अग्रिम भुक्तानी दिएर ४ डलरका दरले २० लाख डोज ‘कोभिसिल्ड’ खरीद गर्ने सरकारको निर्णय

काठमाडौँ, ५ फागुन । सरकारले रकम भुक्तानी, बैंक ग्यारेन्टी र धरौटीसम्बन्धी सार्वजनिक खरिद ऐन–२०६३ का व्यवस्था यसपटक लागू नहुने गरी सिरम इन्स्टिच्युट अफ इन्डियाबाट थप २० लाख डोज खोप खरीद गर्ने प्रक्रिया अघि बढाएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले थप खोप ल्याउन खरिद ऐन २०६३को व्यवस्था बाधक देखिने भएपछि त्यसलाई सच्याउने निर्णय गरेको हो ।

उसले प्रतिडोज ४ अमेरिकी डलरका दरमा २० लाख डोज खोप  अग्रिम भुक्तानी गर्ने गरी खरिद प्रक्रिया अगाडि बढाउन स्वास्थ्य सेवा विभागलाई अख्तियारी दिने निर्णय पनि गरेको छ ।

फेब्रुअरीभित्र १० लाख र मार्चभित्र बाँकी १० लाख डोज खोप ल्याउने सरकारको तयारी छ ।

‘खोप खरिदका लागि देखिएका बाधा अडकाउ फुकाउने निर्णय भएको छ,’ स्वास्थ्य मन्त्री त्रिपाठीले भने । यसका लागि उत्पादक कम्पनीलाई खोप खरिदका लागि ८० प्रतिशत अग्रिम भुक्तानी दिने, प्रतीतपत्र (एलसी) खोलेर सामान लोड हुनेबेला बाँकी २० प्रतिशत भुक्तानी दिने, अग्रिम बैंक जमानत गर्नु नपर्ने र धरौटी राख्नु नपर्ने गरी निर्णय गरिएको छ ।

सार्वजनिक खरिद ऐनको दफा (क) मा ‘सार्वजनिक निकायले खरिद सम्झौतापश्चात् आपूर्तिकर्ता, निर्माण व्यवसायी वा सेवा प्रदायकबाट अग्रिम बैंक जमानत लिई खरिद सम्झौता रकमको २० प्रतिशतमा नबढ्ने गरी पेस्की दिन सक्ने’ व्यवस्था छ । तर सिरमले ‘खोपको उत्पादन कम, माग अत्यधिक र सरकारको भुक्तानी प्रक्रिया झन्झटिलो’ लगायतका कारण देखाउँदै शतप्रतिशत अग्रिम भुक्तानीको सर्त राखेको थियो ।

‘बंगलादेशले प्रति डोज ५.६५ डलरमा सिरम कम्पनीबाट किनेर लग्यो । हामीले प्रतिडोज ४ डलरमा काठमाडौँ मै आइपुग्ने गरी सहुलियत मूल्य तय गरेका छौँ । तर कम्पनीले त्यो सहुलियतका लागि केही सर्तहरु अघि सारेको थियो । त्यहि सर्त पुरा गरी खरीद अघि बढाउने बाटो खोलेका हौँ,’ मन्त्री त्रिपाठीले भने ।

उनले सो सम्वन्धी निर्णय आज राजपत्रमा सार्वजनिक गर्ने र खरीद प्रक्रियाका तालिकाहरु सार्वजनिक गर्ने तयारी भएको बताए ।

भारत सरकारले गत ८ माघमा उपलव्ध गराएको १० लाख डोज कोभिसिल्डबाट नेपालमा कोभिडविरुद्धको खोप अभियान शुरु भएको थियो । बुधबारसम्म २ लाख ६३ हजार ४८६ जनाले खोप लिइसकेको खोप शाखा प्रमुख डा झलक गौतम बताउँछन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *