स्वास्थ्य सेवा दिवस र आजको सन्दर्भ

– ओमप्रसाद उपाध्याय

‘शरीरमाद्यं खलु धर्मसाधनम् ।।’  उपनिषदमा लेखिएको यो बाक्यको अर्थ हो, शरीरलाई स्वस्थ राख्नु पहिलो धर्म हो । स्वास्थ्य नै सबै भन्दा ठूलो धन हो ।

अनि एक्काईसौं शताब्दीको पहिलो चरणमा आएको पछिल्लो एक बर्ष देखि विश्वलाई आफ्नो नियन्त्रणमा लिएको कोभिड – १९ महामारीले स्वास्थ्यको महत्व कति छ भन्ने झन् प्रष्ट पार्‍यो ।

नेपालमा विसं २०५३ सालमा स्वास्थ्य सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरुको व्यवस्था गर्न बनेको कानून स्वास्थ्य सेवा ऐन प्रमाणित भएको दिन, फागुन १५ लाई स्वास्थ्य सेवा दिवसको रुपमा मनाइन्छ। स्वास्थ्य सेवा ऐनको प्रस्तावनामा भनिएको छ स्वास्थ्य सेवा जनसाधारणको लागि अत्यावश्यक सेवा भएकोले यस सेवालाई बढी सक्षम सुदृढ सेवामूलक र जनउत्तरदायी बनाउन स्वास्थ्य सेवाको गठन सञ्चालन र सेवाको शर्त सम्वन्धी व्यवस्था गर्न बान्छनिय भएकोले भन्ने उल्लेख गरिएको छ ।

यस बर्षको स्वास्थ्य सेवा दिवसको नारा स्वास्थ्यकर्मीको चाहना स्वस्थ नागरिकको कामना भन्ने रहेको छ। नाराको मुल मर्म स्वास्थ्यकर्मीको चाहना नै अर्थात मुख्य ध्यय वा भनौँ मिसन, कर्तब्य नागरिकलाई स्वस्थ बनाउने हुनुपर्दछ भन्ने रहेको देखिन्छ । किनभने देशका नागरिकलाई स्वस्थ नबनाई देश अघि बढ्न पनि सक्दैन ।

विसं ३०५३ सालमा आएको स्वास्थ्य सेवा ऐनले खास गरी नेपाल सरकारको स्वास्थ्य सेवा भित्र रहेका स्वास्थ्य सेवाका कर्मचारीहरुको नियुक्ति देखि अवकाश सम्मको व्यवस्था गर्नलाई बनेको ऐन हो । दफा १ देखि ९२ सम्म अझ ९२ क सम्म रहेको यो ऐनमा स्वास्थ्य सेवाका कर्मचारीहरुको नियुक्ति, बढुवा, स्तर बृद्धि, पदस्थापन बिभागीय कारबाही, बिदा, ट्रेड यूनियन लगायतका कर्मचारी प्रशासनसंग सम्वन्धित कामहरु गर्ने सम्वन्धी सबै व्यवस्था गरिएको छ । यसलाई सहज सरल रुपमा कार्यान्वयन गर्न स्वास्थ्य सेवा नियमावलीको समेत व्यवस्था गरिएको छ ।

नेपालको संविधान २०७२ ले स्वास्थ्य सेवालाई आधारभूत मौलिक हकको रुपमा राखेको छ। नेपालमा यतिवेला तीन तहका सरकार क्रियाशिल छन् । स्थानीय, प्रदेश र संघीय । त्यसैमा स्वास्थ्यका अधिकार पनि विभाजन गरिएका छन् । त्यस्तै स्वास्थ्यलाई साझा अधिकारको रुपमा पनि राखिएको छ ।

संविधानमा भएको व्यवस्था कार्यान्वयन गर्न जनस्वास्थ्य ऐन, जनस्वास्थ्य नियमावली, खोप ऐन र नियमावली, प्रजनन स्वास्थ्य ऐन, स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम पन्ध्रौं पञ्च बर्षीय योजना, दिगो विकास सम्वन्धी कार्य योजना सम्वन्धी बार्षिक बजेट तथा कार्यक्रमको व्यवस्था गरिएको छ। स्वास्थ्य नीति सेवा प्रबाहको मार्ग दर्शन गरेको छ।

नेपालमा स्वास्थ्य सेवा दिवस बिस २०६९ साल देखि मनाउन शुरु गरिएको हो । स्वास्थ्य सेवा दिवसमा बिभिन्न अतिरिक्त कृयाकलाप गर्ने स्वास्थ्य सेवा नियमावलीमा भएको सर्बोत्कृष्ट र उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार बितरण गर्ने गरि मनाइन्थ्यो । गएको बर्ष भने चिकित्सकको आन्दोलन, तत्पश्चात कोभिड लगायत कारणले नमनाएको देखिन्छ। स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्य सेवा दिवसको नारालाई मूर्त रुप दिन तपशीलका कुराहरुमा ध्यान दिन जरुरी छ ।

समायोजन व्यवस्थापन र कर्मचारी व्यवस्थापन :

नेपालको संविधान २०७२ पश्चात तीन तहको सरकारमा कर्मचारी समायोजन गर्न कर्मचारी समायोजन ऐन ल्याईयो । स्वास्थ्य सेवा ऐन अलग भएको लगभग चालिस हजार कर्मचारी स्वास्थ्य सेवाको भएको तिनीहरुको पद दरबन्दी तह कार्य बिबरण बिशिष्ट प्रकारको रहेको बिषयमा त्यति ध्यान दिएको पाइएन ।

निजामती ऐन कै आधारमा छ्यासमिस गोलमटोल तरिकाले फास्टट्रयाक शैलिमा बिश्वमा अरुले नगरेको हामीले शीघ्र सम्पन्न गरेको देखाउन समायोजनको कर्मकान्ड पुरा गरियो। जुन दिन सिंहदरबारमा समायोजन सम्पन्न भएको सार्बजनिक घोषणा हुँदै थियो त्यो दिन स्वास्थ्य सेवाको कर्मचारीको समायोजनको पनि काम भएको थिएन। एकातिर समायोजनको काम थाति रहेको छ । अर्को तर्फ बिश्वमा आएको कोरोनाको महामारीले स्वास्थ्य सेवाका कर्मचारीहरुलाई नेपालको जुनसुकै कुनाबाट जुनसुकै कुनामा पनि यथाशीघ्र परिचालन गर्न पर्ने आवश्यकता देखियो ।

श्रोत साधन आदेश अधिकार निश्चित निकायबाट प्रबाह गरेमात्र जटिल महामारी नियन्त्रण ब्यबस्थापन गर्न सजिलो हुने बिश्वको अनुभवले देखाएको छ । हाल थाती रहेको कर्मचारी समायोजनलाई पद तह कार्य बिबरण अनुसार तत्काल ब्यबस्थापन गर्नु परेको छ भने भावि दिनमा स्वास्थ्य सेवाका कर्मचारीहरुलाई नेपालको जुनसुकै स्थानमा महामारी बिपदको बेला खटाउन काममा लगाउन सक्ने ब्यबस्था मिलाउन नीतिगत व्यवस्था गर्न जरुरी छ।

समायोजन ब्यबस्थापन गर्न हालै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशिका जारी गरि काम शुरु गरेको अवस्था छ तर स्वास्थ्यको समायोजन ब्यबस्थापन गर्न आबश्यक परे मन्त्रिपरिषदको निर्णय कानून संशोधन दरबन्दी पुन संरचना गर्न समेत जरुरी छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रभावकारिता बृद्दि गर्नः

नेपाल सरकारको कार्य बिभाजन नियामावली अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो कार्य सम्पादन गर्दै आइरहेको छ। स्वास्थ्य सेवा ऐन कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य सेवा बिभाग आयुर्बेद तथा बैकल्पिक चिकित्सा बिभाग औषधि ब्यबस्था बिभागले कर्मचारी सञ्चालन निकाय सेन्ट्रल पर्सलन एज्न्सी को काम पनि गरिरहेका छन्।

नियुक्ति अवकाश बढुवा ब्यबस्थापन स्तरबृद्धि, बिदा पूर्व स्विकृति लगायतका कामहरु यथावत छन्। खासगरि स्वास्थ्य सेवा बिभागमा कामको चाप अत्यधिक रहेको छ। बिगत बर्षका स्तरबृद्धिका कामहरु पनि समयमा सम्पादन हुन गाह्रो परेको छ। बिगतमा तत्कालिन क्षेत्रीय स्वास्थ्य निर्देशनालयले गरेका कामहरु पनि हाल स्वास्थ्य सेवा बिभागले गर्नु परेको छ त्यसैले स्वास्थ्य सेवा बिभागमा थप जनशक्ति प्रबिधि बढुवा स्तर बृद्धि लगायतका काममा लागे बाफत कर्मचारीहरुलाई थप प्रोत्सान जरुरी छ। भोलिका दिनमा स्वास्थ्य सेवा ऐन यथाबत रहुन्जेल स्वास्थ्य सेवा बिभागको कामलाई थप प्रभावकारी बनाउन जरुरी छ।

खोप सेवा कर्मचारी ब्यबस्थापन :  नेपालले राष्टिय खोप कार्यक्रममा १२ वटा खोपहरु प्रदान गरिरहेको छ। खोपको माध्यमाबाट बाल मृत्युदर शिशु मृत्युदर मातृ मृत्युदर उल्लेख्य घटेको छ। हाल बिश्वमा आएको महामारिले खोप मात्र रोग बाट बच्ने अमुक अस्त्र देखाएको अवस्था छ। खोप भण्डारण ढुवानी बिशेष प्रकारले गर्नु पर्ने भएकोले नेपालको बर्तमान संरचनामा केन्द्रीय खोप भण्डार, प्रदेश खोप भण्डार, जिल्ला खोप भण्डार, जिल्ला सब स्टोर र खोप सेवा केन्द्रबाट भ्याक्सिन भण्डारण, खोप सेवा प्रदान भैरहेको छ। आगामी दिनमा खोप सेवाका कर्मचारीहरुलाइ एकै निकायबाट नियन्त्रण सुपरिवेक्षण निर्देशन दिने ब्यबस्था गर्न जरुरी देखिन्छ।

स्वास्थ्य सेवाको नियमन नियन्त्रण ब्यबस्थापन :

हाल स्वास्थ्य सेवा प्रवाह सरकारी निकायबाट मात्र होइन निजी सामुदायिक गैरसरकारी सबैतिरबाट भैरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा एनमा भएका कर्मचारीहरुको मात्र नियन्त्रण ब्यबस्थापन गर्दछ। प्रतिष्ठान लगायतका कर्मचारी ब्यबस्थापन प्रत्यक्ष हेर्दैन।

निजी क्षेत्रबाट प्रदान गरिएको स्वास्थ्य सेवाको मूल्य गुनासो सुनवाइ नियमन अनुगमन अहिले पनि कमजोर देखिन्छ । सरकारले प्रवाह गरेको सेवाको पनि मापदण्ड मापन गर्ने प्रभावकारी निकाय बनाएको देखिदैन। आगामी दिनमा सरकारबाट निजी क्षेत्रबाट अन्य निकायबाट प्रदान गरिएको स्वास्थ्य सेवाको नियमन नियन्त्रण गुणस्तर शुल्क निर्धारण गुनासो सुनवाइ क्षतिपूर्ति ब्यबस्थापन लगायतको काम गर्ने ऐन निर्माण संरचना निरमाण गर्न जरुरी छ।

नेपालमा भएका स्वास्थ्यकर्मीहरुको मनोवल बढाउने क्षमता अभिबृद्दि गर्ने भौतिक साधन श्रोत प्रबिधि मैत्रि बनाउने हो भने नागरिलाई स्वास्थ्य सेवा सुलभ सहज प्रदान गर्न सकिन्छ। स्वास्थ्य सेवा दिवसको नारा सार्थक हुन्छ । स्वास्थ्य सेवा दिवसको शुभ कामना ।।

# उपाध्याय स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखामा खोप सुपरपाइजर अधिकृतको रुपमा कार्यरत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *