कोरोनाविरुद्धको विश्वयुद्ध र हामी अग्रमोर्चाका सिपाही

कोरोना भाइरस अर्थात कोविड – १९ बाट अहिले विश्व त्रहिमान भएको छ । चीनको वुहानबाट शुरु भएको यो भाइरस अहिले संसारभर फैलिएको छ । संक्रमण सम्पूर्ण मानव जगतलाई नै संकटमा पार्ने हो जस्तो गरी अघि बढेको छ ।

अहिलेसम्म यो भाइरसको उपचारमा प्रयोग हुने औषधि बनेको छैन् । विश्वका सयौँ स्वास्थ्य बैज्ञानिकहरु अनुसन्धानमा जुटेका छन् । ७० भन्दा बढी खोपको विकास गर्ने प्रयास भइरहेको छ । तीनवटा खोप क्लिनिकल ट्रायलमा गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । आशा गरौँ खोपको आविश्कार छिटै हुनेछ र हामी सुरक्षित हुनेछौँ ।

यो रोग पहिले फैलिएका ठूला महामारी भन्दा कम देखिदैन् । अहिलेविज्ञानको विकास र चेतनाले केही न्युनिकरण भएको हो । संक्रमण भएपनि ८० प्रतिशतमा लक्षण देखिदैन । खास गरी रोगसंग लड्ने प्रतिरोधी क्षमता कमजोर भएका दीर्घ रोगी, जेष्ठ नागरिक गर्भवतीहरुलाई निकै समस्या हुन्छ । अहिले यसको रोकथामको लागि सबैभन्दा उत्तम उपाय भनेको सामाजिक दूरी कायम गर्नु हो । यस भन्दा अरु प्रभावकारी उपाय देखिएको छैन ।

नेपालको सन्दर्भ :

नेपालमा आजको दिनसम्म ३१ जनामा कोरोनाको संक्रमण देखिएको छ । तर तीमध्ये ४ जना उपचार पछि घर फर्केका छन् । अहिले अस्पतालका आइसोलेसनमा २६ जना निको हुने पर्खाईमा बसिरहेका छन् ।

चीनको वुहानमा संक्रमण फैलिएको केही दिनमै नेपालमा पहिलो केश भेटिएको थियो । तर दोस्रो केश भेटिन केही महिना लाग्यो । त्यसपछिका ३१ केश आइपुग्न महिना दिन लागेन ।

संक्रमितहरु खासगरी युरोप, मध्यपूर्व र छिमेकी मुलुक भारतबाट आएकाहरु छन् । एक जना भने बाहिरबाट आएका संक्रमित व्यक्तिको परिवारको सदस्यमा देखिएको छ । यसले संक्रमणको चरण समेत दोस्रो अवस्थामा पुरयाएको छ ।

कोरोना संक्रमणले तिव्रता लिएसंगै विश्वका अधिकांश देशहरुले अन्तिम अस्त्रको रुपमा देशलाई लकडाउनमा राखेका छन् । परीक्षणलाई तिब्रता बनाएका छन् । नेपालले पनि गत ११ चैत देखि यहि अस्त्र प्रयोग गरेको छ । परीक्षण दरलाई पनि बढाएको छ । पीसीआर र आरडीटी विधिबाट परीक्षणलाई व्यापक गरिएको छ ।

स्वास्थ्यकर्मी र तिनको सुरक्षा : 
बिरामीको उपचार गरिने ठाँउ अस्पताल हो । संक्रमित बिरामीलाई राखिने ठाँउ पनि अस्पताल नै हो । त्यसैले त्यो अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मी र कर्मचारीहरु सधै जोखिममा हुन्छन् ।

कोरोनाको यो महामारीबाट विश्वका विभिन्न देशका अस्पतालमा काम गर्ने थुप्रै स्वास्थ्यकर्मी र कर्मचारीहरु संक्रमणमा परेका र ज्यान गुमाएका हामीले सुनेका छौँ । अनि नेपालमा पनि संक्रमण बढ्दै जाँदा हामी स्वास्थ्यकर्मीहरु उच्च जोखिममा छौँ ।

हामी स्वास्थ्यकर्मीसंग पनि परिवार छ, मन छ, भावना छ, अनि कर्तब्यप्रतिको निष्ठा पनि उच्च छ। अहिले स्वास्थ्यकर्मीकर्मीले आफ्नो मन, माया, व्यक्तिगत भावना दवाएर आफ्नो कर्तब्यमा अगाडि बढेका छन् । स्वस्थ्यकर्मीका पनि आफ्नै समस्या छन् तर हामीलाई सरकार आमनागरिक समुदायकको मायाले हामीलाई निकै हिम्मत र हौसला दिएको छ । तर पनि केहि मानवीय कुराले कहिलेकाही अत्याउँछ ।

हामी यो महामारीविरुद्धको अग्रामोर्चाको सिपाही हौँ । हाम्रो काँधमा सिंगो मानवको भविस्य छ । र युद्ध हामीले जित्नै पर्छ । यो सम्झेर हामी उच्च मनोवलका साथ युद्ध मैदानमा होमिएका छौँ । मोर्चा सम्हालेका छौँ । हामी स्वास्थ्यकर्मीले यो युद्ध जित्नका लागि आफ्ना कति भावनात्मक कुरा, परिवार र सन्तानका सुख समेत त्यागेका छन् ।

आफ्ना दुधे बालक छाडेर डिउटी जाने आमा स्वास्थ्यकर्मीहरुको पीडा कम छैन । कतिपय स्वास्थ्यकर्मी सेल्फ क्वारेन्टीनमा बसेको धेरै दिन हुन् लाग्यो । जव डिउटी सिध्याएर घर आइन्छ तब त्यो बच्चालाई काखमा लिएर खेलाउन कसलाई मन हुँदैन ? तर त्यो बच्चा न हामी लिन सक्छौँ न छातीमा च्याप्न सक्छौँ । किनकी हामी सेल्फ क्वारेन्टिनमा छौँ ।

जब रात पर्छ अनि बच्चा आमालाई खोज्दछ । त्यो बेला कस्तो हुन्छ ? एउटा कोठामा आमा स्वास्थ्यकर्मी निदाउन सकिरहेकी हुँदिनन् अर्को कोठामा दुधे बालक आमा खोच्दै चिच्याई चिच्याई रोई रहेको हुन्छ । यस्तो बेलामा ती आमालाई कस्तो होला ? कोरोना विरुद्ध खटिएका आमा सवस्थ्यकर्मीले आफ्नो शिशुलाई आफ्नो दुध चुसाउन पाइरहेका छैनन् । बोतलको दुध खुवाउनु पर्ने बाध्यता छ । तर पनि ती आमाहरु उच्च आत्मवलका साथ खटिएका छन् । भन्छन्, सन्तानले ठूलो भएपछि हाम्रो योगदान सम्झन्छ र गर्व गर्नेछ ।

अहिले कोरोना विरुद्धको अभियानमा लागेका स्वास्थ्यकर्मीहरु ८० बर्ष नाघेका आफ्नो विरामीको बुबाको नजिक जान सकिदैन् । जब बिरामीको बृद्ध बुबाले छोरा छोरी खोज्नु हुन्छ त्यो बेला कस्तो पीडा हुन्छ ? हामी मनन् गरौँ त । तर पनि केही छैन, हामी त संसार जित्ने अभियानको सिपाई बनेर अग्र मोर्चामा अविचलित भएर लागिरहेका छौँ । अरू समस्या त छँदैछन्, आम नागरिकलाई जस्तै लकडाउनको समस्या त छँदैछ ।

आम नागरिकलाई अनुरोध : 
सरकारले अहिले गरेको लकडाउनले हामीलाई गाह्रो अवश्य बनाएको छ । तर हामी बिश्वयुद्धमा छौँ । युद्धको समय निकै कठिन हुन्छ । मानव जातिको अस्तित्व नै संकटमा पर्ने गरी आएको यो बेलामा भावनात्मक भएर होइन यथार्थमा आएर यसको पालना गर्नु पर्ने हुन्छ । यो संकटको घडीमा हामी एक जुट हुनु जरूरी छ । हामी सबैले कसरी लकडाउन सफल बनाउने भनेर लागौँ ।

गरीब श्रमिक मजदूरहरुलाई सहयोग गरौँ । उनीहरुलाई समस्या छ भने सम्बन्धित निकायमा हामीले समन्वय गरेर भएपनि उनीहरुको व्यवस्थापन गरौँ । यस्तो गर्दा लकडाउन सफल हुन्छ।

हामी पनि बाहिर ननिस्कौँ, हामी घरमा बस्दा यो रोगलाई जित्न सकिन्छ । सामाजिक दूरी (१मीटर) को दूरीलाई अनिवार्य पालना गरौँ । यसमा कसैले सम्झौँता नगरौँ । एक मीटर दूरी कायम गर्नै पर्छ । विकल्प केही छैन । त्यसबाहेक धेरै भन्दा धेरै साबुन पानीले हात धुने गरौँ । नाक मुख तथा अनुहारमा सकेसम्म हात लैजाने बानि हटाउँ । मास्कको प्रयोग गरौँ ।

अन्यमा,  एक स्वास्थ्यकर्मीको नाताले पुन अनुरोध गर्न चाहन्छु, तपाईँहरु घरभित्र बसेर लकडाउनको पालना गर्नुहोस् । हामी स्वास्थ्यकर्मी युद्धको मैदानमा डटने छौँ । लकडाउनको उल्लंघनले हाम्रो युद्धलाई फितलो बनाउन सक्छ अनि भाइरसले महामारीको रूप लिन सक्छ । यस्तो हुने अवस्था आउन नदिऔँ । हामी सुरक्षित रहौँ ।

# तिवारी राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालका केन्द्रीय सचिव हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *