सुर्तीजन्य पदार्थको बढ्दो प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर

काठमाडौँ, २२ असार ।  सुर्तीजन्य पदार्थ बढ्दोको प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर पारेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । उनीहरुले सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्न बनेका कानूनहरुको कार्यान्वयन गर्न समेत जोड दिएका छन् ।

मंगलबार स्वास्थ्य पत्रकार मञ्च नेपाल र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को संयुक्त आयोजनामा गरिएको कोेभिड – १९ को सन्दर्भमा सुर्तीजन्य पदार्थ र नसर्ने रोग सम्वन्धी कार्यशाला गोष्ठी आयोजना गरिएको थियो । सो गोष्ठीमा सहभागी अधिकांश विज्ञहरुले सुर्तीजन्य पदार्थको प्रयोगले जनस्वास्थ्यमा पारेको विविध असरका बारेमा तथ्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले कोभिडको – १९ को संक्रमणका बेला सूर्तीजन्य पदार्थ र नसर्ने रोगको जोखिमबारे छलफल गर्नु निकै नै सान्दर्भिक रहेको बताए । उनले सूर्तीजन्य पदार्थ नियन्त्रणमा नेपालले विश्वमा छुट्टै पहिचान बनाएको बताए । ‘कामै नभएका होइनन्, धेरै राम्रा काम भएका छन् र अझ धेरै गर्न बाँकी छ । हामीले गर्नुपर्छ । यस्ता कार्यक्रमबाट आउने सुझावले सरकारलाई नीतिगत रुपमा संसोधन गर्न समेत सजिलो हुन्छ,’ श्रेष्ठले भने ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का उपाध्यक्ष प्राडा गौरबराज ढकालले सुर्तीजन्य पदार्थको प्रयोगले मानव स्वास्थ्यमा निकै हानी पारिरहेको भन्दै यसलाई नियन्त्रण र निरुत्साहित गर्नुपर्ने बताए । उनले यसका लागि स्वास्थ्य पत्रकारहरुको भूमिका समेत महत्वपूर्ण रहेको बताए । उनले सुर्तीजन्य पदार्थ भन्ने वित्तिकै मुटु, क्यान्सर तथा मधुमेह जस्ता रोगहरुमात्रै अगाडी आउने गरेको भन्दै अरु धेरै रोगहरुमा पनि यसको असर देखिएको बताए । उनले भने, ‘मुटु क्यान्सर जस्ता रोगहरु मात्रै होइन सुर्तीजन्य पदार्थ सेवनकर्तालाई स्पाइन सम्वन्धी समस्याहरु बल्झिराखेको हुन्छ । सर्जरी गर्दा घाउ पाक्ने सम्भावना हुन्छ । यस्ता कुराहरु पनि जनमानसमा आउनु पर्दछ ।’

उनले स्वास्थ्य पत्रकार मञ्चसंग परिषदले अरु अनुसन्धानात्मक कार्यक्रमहरुमा पनि सहकार्य गर्ने बताए ।

परिषदका प्रमुख कार्यकारी सदस्य सचिव डा प्रदिप ज्ञवालीले सुर्तीजन्य पदार्थको प्रयोगकर्ताहरु अपेक्षित रुपमा नघटी रहेको अवस्थामा नसर्ने रोगको जोखिम बढ्दै गएको भन्दै अनुसन्धान र जनचेतना जगाउने कार्यलाई संगसंगै अघि बढाइएको बताए । उनले नेपाल र विश्वमा यसको अवस्था कस्तो छ ? कसरी घटाउन सकिन्छ भन्ने उपायका बारेमा अनुसन्धानात्मक रुपमा केन्द्रीत गरिएको बताए । उनले आगामी दिनमा पनि मञ्चसंग सहकार्य गरी अघि बढ्ने जानकारी दिए ।

कार्यक्रममा स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष रामप्रसाद न्यौपानेले सुर्तीजन्य पदार्थ, नसर्ने रोग र कोभिड १९ को सम्वन्धका बारेमा परिषदसंग मिलेर कार्याशाला गोष्ठी गर्न पाउँदा खुशी लागेको बताए । उनले कार्यक्रमबाट स्वास्थ्य पत्रकारहरुका लागि जवरजस्त इस्यु उठेको भन्दै एनसीडी, सुर्तीजन्य पदार्थको असर , कोभिड-१९ को असरको बारेमा विज्ञबाट धेरै जानकारी मिल्ने बताए । उनले स्वास्थ्य पत्रकार मञ्चले आगामी दिनमा स्वास्थ्य अनुसन्धानका विषयमा एनएचआरसीसंग सहकार्य गरी अघि बढ्ने बताए ।

कार्यशाला गोष्ठिमा विभिन्न विषयका विज्ञको प्रस्तुति


मंगलबारको कार्र्यशाला गोष्ठमा सुर्तीजन्य पदार्थ, नसर्ने रोग र कोभिड १९ संगको सम्वन्धको सन्दर्भ पारेर विभिन्न छ जना विज्ञले प्रस्तुति राखेका थिए । कार्यक्रममा नेपाल स्वास्थ्य अनुसन्धान परिषदका अनुसन्धान प्रमुख डा मेघनाथ धिमालले नसर्ने रोगहरु र यसका जोमिख बढाउने कारक तत्वहरुको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

उनले सुर्तिजन्य पदार्थको प्रयोगले नसर्ने रोगहरुको जोखिम बढेको र कोभिड -१९ ले त्यस्ता व्यक्तिलाई झनै असर गरेको विभिन्न अध्ययनले पुष्टी गरेको बताए । उनले सुर्तिजन्य पदार्थले मिर्गौलाजन्य रोग(क्रोनिक किड्नी डिजिज) मुटुजन्य रोगहरु (कोरोनरी आर्टरी डिजीज) दम (सीओपीडी) र मधुमेह जन्य रोगहरुबारे नेपालमा गरिएको अनुसन्धानको तथ्य प्रस्तुत गर्दै अवस्था डरलाग्दो भएको बताए । सो क्रममा उनले अनुसन्धान पछि आएका विभिन्न तथ्य प्रस्तुत गरेका थिए ।

स्वास्थ्य करकोषका सदस्य सचिव समेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कानून उपसचिव मानवहादुर बस्नेतले सुर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी कानूनमा भएका व्यवस्थाका बारेमा चर्चा गरेका थिए । उनले कानून केही कार्यान्वनयमा आएको र केही आउने क्रममा रहेको कतिपय कानूनी व्यवस्थालाई संसोधनको तयारीमा समेत अघि बढेको प्रष्ट पारे ।

कार्यक्रममा एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले कानून कार्यान्वयनमा सूर्ती उद्योगहरुले गरेको अवरोध, चलखेल, र सरकारी तथा नीतिगत तहमै पार्न खोजेको प्रभावको बारेमा प्रस्तुतिकरण गरेका थिए । उनले समाजका प्रतिष्ठत कहलिएका व्यक्तिहरु, उच्च राजनीतिक तहका व्यक्तिहरुलाई सुर्ती उद्योगहरुले प्रभाव पार्ने गरेको बताए । उनले कानून कार्यान्वयन गर्न सञ्चार जगत र सामाजिक संघसंस्थाको ठूलो हात रहेको बताए । ‘नेपालको कानून उत्कृष्ठ छ तर त्यसले निदृष्ठ गरेका कतिपय प्रावधानहरु लागू हुन सकेका छैनन् । यसको कारण सूर्ती उद्योगहरुको प्रभाव हो,’ उनले बताए ।

राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक डा राधिका थपलियाले स्वास्थ्य प्रवर्धन र त्यसमा पनि सुर्तीजन्य पदार्थ र नसर्ने रोगको नियन्त्रणका लागि गरेका कार्यहरुको बारेमा जानकारी गराएकी थिइन । उनले सुर्तीजन्य पदार्थ छोड्ने बैकल्पिक उपायका बारेमा र यस सवन्धी सचेतना कार्यक्रममा पनि केन्द्र लागेको बताईन ।

कार्यशाला गोष्ठीमा भाग लिदै बरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा भगवान कोइरालाले नसर्ने रोग अवको दशकपछि बच्चाहरुमा भयावह रुपमा आउने भन्दै त्यसका लागि आजैबाट तयारी थाल्नुपर्ने बताए । उनले प्रत्येक बर्ष जन्मने करीब १ प्रतिशत बालबालिकामा जन्मजात मुटुरोग देखिएको र अरु समस्याका कारण थपिने मुटुरोगले थप समस्या सिर्जना गर्ने भन्दै यसमा राज्यले विशेष ध्यान दिनुपर्ने बताए । उनले महत्वपूर्ण विषयमा छलफल गराएको भन्दै परिषद र मञ्चलाई धन्यवाद दिए ।

‘कार्यक्रममा बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा सुदीप श्रेष्ठले एन्टी स्मोकिङ क्याम्पियनमा लाग्नुपर्ने बताए । नसर्ने रोगको अवस्था भयावह बन्दै गइरहेको छ । यसलाई न्युनिकरण गर्न विशेष क्याम्पियनको जरुरी छ । त्यसमा हामीसबै मिलेर लाग्नुपर्ने छ,’ उनले भने ।

कार्यक्रममा डा ज्योति भट्टराईले सुर्तीजन्य पदार्थको प्रयोगकर्तामा मधुमेह रोग हुने सम्भावना बढी हुने र यस्ता बिरामीलाई कोभिड १९को समस्याले बढी सताउने गरेको बताइन । उनले कोभिडको मृत्युदरमा समेत सुर्तीजन्य पदार्थको प्रयोगकर्ताहरु बढी रहेको अनुमान गरिन ।

हेल्थ इकोनोमिष्ट डा देवी प्रसाईंले नेपालमा सुर्ती उद्योगीहरुले राज्यलाई विभिन्न रुपमा प्रभावित गरी आफू अनुकुल चल्ने बनाएको आरोप लगाए । उनले सुर्तीजन्य पदार्थको उपभोग घटाउन कर बढाउनै पर्ने भन्दै त्यसका लागि आफूहरुको निरन्तर दवाव दिईरहेको बताए । एक प्रसंगमा उनले राज्यले सुर्ति उद्योगबाट १८ अर्व कर उठाउने र सुर्तीकै कारण लाग्ने रोगको उपचारका लागि ४० अर्व बढी खर्च गर्ने गरेको तथ्य सुनाए ।

कार्यक्रममा डा. विष्णुदत्त पौडेल, डा. हरि ढकालले नसर्ने रोग सुर्तीजन्य पदार्थको सम्वन्ध र कोभिड – १९ को संक्रमणको बारेमा प्रस्तुति करण राखेका थिए ।

सोही कार्यक्रममा बरिष्ठ स्वास्थ्य पत्रकार कल्पना आचार्यले सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न तथा कानून कार्यान्वयनका पक्षमा सञ्चारमाध्यमले खेलेका भुमिकाको बारेमा प्रस्तुति करण दिएकी थिईन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *