आईओएमका डीन प्राडा अग्रवालको कार्यकाल २२ जेठमा सकिदै, नयाँ डिन खोज्न सर्च कमिटि गठन हुँदै

काठमाडौँ, १९ जेठ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन् संस्थान (आईओएम)का डीन प्राडा जगदीश अग्रवालको कार्यकाल तीन दिनपछि अर्थात २२ जेठ देखि सकिदै छ ।

कार्यकाल सकिनै लाग्दा नयाँ डीन को होला भन्ने चर्चा र आँकलन चिकित्साबृत्तमा शुरु भएको छ । पछिल्ला बर्षहरुमा आईओएममा डीनको नियुक्तिसंग प्राडा गोविन्द केसी जोडिईरहेका थिए ।

बरिष्ठताको आधारमा डीन नियुक्ति हुनुपर्ने भन्ने उनको अडान र अनसनले धेरै नियुक्तिहरु धरापमा पर्दै आएका थिए । त्रिवि मात्रै होइन स्वयं सरकार समेत आइओएम र त्यसअन्तरगर्तका निकायमा नियुक्ती गर्नु अघि डा केसीको प्रतिक्रिया के हुन्छ भनेर सोच्ने गर्दथ्यो । तर अहिले उनी आईओएमबाट निबृत्त भएका छन् । त्यसले अवका नियुक्तिमा पदाधिकारीहरुले के गर्दछन् भनेर हेर्न भने बाँकी छ ।

बुधबार सर्च कमिटि गठन हुन्छ :  उपकुलपति प्राडा बास्कोटा
त्रिविका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले आइओएमको डीन नियुक्तिमा विलम्ब नहुने बताएका छन् । उनले २१ जेठ (पर्सी)का लागि कार्यकारीको बैठक डाकिसकेको र त्यसले सर्च कमिटी गठन गर्ने जानकारी दिए । प्राडा बास्कोटाले भने, ‘पर्सी त्रिवि कार्यकारीको बैठक बस्दैछ । त्यसले तीन सदस्यीय सर्च कमिटी गठन गर्नेछ । त्यो कमिटिले दिएको नामहरुबाट सबैभन्दा उपयुक्त ठहरिने व्यक्तिलाई नै डीनमा नियुक्त गरिनेछ ।’

अबको डीन डा केसीले भनेजस्तै बरिष्ठताको आधारमा हुन्छ कि कसरी हुन्छ ? भन्ने प्रश्नमा प्राडा बास्कोटाले भने, ‘डीन नियुक्ति सम्वन्धी व्यवस्था त्रिवि रातो कितावमा प्रष्टसंग लेखिएको छ । हामीले त्यसलाई नै टेकेर प्रक्रिया अघि बढाउने हो । त्यसमा केही कुराहरु हामीले थप्न पनि सकौला जस्तो कि कार्यदक्षता, ट्रयाक रेकर्ड, व्यवस्थापकीय क्षमता, रिसर्च अनुसन्धान तथा बरिष्ठता आदि ।’

प्राडा बास्कोटाले डीन सिफारिस गर्न एक जना प्राध्यापकको नेतृत्वमा तीन सदस्यीय सर्च कमिटी गठन हुने बताए ।

अस्पतालको निर्देशकको पनि कार्यकाल सकिदै
डीनको कार्यकाल सकिएको १७ दिनपछि अर्थात ७ असारमा त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेमकृष्ण खड्गाको पनि कार्यकाल सकिदैछ । त्यसपछि त्यहाँको नेतृत्व कसले पाउँछ भन्नेमा समेत चर्चा चल्न थालेको छ ।

अस्पतालको निर्देशक सिफारिस गर्न आइओएमका डीनको संयोजकत्वमा सर्च कमिटी गठन हुन्छ । पछिल्ला बर्षहरुमा डीनमा जस्तै अस्पतालको निर्देशक को बनाउने भन्नेमा पनि डा केसीको विचार बुझ्ने चलन थियो ।

यसपटक को र कसरी निर्देशक छनौट हुन्छ त्यो भने हेर्न बाँकी छ । आईओएम र अस्पतालको नेतृत्वका लागि यसपटक धेरैले इच्छा व्यक्त गरेको बुझिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *