बरिष्ठ चिकित्सक डा. ध्रुब शर्मा मुडभरीको कोरोना संक्रमणबाट निधन

काठमाडौँ, ६ मंसिर । बरिष्ठ चिकित्सक डा ध्रुब शर्मा मुडभरीको कोरोना संक्रमणबाट निधन भएको छ । चावहिलस्थित ओम अस्पतालमा उपचारका क्रममा आज दिउसो उनको निधन भएको हो ।

७८ बर्षीय डा मुडभरीलाई नौ दिन अघि कोरोना संक्रमण देखिएको थियो । सामान्य लक्षण देखिएपछि जाँच गर्दा रिपोर्ट पोजेटिभ आएपछि उनी नौ दिन अघि ओम अस्पतालमा भर्ना भएका थिए । त्यहाँ छ दिन सम्म उपचार गरी अवस्था सुधार भएपछि डिस्चार्ज भई घर गएका थिए ।

तर घरमा उनी बाथरुम जाँदा लडेर गम्भीर घाइते हुन पुगे । उनलाई तीन दिन अघि पुन ओम अस्पताल ल्याईयो । जाँच गर्दा छातीमा रगत जमेको समेत पाइएको थियो । ‘पछिल्लो समय आइसीयूमा राखेर उपचार भइरहेको थियो तर सफल हुनसकेन,’ अस्पतालका मेडिकल डाइरेक्टर डा विश्वनाथ कोइरालाले भने ।

बरिष्ठ कन्सलटेन्ट जनरल सर्जन डा मुडभरी नेपालमा सर्जरी शुरु गर्ने डाक्टरहरुमा पर्दथे । उनी ओम अस्पतालका संस्थापक सञ्चालक तथा सेयरहोल्डर समेत हुन् ।

बरिष्ठ चिकित्सक डा भोला रिजाललले डा मुडभरीको निधनले नेपालको स्वास्थ्य क्षेत्रमा अपुरणीय क्षति पुगेको बताए । उनले भने, ‘उहाँ उपत्यका बाहेक पूर्वी नेपाल र पश्चिम नेपालका विभिन्न ठाँउमा गएर सर्जरी सेवा प्रारम्भ गर्नु भएको छ । सरकारी सेवा गर्नु भयो । ओम अस्पताल स्थापना गर्दा पनि उहाँको महत्वपूर्ण भूमिका थियो । तर आज अकल्पनिय निधनको खबरले स्तव्ध बनाएको छ ।’

अस्पतालका म्यानेजिङ डाइरेक्टर बाबुकाजी कार्कीले डा मुडभरीको निधनले ओम अस्पताल मात्रै नभई देशकै चिकित्सा क्षेत्रका लागि क्षति भएको बताए ।

डा मुडभरीका श्रीमती, दुई छोरी र एक छोरा छन् ।

कोरोना संक्रमणबाट चार दिन अघि मात्रै बरिष्ठ प्याडियाटिक सर्जन नारायणबहादुर थापा र मुटुरोग विशेषज्ञ प्राडा सुनिलचन्द्र झाको निधन भएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *