औषधि व्यवस्था विभागका कर्मचारीलाई सचिवको निर्देशन : ‘जिम्मेवारी सम्झेर काम गर्नुस्’

काठमाडौँ, २४ माघ । स्वास्थ्य सचिव खगराज बरालले आफ्नो जिम्मेवारी र दायित्व सम्झेर काममा अघि बढ्न औषधि व्यवस्था विभागका कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

विहीबार औषधि व्यवस्था विभागको प्रथम चौमासिक समिक्षा कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा सचिव बरालले यसतो निर्देशन दिएका हुन् ।
‘समिक्षा कार्यक्रमकै समिक्षा गर्नुपर्ने देखियो, यो बास्तवमै कर्मकाण्डी जस्तो भयो । विभागमा गफ बढी हुने काम कम हुने अवस्था देखिएको छ । यसलाई आगामी दिनमा सच्याउनै पर्ने देखिन्छ,’ सचिव बराल भने । उनले औषधिको अनियमितता रोक्ने कार्य, औषधि पसलमा फार्मासिस्ट राख्ने कार्यको कडाईका साथ लागू हुनुपर्ने बताए ।

विभागका महानिर्देशक नारायणप्रसाद ढकालले समिक्षामा अहिले देखिएका कमजोरी आगामी समिक्षामा हटाउने प्रतिवद्धता व्यक्त गरे । उनले सबै कर्मचारीले आत्मसमिक्षा गर्दै प्रतिफल आउने गरी काम गर्न आफ्ना मातहतका कर्मचारीलाई निर्देशन दिए । उनले स्वदेशका औषधि उद्योगी व्यवसायीका गुनासाहरु प्रति विभाग गम्भीर भएको भन्दै हातेमालो गरेरै अघि बढने बताए । उनले स्वदेशी उद्योगीलाई बढावा दिने सरकारको लक्ष्य रहेको तर आयातलाई निशेष गर्ने नीति लिइनसकेको स्पष्ट पारे । उनले विभागले औषधिको मूल्य निर्धारण कार्यविधि पास गरेर स्वचालित र पारदर्शी बनाउन लागिएको बताए ।

नेपाल औषधि उत्पादक संघका महासचिव विप्लव अधिकारीले स्वदेशी उद्योगलाई प्रवद्धर्न गर्ने सरकारको नीति रहेको बताइए पनि उद्योगीहरुले त्यसको आभास नपाएको बताए । ‘औषधि ऐन संसोधन गरिने भनिएको थियो । अहिलेसम्म हुन सकेको छैन् । मूल्य निर्धारण कार्यविधि पनि टुंगोमा पुगेको छैन् । यसरी त के सुधारको अपेक्षा गर्ने ?,’ प्रतिप्रश्न गर्दै अधिकारीले भने ।

नेपाल औषधि आयात कर्ता संघका महासचिव पवन आचार्यले औषधिको क्षेत्रमा निर्मम तरिकाले समिक्षा गर्नुपर्ने भन्दै गतल कार्यलाई निरुत्साहित गर्न आफ्नो संगठनको सधै साथ रहने बताए । नेपालमा दर्ता नभएको औषधि ल्याउने झोलेहरुको विगविगी रहेको भन्दै उनले त्यसतर्फ विभागको ध्यान जानुपर्ने बताए ।

नेपाल औषधि व्यवसायी संघका महासचिव रामचन्द्र शर्माले फार्मेसीलाई व्यवस्थित गर्न विभागलाई आग्रह गरेका छन्। दर्ता प्रक्रिया देखि नै नियमन हुनुपर्ने र निर्देशिका बनाउनुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा बरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले प्रथम चौमासिक प्रगति विवरण प्रस्तुत गरेका थिए ।

नेपालमा करीब २३ हजार फार्मेसी पसल, ६३ वटा एलोपेथिक औषधि उद्योग, ७८ वटा आयुर्वेदिक औषधि उद्योग सञ्चालनमा छन् । एलोपेथिक र आयुर्वेदिक गरी ३७५ वटा विदेशी औषधि उद्योगले समेत नेपालमा औषधि वितरण गर्न विभागमा दर्ता भएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *