बाराको देवताल गाउँपालिकाका जनप्रतिनिधि सहित ४६ जनामा कोरोना संक्रमण

काठमाडौँ, ५ साउन । बाराको देवताल गाउँपालिकामा वडाध्यक्ष सहित ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा कर्मचारीहरु समेत रहेको बताइएको छ ।
नारायणी अस्पताल वीरगञ्जको प्रयोगशालामा गरिएको नमुना परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए ।
गाउँपालिका अध्यक्षले आफ्नो मातहतका जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्यकर्मीको पीसीआर परीक्षण गराएका हुन् । ७४ जनाको परीक्षण गर्दा ४६ जनामा संक्रमण देखिएको प्रमुख जिल्ला अधिकारी पण्डितले जानकारी दिए। संक्रमित हुनेहरुमा देवताल गाउँपालिकाका ३४, कलैया उपमहानगरपालिकाका ३, सुवर्ण गाउँपालिकाका ३ जना र अन्य ६ जना गरी ४६ जना रहेका छन् ।
संक्रमण पुष्टि भएकाहरुलाई आइसोलेसनमा राख्ने तयारी भइरहेको छ।
संक्रमण देखिएसंगै देवताल गाउँपालिकामा जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।
बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले सूचना जारी गर्दै गाउँपालिकाको कार्यालय र वडा कार्यालयहरुबाट प्रदान हुँदै आएका सबै सेवाहरु अर्को सूचना नहुँदासम्म बन्द गर्न निर्देशन दिएका छन् ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

