ओढ्ने ओछ्याउने बोकेर स्वास्थ्य सेवा लिन आउनेक्रम जारी

नारायण न्यौपाने

 महोत्तरी, ४ पुस । बृहत् निःशुुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण गराउन बिरामी जाडोमा ओढ्ने ओछ्याउने बोकेर आउनेक्रम जारी रहेको छ ।

स्थानीय सोनमा गाउँपालिका–३ मा सञ्चालित  शिविरबाट एक हप्तामा १६ हजारभन्दा बढी बिरामीले सेवा लिएका छन् । महोत्तरी लगायत सर्लाही, सिन्धुली, धनुुषा र सिरहादेखि यहाँ बिरामी आउनेक्रम रोकिएको छैन ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाली सेनाद्वारा संयुक्तरुपमा यहाँ सञ्चालित शिविरमा स्वास्थ्य सेवा प्राप्त गर्न पहुुँच कम भएका  स्थानीयबासीका लागि बरदान सावित भएको छ ।

खखना माध्यामिक विद्यालयमा मङ्सिर २७ देखि शिविर सञ्चालित हुँदै आएको छ । हालसम्म १६ हजार ७४७ बिरामीलाई सामान्य उपचार सेवादेखि ठूलाखाले शल्यक्रियासम्मको उपचार सेवा प्रदान गरिएको सहायक रथी डा देवेन्द्रबहादुर खत्रीले जानकारी दिए ।

उनका अनुसार शिविरमा उपचार गर्न आउनुभएका बिरामीमध्ये २४३ जनाको सफल शल्यक्रिया गरिएको छ । शिविरमा दैनिक तीन हजारको सङ्ख्यामा उपचारका लागि अझै बिरामी आउनेक्रम जारी छ ।   शिविरबाट हालसम्म नौ हजार ५४३ महिला र सात हजार १५४ पुरुष बिरामी उपचार पाएका डा खत्रीले जानकारी दिए ।

यहीपुस ५ गतेसम्म शिविर सञ्चालन हुने कार्यक्रम बनाइएको छ ।  स्थानीयको मागमा शिविर एक दिन थप गर्ने सम्भावना रहेको बताइएको छ । उपचारका लागि शिविरमा तीन हजार बिरामीले अग्रिम नाम दर्ता गराइसकेका छन् । जँचाउन आएकी स्थानीय ६२ वर्षीया काशीकुमारी देवीको  पाठेघरबाट पाँच किलो तौलको ट्युमर समेत निकालिएको छ ।

नवजात शिशुदेखि ९० वर्षसम्मका वयोवृद्धले चिकित्सकबाट सेवा लिएका छन् । शिविरमा स्वास्थ्य परीक्षण गराउन आउने बिरामीको चाप जारी रहेको शिविर व्यवस्थापन समितिका प्रवक्ता अशोककुुमार यादवले जानकारी दिए ।

स्वास्थ्य परीक्षण गर्न आउने पुुरुषमा हर्निया, हाइड्रोसिल र पित्त थैलीको पत्थरीको समस्या देखिएको छ ।  महिलामा पाठेघर खस्ने समस्या बढी देखिएको सेनानी डा मनिष थापाले जानकारी दिए ।

शिविरमा प्रसूूति, बालरोग, दाँत, आकस्मिक सेवा, छाला, नाक, कान, घाँटी, छातीका साथै रेडियोलोजी, प्याथोलोजी, इको, इसिजी सेवा उपलब्ध छ  । शिविरमा खटिएका स्वास्थ्यकर्मीको टोलीले सुन्दरपुर विद्यालयका विद्यार्थीलाई जुकाको औषधि खुवाउनुका साथै त्यस क्षेत्रका मुसहर र डोमबस्तीमा लामखुट्टे हटाउने औषधिसमेत छर्केका थियो ।

यसैबीच, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले संविधानको मौलिक हकमा लेखिएका स्वास्थ्य र शिक्षालगायतका विषय कार्यान्वयन गर्नु तीन तहका सरकारको कर्तव्य हुनाले त्यस कार्यमा लाग्नुपर्छ भने ।

शिविर निरीक्षण गर्न आउनेक्रममा सञ्चारकर्मीसंगको कुराकानीमा उनले भने, “सरकारको नीति तथा कार्यक्रममा हरेक तहकमा एउटा स्वास्थ्य चौकी राख्ने व्यवस्था गरिएको छ ।  स्थानीय तहले त्यसको कार्यान्वयका लागि लाग्नुपर्छ ।  नेपाली सेनाले बेलाबेलामा ठाउँ विशेषमा अभियानका रुपमा शिविर सञ्चालन गरेर त्यसमार्फत जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने काम गरेको हो ।”   रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *