बंगलादेशबाट थप १३ हजार १ सय भाइल रेम्डेसिभिर आयो

काठमाडौँ, ६ जेठ । आयान हेल्थ केयर प्रालिले कोरोना संक्रमितको उपचारमा प्रयोग हुने औषधि रेम्डेसिभिर (इन्जेक्सन)को थप १३ हजार १०० भाइल बंगलादेशबाट ल्याएको छ ।

डेकोन फर्मास्युटिकल्स बंगलादेशबाट ३ हजार १०० भाइल र इन्सेप्टा फर्मास्युटिकल्स लिमिडेट बंगलादेशबाट १० हजार भाइल गरी कुल १३ हजार १०० भाइल रेम्डेसिभिर ल्याएको हो ।

आयानका सिईओ मोहम्मद कमालले यसपटक स्थलमार्ग हुँदै रेम्डेसिभिर ल्याएको बताए । उनले रेम्डेसिभिर बोकेको गाडी आज अपरान्ह मेची भन्सारबाट पास भई अगाडी बढी सकेको जानकारी दिए । उनले भने, ‘अहिले इटहरि कटिसकेको छ । भोलिविहानसम्म गाडी काठमाडौँ आइपुग्छ ।’

यसअघि आयानले स्थलमार्ग र हवाईमार्गबाट दुई पटक गरेर २६ हजार भाइल रेम्डेसिभिर बंगलादेशबाट ल्याइसकेको छ । अहिले ल्याएको औषधि पनि स्वास्थ्य मन्त्रालय, औषधि व्यवस्था विभागसंग समन्वय गरी आवश्यकता र प्राथमिकताको आधारमा देशभरका कोभिड उपचार गर्ने अस्पतालमा वितरण गर्ने सिईओ कमालले बताए ।

नेपालमा कोरोना संक्रमणको दोस्रो लहर शुरु भएपछि संक्रमणले तिब्रता लिएको छ । संक्रमण बढदै जाँदा उपचारमा प्रयोग हुने भनिएको रेम्डेसिभिरको अत्यधिक माग बढेको थियो । पछिल्लो पटक भारतले समेत यो औषधि निर्यातमा रोक लगाएपछि नेपालमा व्ल्याकमा समेत यसको कारोवार भएको थियो ।

‘यो महामारी र अभावकाबीच आयातकर्ताहरुले बंगलादेशबाट रेम्डेसिभिर ल्याएर आवश्यकताको परिपूर्ति गरेका छन् । महामारीमा आफ्नो दायित्व निर्वाह गरेका छन् । यसले धेरैको ज्यान जोगिएको छ । आयातकर्ताहरुले परेको बेलामा देशका लागि जहाँबाट पनि औषधि ल्याएर उपलव्ध गराउन सक्छन् भन्ने उदाहरण प्रस्तुत गरेका छन्,’नेपाल औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यले भने ।

उनले आवश्यकता अनुसार थप औषधि आउने विश्वास दिलाए । उनले जनता बचाउनका लागि सरकारले जहाँ सुकैबाट औषधि ल्याउनुपर्ने र ल्याउने बाताबरण गराउनुपर्ने बताए ।

सरकारले बंगलादेशबाट आएको रेम्डेसिभिरको एक भाइलको मूल्य ४ हजार ९ सय रुपैयाँ तोकेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *