उपचारलाई प्रभावकारी बनाउन ट्रमाले सञ्चालनमा ल्यायो थप चार वटा उपकरण तथा प्रविधि

काठमाडौँ, ३० चैत । बिरामीको उपचार सेवालाई थप प्रभावकारी र व्यवस्थित बनाउन राष्ट्रिय ट्रमा सेन्टरले आफूकहाँ थप उपकरण तथा प्रविधि भित्र्याएको छ । उसले सोमबारबाट थप चार वटा उपकरण तथा प्रविधि सञ्चालनमा ल्याएको जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावत सोमबार सेन्टरमा पुगि हड्डीको अवस्था जाँच गर्ने डेक्सा स्क्यानर, बिरामीका लागि चाहिने लिक्विड अक्सिन प्लान्ट, गम्भीर बिरामीको उद्धार गर्ने आइसीयू सहितको एम्बुलेन्स सेवा र ट्रमा तथा इमरजेन्सी विरामीको विवरण राख्ने रजिष्ट्री फर ट्रमा एण्ड इमरजेन्सी केयर सफ्टवेरको उदघाटन गरेका छन् ।

‘आज उद्घाटन हुँदै गरेका यी सबै उपकरण तथा प्रविधि भनेका आम यस सेन्टरको उपचारलाई प्रभावकारी र व्यवस्थित बनाउने टुल्सहरु हुन्,’ कार्यक्रमको शुरुमै सेन्टरका निर्देशक डा सन्तोष पौडेलले सुनाए ।

उनले ट्रमा सेन्टरमा हाडजोर्नी सम्वन्धी उपचारका लागि धेरै मानिसहरुको आउजाउ हुने र हड्डीको अवस्था हेर्नका लागि डेक्सा स्क्यानर अति आवश्यक हुने भएकोले त्यो सेवा उपलव्ध गराउन लागेको बताए । त्यस्तै उनले आज उदघाटन गरिएको डेक्सा स्क्यानर मसिनले आगामी १ बैशाख सेवा दिने बताए । तर अक्सिजन प्लान्ट, एम्बुलेन्स सेवा सञ्चालनमा आइसकेको छ । ट्रमा रजिष्ट्री कार्यक्रम आगामी १ बैशाख देखि शुरु गर्ने योजना रहेको डा पौडेलको कथन छ ।

कार्यक्रममा प्रमुख अतिथि बनेका स्वास्थ्य राज्यमन्त्री रावतले ट्रमा सेन्टरले आम सर्वसाधारणलाई लक्षित गरि ल्याइएका जुनसुकै कार्यक्रममा मन्त्रालयको साथ रहने बताए । उनले ट्रमा सेन्टरको सेवामा पछिल्ला दिनमा निक्कै सुधार आएको पाएको बताए । आफू मन्त्री बन्न अघि पनि सेन्टरमा आउने गरेको सुनाउँदै सरकारी अस्पतालहरुले नयाँ सेवा सुरु गर्दा दीगोपनाको समेत बिचार गर्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा बोल्दै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका उपकुलपति प्राडा देवनारायण साहले विशिष्टकृत सेवाका लागि ट्रमा सेन्टरले उदाहरणीय काम गरेको बताए । उनले वीर र ट्रमा आम सर्वसाधारणको उपचारका लागि बनेका अस्पताल भन्दै सेवा दिदा त्यसलाई सोचेर अघि बढ्न समेत सुझाव दिए ।

स्वास्थ्य मन्त्रालयका सहसचिव डा जागेश्वर गौतमले ट्रमा सेन्टरले नयाँ नयाँ उपकरण तथा प्रविधि जोडेर सरकारी अस्पताल पनि यस्तो हुनसक्छ भनेर नमूना प्रस्तुत गरेको भन्दै खुशी व्यक्त गरे ।

विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा राजेश सम्भाजीरावो पाण्डवले ट्रमा र आकस्मिक उपचारका लागि आउने विरामीको उपचार सेवामा गुणस्तर बृद्धि गर्ने कार्यमा आफूहरुको सहयोग रहेको बताए । उनले ट्रमाले गरेको काम अन्य अस्पतालमा पनि हुने भन्दै उदाहरणीय बन्न सुझाव दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *