नेपालमा स्वास्थ्य बीमा : पाँच बर्ष पुग्दा ७५ जिल्लामा

काठमाडौँ, २४ चैत । स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको बुधबार (भोलि) पाँच बर्ष पुग्दैछ । भोलि नै सरकारले थप ६ जिल्लामा कार्यक्रम शुरु गर्दैछ । यी जिल्ला समेत जोडिएपछि स्वास्थ्य बीमा कार्यक्रम लागू भएका जिल्लाको संख्या ७५ पुग्नेछ ।

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाका अनुसार पाँचौं बार्षिकोत्सवको अवसरमा बुधबार ताप्लेजुङ, बारा, सर्लाही, दोलखा, मनाङ र मुस्ताङ गरी ६ वटा जिल्लामा एकैपटक यो कार्यक्रम शुभारम्भ गरिनेछ ।

अहिलेसम्म कुल ६९ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू भइसकेको छ । यसपछि अव बीमा कार्यक्रम लागू हुन बाँकी रहेका जिल्ला ललितपुर र काठमाडौँ मात्रै हुनेछन् । ती जिल्लामा पनि यसै आर्थिक बर्ष भित्र कार्यक्रम लागू गर्ने योजनामा आफूहरु लागेको डा बसौलाले सुनाए ।

जिल्ला बढ्यो सहभागीहरु बढेनन्

बोर्डले उपलव्ध गराएको तथ्यांकलाइ मान्ने हो भने अहिलेसम्मको अवधीमा कुल ३७ लाख ४२ हजार ६५६ जना (१२.८४ प्रतिशत) स्वास्थ्य बीमामा आवद्ध छन् । अझ त्यसमा अति गरीव व्यक्ति जसलाई राज्यले निशुल्क रुपमा बीमा गरिदिन्छ, त्यस्ता सातवटा समूह हटाउने हो भने आफै पुरा पैसा तिरेर स्वास्थ्य बीमामा आवद्ध हुनेको संख्या २७ लाख ४० हजार २०० अर्थात ( ९.४० प्रतिशत) मात्रै देखिन्छ ।

यसमा पनि अझ करीब ७० प्रतिशतले वीमा नविकरण नगर्नेहरु हुने बोर्डका कार्यकारी निेर्देशक स्वयं बताउँछन् । यसले यो अवधीमा बीमा देशव्यापी बन्नै लागे पनि सहभागीताको संख्या एकदमै न्युन रहेको पाइएको छ । अहिलेसम्म ६९ जिल्लामा यो कार्यक्रम लागू हुँदा सहभागितादर निकै माथि पुग्नुपर्ने विज्ञहरुको तर्क छ । उनीहरु भन्छन, बीमा कार्यक्रम जिल्ला बढदै गएपनि सहभागिता हुने दर अपेक्षाकृत बढ्न सकेन ।

सेवा प्रयाप्त हुन सकेन ?
सम्भवत आगामी बैशाख भित्रै काठमाडौँ र ललितपुरमा समेत बीमा कार्यक्रम लागू हुनेछ । यी दुई जिल्लामा लागू भयो भने बीमा कार्यक्रम देशव्यापी हुन्छ । तर बीमामा आवद्ध हुनेले अपेक्षा अनुसार सेवा भने अझै पाउन सकेका छैनन् । ‘धेरै समस्या फार्मेसीमा रहेछ । यही काठमाडौँकै बीर अस्पतालमा कुरा गर्ने हो भने पनि सबै औषधि नपाइने गरेको जानकारी आएको छ । यो समस्या देशभरकै हो जस्तो लाग्छ,’ स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा सेनेन्द्रराज उप्रेतीले भने । उनले अहिलेको चुनौती गुणस्तरीय स्वास्थ्य सेवा विमितहरुलाई उपलव्ध गराउनु नै हो भन्छन् ।

कार्यकारी निर्देशक डा बसौलाले कतिपय सेवा प्रदायक संस्थाले सम्झौँता अनुसार सेवा नदिएको गुनासो गरे । ‘हामीसंग सम्झौँता गर्दछन सेवा दिन्छु भनेर तर दिदा रहेनछन् । अव हामीले अनुगमनमा कार्य गर्नुपर्नेछ’ उनले भने।

चार बर्ष देखिका भुक्तानी असारसम्म क्लियर हुन्छ
स्वास्थ्य बीमाको पाँचौ दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा बोर्ड अध्यक्ष डा उप्रेतीले सेवा प्रदायक संस्थाको धेरै रकम रोकिएको बताए । तर उनले आगामी असार मसान्तसम्म अहिलेसम्मका सबै पेमेन्टहरु क्लियर गर्ने प्रतिवद्धता जनाए ।

‘हो सेवा दिए वापतको सोधभर्ना सबैले पाएका छैनन् । अहिलेका मात्रै होइन पहिले देखिकै कतिपयको रकम पेण्डीङ रहेछ तर अब ती सबै क्लियर हुँदैछन् । आगामी असार मसान्त भित्र यो सबै क्लियर गर्नेछौँ,’ उनले भने। उनले सेवा दिएवापत दिनु पर्ने रकम लामो समय रोकेर राख्दा त्यसको असर जनताले पाउने सेवामा हुनसक्ने भन्दै बोर्डका कर्मचारीलाई निर्देशन दिए ।

सरकारले २०७२ चैत २५ मा कैलाली जिल्लाबाट स्वास्थ्य बीमा कार्यक्रम शुरु गरेको हो । त्यसबेला प्रति परिवार ५ जनाको दरले २ हजार ५ सय रुपयाँ तिरेपछि ५० हजार रुपैयाँसम्मको स्वास्थ्य सेवा लिन पाइन्थ्यो ।

अहिले बीमा बापत प्रति परिवार पाँच जनाले ३ हजार ५०० रकम तिर्दा एक लाख रुपैयाँको स्वास्थ्य सेवा लिन सकिन्छ । परिवारमा ५ जना भन्दा बढी सदस्य रहेमा प्रतिव्यक्ति ७ सय रुपैयाँ थप्नुपर्ने र २० हजारको दरले सेवा पनि बढदै जाने र २ लाख सम्मको उपचार सुविधा लिन सकिने नयाँ व्यवस्थामा उल्लेख छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *