पाँच लाख जनाको कोरोना परीक्षण गर्ने योजनामा सरकार, थप किट किन्ने प्रक्रिया अघि बढाउँदै

काठमाडौँ, ४ जेठ । अनुदानबाट आएको  किटबाट कोरोना नियन्त्रण हुने भयो भन्दै ढुक्कले बसेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कोरोना संक्रमण र त्यसबाट मृत्यु समेत बढेपछि बल्ल तात्तिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आइतबारको नियमित बैठकमा अवस्था भयावह हुन थालेको भन्दै परीक्षणलाई तिब्रता दिन निर्देशन दिएका छन् । उनले यो महिना भित्र आरडीटी र पीसीआर गरी परीक्षण संख्या पाँच लाख पुरयाउन सम्वन्धित अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

यसअघि मन्त्रालयका अधिकारीहरु करीब दुई लाखको परीक्षण गर्दा कोरोना नियन्त्रणमा आउने विश्वासमा थिए । तर भारतबाट लुकेर छिर्ने र छिरेका अधिकांशका कोरोना पोजेटिभ देखिने अवस्था आएपछि संख्या बढाउने योजनामा पुगेको हो ।

अहिलेसम्म पीसीआर र आरडीटी गरी ९० हजार माथि परीक्षण भएको छ । यो संख्या यो महिना भित्र ५ लाख पु र्‍याउनु पर्छ । त्यसको लागि जे जसरी हुन्छ तयारी थालिहाल्नुस । मन्त्रीले बैठकमा स्वास्थ्य सेवा विभागका महानिर्देशक तथा आयूर्ति महाशाखा प्रमुख लगायतलाई निर्देशन दिएका थिए । यसअघि मन्त्री ढकालले पीसीआर र आरडीटी किटको मौज्दात कति छ ? भनेर सम्वन्धीत अधिकारीहरुलाई सोधेका थिए ।
अधिकारीहरले पीसीआर ३० हजार र आरडीटी २० हजार मात्र बाँकी रहेको बताएका थिए ।

;संक्रमण बढ्दो क्रममा देखियो । अब भारतबाट पनि ठूलो संख्यामा नेपालीहरु भित्र्याउनुपर्ने छ । ती सबैको परीक्षण गर्नका लागि हामीले यो महिना भित्रै अहिलेको परीक्षणलाई पाँच लाख पुर्याउनुपर्छ । त्यसमा २ लाख पीसीआर होला ३ लाख जति आरटीडी होला । त्यसैले किटको व्यवस्थापन मिलाउनुहोला ,’मन्त्रीले बैठकमा निर्देशन दिएका थिए ।

मन्त्री ढकालले जनशक्ति बढाएर भएपनि परीक्षणको दर बढाउनुपर्ने भन्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा रुना झा तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशकलाई दिएका थिए । त्यसअघि मन्त्री ढकालले परीक्षणको अवस्था र दरबारेमा जानकारी लिएका थिए ।

‘पहिलो केशबाट दोस्रो केश देखिन दुई महिना लाग्यो । त्यसपछि झण्डै तीन सय पुग्न दुई महिना लागेन । यो अवधीमा धेरै तयारी गर्न सकिन्थ्यो तर मन्त्रालयले ढुक्कले बस्यो । त्यसको समस्या अब देखिदैछ । त्यसैले मन्त्रिज्यू पनि तात्तिनु भएको छ,’ एक जना स्वास्थ्य अधिकारीले भने ।

व्यवस्थापन महाशाखा प्रमुख भोगेन्द्रराज डोटेलले मन्त्रीको निर्देशन पछि थप एक लाख किट किन्न प्रक्रिया आजै शुरु गरिएको बताए । उनले विश्व बैंकसंग भोलि नै सल्लाहगरी अरु परिमाणमा किट किन्ने प्रक्रिया अघि बढाउने समेत बताए ।

चीनले दिएको ४० हजार पीसीआर किटमा आर एन एक्सट्रयाक्सन भएन
चीन सरकारको अनुदानमा आएको ४० हजार थान पीसीआर किटमा आर एन एक्सट्रयाक्सन नभएपछि प्रयोगमा आएको छैन् । ‘आरएनए छैन् त्यसैले सबै ठाँउको प्रयोगशालामा प्रयोग गर्न मिल्दैन । त्यसैले आरएनए पनि किन्ने प्रक्रियामा छौँ,’ महाशाखा प्रमुख डोटेलले भने ।

उनले विभाग यसअघि खरीद सम्झौँता गरेको थप १५ हजार पीसीआर किट पनि एक दुई दिनमै आउने बताए ।

क्वारेन्टाइन अनुगमन तथा व्यवस्थापनको जिम्मा राज्यमन्त्रीद्धयलाई
यसैबीच उच्चस्तरीय समन्वय समितिले कोरोनाका सम्भावित संक्रमित रहने क्वारेन्टिनको अनुगमन तथा व्यवस्थापन गर्ने जिम्मा स्वास्थ्य राज्यमन्त्री नवराज रावत र शहरी विकास मन्त्री रामविर मानन्धरलाई दिएको छ ।

विभिन्न ठाँउका क्वारेन्टिनको गुणस्तरमा प्रश्न उठेका बेला सरकारले राज्यमन्त्रीद्धयलाई त्यसको अनुगमन तथा व्यवस्थापन गर्ने जिम्मा दिएको हो ।

क्वारेन्टाइनमा रहनेको संख्या बढ्दै जाँदा थप क्वारेन्टाइन कहाँ कसरी बनाउने भन्नेबारेमा आवश्यक निर्णय गर्न समेत मन्त्रीद्धयले अधिकार पाएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *