दुई सय १२ सांसदको कोरोना रिपोर्ट नेगेटिभ, थप ६३ सांसदको थ्रोट स्वाब सङ्कलन
काठमाडौँ, २६ वैशाख । सङ्घीय संसद प्रतिनिधिसभा/राष्ट्रियसभाका सांसद तथा कर्मचारीको कोभिड–१९ को स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले बिहीबार परीक्षण गराएका सबै ४३४ को रिपोर्ट नेगेटिभ आएको जानकारी दिए । ती मध्ये २१२ सांसद र बाँकी संसद् सचिवालयका कर्मचारी थिए । उनीहरु सबैको संसद् भवन नयाँ बानेश्वरमा स्वाब सङ्कलन गरी पिसिआर परीक्षण गरिएको थियो ।
आजदेखि सङ्घीय संसद्को बजेट अधिवेशन शुरु हुँदैछ । कोरोनोको जोखिम हुन नदिन सांसद र कर्मचारीको अनिवार्य पिसिआर परीक्षण गरिएको थियो ।
महाशाखा निर्देशक डा पाण्डेका अनुसार बिहीबार परीक्षण नभएका सांसदको आज पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ ।
थप ६३ सांसदको थ्रोट स्वाब सङ्कलन
सङ्घीय संसद्को छैटौँ अधिवेशन आजदेखि शुरु हुने भएपछि बिहीबार र शुक्रबार गरी कूल २७५ सांसदको ‘थ्रोट स्वाब’ को नमूना सङ्कलन गरिएको छ ।
सांसद तथा कर्मचारीमा कोभिड–१९ भए/नभएको निक्र्योल गर्न बिहीबार प्रतिनिधिसभाका १७९ राष्ट्रियसभाका ३३ गरी २१२ सांसद र २२९ सङ्घीय संसद् सचिवालयका कर्मचारी तथा मर्यादापालकको स्वाब सङ्कलन गरिएको थियो ।
आज नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा प्रतिनिधिसभाका ५३ र राष्ट्रियसभाका १० गरी थप ६३ सांसदको स्वाबको नमूना सङ्कलन गरिएको सभामुख अग्निप्रसाद सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए। सङ्घीय संसद्को छैटौँ अधिवेशन आज अपराह्न ४ बजे बस्दैछ । कोभिड–१९को परीक्षणका लागि ५४ सांसदको स्वाबको नमूना लिन अझै बाँकी रहेको छ । प्रतिनिधिसभामा २७५ र राष्ट्रियसभामा ५८ सांसद छन् । रासस
सम्पर्क इमेल : [email protected]