काठमाडौँ सहित ठूला शहरमा अनलाइन कक्षा सञ्चालन गर्ने प्रस्ताव मन्त्रिपरिषदमा

काठमाडौँ, ३१ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ सहित ठूला शहरहरुमा कम्तीमा एक महिना विद्यालय तथा कलेजहरुको कक्षा अनलाइन मार्फत गर्नुपर्ने प्रस्ताव अघि सारेको छ । कोरोनाको चेन ब्रेक गर्नका लागि बढी जोखिम भएका शहरी क्षेत्रका विद्यालयहरुको पठन पाठन अनलाइनबाट गर्नुपर्ने प्रस्ताव अघि सारेको हो ।

स्वास्थ्य पत्रकार मञ्च नेपालको अगुवाईमा मंगलबार भएको छलफल कार्यक्रममा स्वास्थ्य मन्त्री हृदयेष त्रिपाठीले जोखिम न्युनिकरण गर्नेबारेमा सरकारले गरेको तयारीबारे जानकारी दिने क्रममा सो जानकारी दिएका हुन् ।

मन्त्री त्रिपाठीले भने, ‘हामीले काठमाडौँ उपत्यका सहित देशका प्रमुख शहर जोखिम बढी हुने स्थानमा अध्ययन् अध्यापन अनलाइन मार्फत सञ्चालन गरौँ भनेका छौँ । त्यसो नगरी हुन्न । हामीले कम्तीमा ३० दिन अनलाइन कक्षा सञ्चालन गर्नुपर्छ भनेका छौँ । संक्रमणको चेन ब्रेक गर्न यस्तो प्रस्ताव गरेका हौँ । सोमबारको मन्त्रिपरिषद बैठकमा पनि यसबारेमा व्यापक छलफल भएको छ । यसबारेमा सम्भवत छिटै निर्णय हुन्छ ।’

उनले काठमाडौँमा नै स्कुल कलेज पढन निस्कने विद्यार्थीको संख्या ८ लाख भन्दा बढी रहेको भन्दै यो संख्या घर भित्रै रहँदा संक्रमण फैलने सम्भावना निकै कम हुने तर्क गरे । ‘विद्यालय बन्द गर्न भनेका होइनौ । पढाउने पद्धती परिवर्तन गरौँ मात्रै भनेका हौँ । काठमाडौँमा अनलाइन कक्षा सञ्चालन गर्ने हो भने करीब २० प्रतिशत जनसंख्याको आवतजावत रोकिन्छ । यो महामारीको बेलामा यसले ठूलो सहयोग पुग्छ भन्ने हाम्रो भनाई हो,’ उनले भने ।  मन्त्री त्रिपाठीले नव वर्षको अवसरमा प्रधानमन्त्रीले बुधबार विहान सम्वोधन गर्ने र सो क्रममा पनि केही घोषणा हुनसक्ने बताए ।

दैनिक ११ हजार केश र छ लाख सम्म संक्रमण पुग्न सक्ने स्वास्थ्यको प्रक्षेपण
यसैबीच स्वास्थ्य मन्त्री त्रिपाठीले कोरोनाको जोखिम बढेको भन्दै संक्रमण पहिले भन्दा भयावह अवस्थामा पुग्न सक्ने बताए । ‘हाम्रो अनुमान जेठ असारसम्म संक्रमण उच्चतम विन्दुमा पुग्ने र त्यसबेला दैनिक ११ हजारसम्म नयाँ केश थपिने अवस्था आउन सक्छ भन्ने छ । त्यसबेलासम्म संक्रमण ६ लाख माथि पुग्न सक्छ भन्ने पनि छ’ मन्त्री त्रिपाठीले अगाडी थपे, ‘त्यसैले हाम्रो विशेष अनुरोध स्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गरौँ । मास्क लगाउने, नियमित हात धुने र भौतिक दुरी कायम गर्ने काम जारी राखौँ ।’

उनले भारतबाट ठूलो संख्यामा नेपाली नागरिकहरु यहिवेला घर फर्केको भन्दै मुख्य नाकाहरुमा कम्तीमा १ हजार जनासम्म अटाउने होल्डिङ सेन्टर सञ्चालनमा ल्याउन लागेको जानकारी दिए । उनले स्थानीय सरकारसंग समन्वय गरेर स्थानीय तहमा पनि संस्थागत आइसोलेसन तथा क्वारेन्टिन सञ्चालनमा ल्याउने विषयमा छलफल भएको समेत जानकारी दिए ।

स्वास्थ्यकर्मीको जोखिम भत्ताको समस्या हुँदैन
मन्त्री त्रिपाठीले गतवर्ष थुप्रै स्वास्थ्यकर्मीहरुले जोखिम भत्ता नपाएको भन्ने गुनासो आएको भन्दै यसपटक त्यस्तो समस्या नआउने दावी गरे । ‘गत वर्ष पनि मन्त्रालयले पर्याप्त मात्रामै जोखिम भत्ता पठाएको हो । तर अस्पताल तथा स्वास्थ्य संस्थाहरुले त्यसको वितरणमा ध्यान दिएनछन्, जोखिम क्षेत्रमा काम गर्ने र नगर्ने सबैलाई दामासाईलाई वितरण गरेछन् । त्यसले धेरै ठाँउमा समस्या आएको रहेछ । अव त्यो हुँदैन, जोखिममा रहेर काम गर्ने सबै स्वास्थ्यकर्मीले भत्ता पाउछन्,’ उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *