रो पुस्ताको सेफलस्परिन एन्टिबायोटिक विरुद्ध ४०-५० % किटाणुको प्रतिरोध क्षमता देखियो ।

यसैबर्ष विश्व स्तरीय जर्नल ‘नेचर’मा एन्टी बायोटिक प्रयोग सम्वन्धी नेपालका आठ जिल्लामा गरिएको सर्भेको प्रतिवेदन प्रकाशित भएको छ । जसअनुसार ३२४ मध्ये २५६ जना (७९ प्रतिशत) विरामीलेले पसलबाट बिना प्रेसक्रिप्सन औषधी किनेर खाने गर्दछन ।

यो तथ्यले के देखाउछ भने नेपालमा एन्टिबायोटिकको प्रयोग जथाभावी छ । यसले गर्दा एन्टिबायोटिकले किटाणु विरुद्ध काम गर्न छोड्छ । माथी उल्लेख गरे जस्तो भयावह स्थिति नेपालमा नहोला भन्न सकिन्न । संक्रमणले जताततै लासै लासको खात नहोला भन्न सकिन्न ।

जथाभावी भन्न खाजेको यहाँ बिना तर्कसंगत औषधी प्रेसक्रिप्सन तथा सेवन हो – जहाँ आवश्यक एन्टिबायोटिक नपरेको हुन सक्छ वा परे पनि सही मात्रा र अवधी नपुगेको वा धेरै हुन सक्छ ।

आफुलाई प्रेस्क्राइब गरिएको बाँकी औषधी अरु साथी भाइ आफन्तलाई दिने बानी पनि नेपाली समाजमा प्रशस्त देखिन्छ । यसले गर्दा एन्टिबायोटिकविरुद्ध किटाणुले प्रतिरोध गर्ने क्षमता हासिल गर्छ । फलस्वरूप, लामो अस्पताल बसाइ, नयाँ महंगा औषधी र अन्त्यमा आर्थिक भार बढ्दै जान्छ, दीर्घकाल सम्म अपाङ्गता र मृत्यु पनि हुन सक्छ ।

विश्व स्वास्थ्य संगठनले एन्टिबायोटिकको समुचित प्रयोग होस् भनेर AWaRe वर्गीकरण गरेको छ । यसमा पहिलो वर्गीकरणका एन्टिबायोटिकलाई Access  वर्गमा पर्छन् जुन वर्गका औषधीहरु पहिलो रोजाईमा पर्छन् ।  यी वर्गका एन्टिबायोटिकहरु सधै सहज रुपमा गुणस्तर मापन भै हरेक देशमा उपलब्ध हुनु पर्छ ।

दोश्रोमा Watch वर्ग पर्छ । यिनीहरु धेरै किसिमका किटाणुहरुलाई असर पार्न सक्छन तर तुरुन्तै किटाणुले प्रतिरोध गर्ने क्षमता विकास गर्न सक्छ र यो वर्गका एन्टिबायोटिकले काम नगर्न सक्छ । यी एन्टिबायोटिकहरु विशेष अवस्थामा मात्र प्रयोग गर्नु पर्छ । यस वर्गका एन्टिबायोटिकहरु धेरै मात्रामा दुरुपयोग भएको पाइन्छ विशेष गरी नेपाल लगायत दक्षिण एशियाली मुलुकमा ।

तेस्रो चै Reserve वर्ग हो । कुनै एन्टिबायोटिकले काम नगरेमा यिनीहरु अन्तिम अस्त्र हुन् । यिनीहरु अत्यन्तै महंगा र नकारात्मक असर धेरै भएका हुन्छन् तर यो वर्गका औषधीहरु पसल हरुमा सजिलै उपलब्ध हुन थालेका छन् । यी औषधीहरुको दुरुपयोगले किटाणुको प्रतिरोध क्षमता अत्यन्तै बढेर आउने सम्भावना देखिन्छ ।

प्रतिजैविक प्रतिरोध रोकथाम :

  • नयाँ वा पहिले देखि चली आएका औषधीको तर्कसंगत समुचित प्रेसक्रिप्सन गरेमा
  • आफ्नो क्षमता र योग्यता अनुसारको एन्टिवायोटिक प्रेसक्रिप्सन लेखेमा
  • विश्व स्वास्थ्य संगठनको एन्टिवायोटिक सम्बन्धी AWaRe वर्गीकरण आत्मसाथ गरेमा
  • सामान्य रुघाखोकी हुँदा एन्टिवायोटिक प्रयोग नगरेमा
  • आफूलाई सन्चो महशुस भएतापनि एन्टिवायोटिकको मात्रा र अवधि चिकित्सकको परामर्श अनुसार पुरा गरेमा ।
  • बाँकी भएको एन्टिवायोटिक आफूलाई ठिक भएको थियो भनेर उस्तै लक्षण देखिएको आफन्त वा साथीलाई प्रयोग गर्ने सल्लाह नदिएमा ।
  • एन्टिवायोटिक पशुपंक्षीलाई छिटो हुर्काउने (Growth Promotor) औषधिको रुपमा प्रयोग नगरेमा ।

किटाणुको संक्रमणबाट मानव सभ्यतालाई नै टिकाइ राख्न प्रति जैविक औषधीको समुचित तर्कसंगत प्रयोग हो । बेलैमा सचेत रहौँ, मानव सभ्यतालाई जोगाऔं ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *