काठमाडौँ, ७ भदौ । सरकारले अफगानिस्तानबाट उद्धार गरेर ल्याएका नेपालीहरुलाई पोलियो खोप दिने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले अफगनिस्तानबाट फर्किएका सबैलाई पोलियो खोप दिने निर्णय भएको जानकारी दिए।’अफगानिस्तानबाट फर्कनु भएका सबैलाई पोलियो खोप दिने सरकारले निर्णय गरेको छ । अफगानिस्थानमा फैलिएको पोलियो संक्रमणलाई दृष्टिगत गरी यो निर्णय भएको हुँदा नजिकको खोप केन्द्रबाट पोलियो खोप लिन हुन सूचित गरिन्छ,’ राज्यमन्त्री श्रेष्ठले भनेका छन् ।स्वास्थ्य मन्त्रालयले विश्व स्वास्थ्य संगठन अन्तर्गतको इन्टरनेशनल हेल्थ रेगुलेसन (आईएचआर)को सिफारिसका आधारमा अफगानिस्तानबाट फर्किएकालाई पोलियो खोप दिने निर्णय गरेको हो।
आईएचआरको निर्णय अनुसार संसारभरका देशले अफगानिस्तानबाट आउनेहरुलाई पोलियो खोप दिने निर्णय गरेका छन् ।
स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख डा झलक गौतमले अफगानिस्तानबाट आएका सबैलाई दुई थोपा पोलियो दिने निर्णय भएको बताए । उनले भने, अहिले संसारका दुईवटा देशमा मात्रै पोलियो केश देखिएको छ । ती देशमा अफगानिस्तान र पाकिस्तान हुन् । त्यसैले ती देशबाट आउनेलाई खोप दिनु अनिवार्य छ । अहिले त्यहाँबाट उद्धार गरी ल्याइएका सबैलाई दुई थोपा पोलियो खोप दिईदैछ ।
नेपाल अहिले पोलियो सून्य अवस्था भएको मुलुकमा पर्दछ । सन् २०१० मा पछिल्लो पटक एउटा केश भेटिएको थियो । त्यस यता कुनै केश देखा परेको छैन् । सामान्यतया पोलियो खोप बालबालिकालाई दिइन्छ। तर पोलियो संक्रमण फैलिएका देशबाट आएका जुनसुकै उमेरका नागरिकलाई पनि पोलियो खोप दिइन्छ। अफगानिस्तानबाट ५ सय भन्दा बढी नेपाली फर्किसकेका छन्।
पोलियो भाइरसद्वारा लाग्ने रोग हो। यो मुख्य रूपमा व्यक्ति-व्यक्ति बीचको सम्पर्कद्वारा फैलिन्छ। सङ्क्रमित व्यक्तिको दिशा-पिसाब विभिन्न माध्यमबाट खाना वा पेय पदार्थमा पुग्ने र त्यसको सेवनबाट यो फैलिन्छ।
पोलियो सङ्क्रमित धेरैजसो मानिसहरूमा कुनै लक्षण देखिँदैन, र समस्या विना नै धेरै निको हुन्छन् । तर कहिलेकही पोलियो लागेका मानिसहरूलाई पक्षाघात हुनसक्छ । पोलियोको कारण दीर्घकालीन अपाङ्गता हुनसक्छ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई
(nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।