नवजात शिशुको शल्यक्रिया र कान्ति बाल अस्पताल

- नेपाली हेल्थ

नवजात शिशुको शल्यक्रिया :
नवजात शिशुको शल्यक्रिया भन्नाले जन्मदेखि २८ दिन सम्मका नवजात शिशुहरुमा गरिने शल्यक्रियालाई जनाउँछ । जन्मजात नै देखिने विभिन्न किसिमका रोगहरु र जन्मपछि देखा पर्ने केही समस्याहरुमा गरिने शल्यक्रिया यसमा पर्दछन् ।

यो शल्यक्रिया देशकै एक मात्र सरकारी स्तरको केन्द्रीय बाल अस्पताल कान्तिमा विगत ४० बर्ष देखि हुँदै आईरहेको छ ।  विगतको तुलनामा यस अस्पतालले नवजात शिशुको शल्यक्रियामा उल्लेखनीय प्रगति हालिस गरेको तथ्यांक केलाएर हेर्दा प्रष्ट हुन्छ ।

यसको मुख्य श्रेय यस कार्यमा सम्लग्न विगत देखि अहिलेसम्मका बाल सर्जन, एनेस्थेसिया, नर्सिङ स्टाफ र सम्पूर्ण कर्मचारीहरुलाई जान्छ ।

कान्ति बाल अस्पतालमा नवजात शिशुको उपचार गर्न यस्ता सेवा उपलब्ध छन् :
कान्ति बाल अस्पतालमा नवजात शिशुमा देखिने निम्न खालका स्वास्थ्य समस्यालाई लिएर सर्जरीका लागि अभिभावकहरु आउने गर्दछन् ।

१.          मलद्धार  नभएको  (Anorectal Malformation-ARM)

२.        ठूलो आन्द्रामा नशा नभएको  (Hirschsprungs Disease )

३.         खानाको नली, सानो आन्द्रा र ठूलो आन्द्रा नबनेको वा बीचमा टुटन गएको (Intestinal Atresia)

४.       आन्द्रा बटारिएको  (Malrotation )

५.         नाइटोबाट वा नाइटो छेउको प्वालबाट आन्द्रा पेट बाहिर निस्केको  (Gastrochisis Omphalocele)

६.           आन्द्रा वा आमासयमा प्वाल परेको  (Intestinal, Gastric Perforation)

७.         मुत्र थैली पेटबाहिर देखिने  (Bladder exstrophy )

८.        मिर्गौला र यौनांग सम्वन्धी विभिन्न समस्या  (Genitourinary Problem)

९.     मुत्र नलीमा जालो भई पिसाव फेर्न गाह्रो हुने  (Posterior Urethral Valves)

माथि उल्लेखित मुख देखि मलद्धारसम्म विभिन्न किसिमका समस्या भएका शिशुहरुमा पेट फुल्दै जाने, दिशा नहुने, पहेलो बान्ता गर्ने, दुध खान नसक्ने जस्ता लक्षणहरु जन्मेको केही घण्टा वा दिनदेखि शुरु हुन्छ ।

कान्ति बाल अस्पतालको तथ्यांक यस्तो छ :
विगत दुई बर्षको तथ्यांक हेर्दा कान्ति बाल अस्पतालमा कुल २९० जना नवजात शिशुको शल्यक्रिया भएको देखिन्छ । यी मध्ये ९५ प्रतिशत शिशुहरुमा मुख देखि मलद्धारसम्मको समस्या र मात्रै ५ प्रतिशतमा मिर्गौला क्यान्सर र अन्य रोगको समस्या भएको पाइएको छ ।

दुई दशक अघिसम्म यस्ता शिशुहरुको मृत्युदर ६० प्रतिशत भन्दा बढी भएको हाम्रा अग्रजहरुले बताउने गर्नुहुन्छ । अहिले उपचार पद्धतीमा सुधार र स्वास्थ्य सेवाको पहुँचमा धेरै नै विकास भईसकेको भएतापनि यस्ता शिशुहरुको मृत्युदर आज पनि २२ प्रतिशतबाट तल झार्न सकेको छैन । यो कुरा तथ्यांकबाट पुष्टि भएको छ ।

तर, यति भन्दै गर्दा अन्य विकासोन्मुख देशसंग तुलना गर्ने हो भने नेपालको यो नतिजा भने राम्रो हो । विकशीत देशसंग तुलना गर्दा भने स्थिति भयावह देखिन्छ ।

शिशु मृत्युदर किन यति उच्च ? 

हाम्रो परिप्रेक्ष्यमा मृत्युदर यति उच्च हुनुका पछाडी धेरै कारण छन् । त्यसमध्ये मुख्य रुपमा यस्ता शिशुहरु जन्मँदाको उमेर  (Gestational Age, GA)  र जन्मदाको तौल  (Birth Weight, BW) हुन् । GA र BW जति कम भयो यस्ता शिशुहरुमा विभिन्न अंगको अरु समस्यासंगै देखिने हुनाले यिनको शल्यक्रियामा थप जटिलता उत्पन्न हुन्छ । र यसले गर्दा मृत्युदर समेत बढाउँछ ।

यस्ता संगै देखिने समस्यामा मुख्य गरी मुटुका र मिर्गौलाका समस्याहरु पर्दछन् ।

धेरै जसो नवजात शिशुहरुको समस्या आमाको पेटमा छँदै हुने हुनाले जन्मनु भन्दा अगाडी गरिने भिडियो एक्सरेबाट पनि धेरै जसो यस्ता समस्याहरुको पहिचान पहिले नै गर्न सकिन्छ । तर पनि हाम्रो जस्तो देशमा यस्तो सुविधा सजिलै सबै ठाँउमा प्राप्त नहुनाले धेरै जसो शिशुहरुको जन्मेपछि मात्र यस्ता समस्याहरु लिएर हामीकहाँ आईपुग्छन । कतिपयमा उपचार नपाई, कतिपय रोगको पहिचान हुन नपाउँदै यस्ता शिशुहरुको मृत्यु हुने गर्दछ ।

धेरै जसो यस्ता शिशुहरु हामीकहाँ आईपुग्दा यिनिहरुको औषत उमेर कम्तिमा पनि ४ / ५ दिन भईसकेको देखिन्छ । यसरी रोगको पहिचानमा हुने ढिलाई र पहिचान पछि हुने उपचारको ढिलाईले यी शिशुहरुको समस्यामा थप जटिलता पैदा हुन जान्छ । जसले गर्दा उपचार भईहालेमा पनि ढिलाईले गर्दा यिनको ज्यान जान्छ ।

अर्को मुख्य कारण भनेको यस्ता शिशुहरुमा देखिने सर्जिकल समस्याका लक्षणबारे परिवार र उपचारमा सम्लग्न हुने चिकित्सक वा स्वास्थ्यकर्मीलाई उचित जानकारी नहुनु पनि भएको देखिन्छ । यसका साथै शिशुको उपचारमा ढिलाई हुने अन्य कारण पनि छन् ।

जस्तै: नवजात शिशुको स्याहार सम्वन्धी चेतनाको कमी, स्वास्थ्य संस्था सम्मको पहुँच, नवजात शिशु हेर्ने स्वास्थ्यकर्मीको कमी, पारिवारिक आर्थिक अवस्था, यथेष्ट संख्यामा एनआईसीयूको कमी र देशको कठिन भौगोलिक अवस्था आदि हुन् ।

माथि उल्लेखित कारणहरु जे भएता पनि यदि यस्ता शिशुहरुको रोगको समयमै पहिचान र समयमै उचित उपचार हुने हो भने यस्ता शिशुहरुको मृत्युदर अझ धेरै घटाउन सकिने थियो ।

विशेषगरी बालरोग विशेषज्ञहरु यी शिशुहरुको सम्पर्कमा सबैभन्दा पहिले आउने हुनाले समयमै बाल सर्जनहरुसंग उचित परामर्श लिई समयमै उपचार गर्न सकियो भने पनि शिशु मृत्युदर घटने थियो । यसको साथै ग्रामिण स्वास्थ्य कार्यकर्ता तथा अन्य स्वाथ्यकर्मीलाई नवजात शिशुहरुमा देखिने सर्जिकल समस्याका लक्षणहरु र रोगहरु बारे शिक्षा दिन सकेमा र यस्तो अवस्थामा कस्तो प्राथमिक उपचार गर्ने र कुन ठाउँमा रेफर गर्ने भन्ने कुरा सिकाइएमा अझ बढी यस्ता शिशुहरुको ज्यान बचाउन सकिने थियो ।

कान्ति बाल अस्पताल देशको एक मात्र केन्द्रीय बाल अस्पताल भएकोले देशभरबाट रेफर भई आउने यस्ता शिशुहरुको चाप अहिलेको भौतिक संरचना र हाल यहाँ उपलव्ध जनशक्तिबाट सम्भव देखिदैन । हाल यस्ता नवजात शिशुहरुको उपचारको लागि यहाँ मात्र आठ शैय्याको सर्जिकल आईसीयू सञ्चालनमा छ । यसले देशभरबाट आउने शिशुहरुको चाप धान्न सक्ने अवस्था छैन ।

कहिलेकाँही अस्पतालको इमरजेन्सी वार्डमा आइसकेका शिशुहरुले एसआईसीयूमा शैय्या नपाउँदा र शिशुहरुको पारिवारिक आर्थिक अवस्था कमजोर हुँनाले वाहिरका निजी अस्पतालहरुमा जान नसक्नाले यस्ता कतिपय शिशु शैय्याका लागि कुर्दा कुर्दै आकस्मिक कक्षमै मृत्यु हुने गरेको तितो अनुभव हामीले भोग्नु परेको छ ।

निजी क्षेत्रको प्रयास र मेडिकल कलेजहरले पनि नवजात शिशुहरु लगायत बाल सर्जरीको महत्व र विरामीको बढदै गएको चापलाई ध्यान दिएर बाल सर्जन राखेर नवजात शिशुहरुको शल्यक्रिया गर्न शुरु गरेका छन् ।

तर पनि जटिल किसिमका शिशुहरुको उपचार अझै पनि ती अस्पताल तथा मेडिकल कलेजले गर्न सक्ने अवस्था बनिसकेको छैन । साथै जन्मजात देखिने यस्ता समस्या प्राय गरी आर्थिक रुपमा विपन्न परिवारमा देखिने हुँनाले तिनको पहुँच र हैसियत यी निजी अस्पतालमा उपचार गर्न सक्ने स्थिति छैन ।

देश अब संघीयतामा गईसकेकाले कम्तिमा पनि हरेक प्रदेशमा एक एकवटा सुविधा सम्पन्न बाल अस्पताल बनाउन आवश्यक रहेको छ । यसका साथै कान्ति बाल अस्पताललाई अहिलेको स्थितिमा थप सुधार र स्तरोन्नती गर्न पनि आवश्यक छ ।

# चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका सहप्राध्याक डा. थापा बरिष्ठ बाल शल्यचित्सकको रुपमा कान्ति बाल अस्पतालमा कार्यरत छन् ।

थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *