नारायणी अस्पताल र स्वास्थ्यकर्मीलाई प्रहरीको विशेष सुरक्षा

वीरगञ्ज, २८ साउन । स्थानीय प्रशासनले नारायणी अस्पताल र त्यहाँ कार्यरत चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई विशेष सुरक्षा दिएको छ । गत २५ साउनमा एक समूहले अस्पताल हाता भित्र छिरी आकस्मिक कक्ष र चिकित्सकको गाडी तोडफोड गर्दै मेडिकल सुपरीटेन्डेन माथि नै कालोमोसो दल्ने प्रयास गरेपछि स्थानीय प्रशासनले विशेष सुरक्षा दिएको हो ।

कोभिड – १९ विरुद्ध ज्यानको बाजी थापेर उपचारमा सम्लग्न चिकित्सक तथा स्वास्थयकर्मीमाथि नै आक्रमण गरिएको भन्दै सोही दिन नारायणीका मेसु सहित साढे तीन अल्टिमेटम सहित सांकेतिक रुपमा सामुहिक राजिनामा दिएका थिए । त्यस लगत्तै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था उच्च पारेको हो ।

अस्पतालका मेसु डा मदनकुमार उपाध्यायले अहिले अवस्था सामान्यउन्मुख बन्दै गएको बताए । उनले आफूहरुको सेवा निरन्तर चलेको बताए ।

‘तोडफोड र आक्रमणको प्रयास भएपछि सुरक्षाको कारण देखाउँदै २५ साउनमे सामुहिक राजिनामा दिएको घोषणा गरेका थियौँ । त्यो सांकेतिक विरोध थियो । तर अहिले स्थानीय प्रसाशनले अहिले सुरक्षाको व्यवस्था गरिदिनु भएको छ । अस्पतालमा सुरक्षा छ , खतरा भएका स्वास्थ्यकर्मीलाई पनि सुरक्षाकर्मी उपलव्ध गराइदिनु भएको छ । सामुहिक राजिनामा सुरक्षा नपाएकोमा सांकेतिक विरोध थियो । अब सुरक्षा भएको छ, सांकेतिक विरोध अब जरुरी छैन्। हामी निरन्तर सेवामा छौँ,’ उनले भने ।

उनले अस्पतालको लागि चाहिने थप तथा बैकल्पिक व्यवस्थाका लागि स्वास्थ्य मन्त्रालय विशेष पहल गर्दै गरेको समेत आफूहरुले थाह पाएको बताए ।

अस्पतालका कोभिड – १९ संयोजक डा उदयनारायण सिंहले गत २५ साउनको आक्रमणपछि आफूले यहि अवस्था रहे सेवा दिन नसक्ने भन्दे चेतावनी दिएको र संगसंगै सांकेतिक रुपमा राजिनामा दिएको तर अहिले सुरक्षाको व्यवस्था मिलेको बताए । उनले आफूहरुको राजिनामा सांकेतिक भएको र आफूहरु पूर्ववत रुपमै निरन्तर कोभिड १९ का विरामीको उपचारमा खटिएको बताए ।

साउनको चौथो साताको सुरुवातका दिनमा लगातार बिरामीको मृत्यु भएपछि एउटा समूहले नारायणी अस्पताल, मेसु, र अन्य चिकित्सकमाथि आक्रमण गर्ने प्रयास गरेको थियो । सो समूहले डाक्टरमाथि नै चर्को नाराबाजी गरेको थियो । मेसु डा मदनकुमार उपाध्यायलाई कालोमोसो लगाउन तम्सिएको सो समूहले कोभिड १९ संयोजक डा सिंहको गाडी तोडफोड गरेको थियो ।

नारायणीमा चिकित्सक तथा नर्स गरी ४५ बढी स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि अस्पताल बन्द छ । कोभिडको विरामीहरुलाई नारायणीले नै लिएर सञ्चालन गरेको गण्डक अस्पताल र वीरगञ्ज हेल्थ केयरबाट उपचार भईरहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *