परिवार कल्याण महाशाखाद्धारा खोपको अवस्था र अभियानबारे संसदीय समितिलाई जानकारी
काठमाडौँ, २९ मंसिर । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले नेपालमा खोपको अवस्था र अभियानबारे संसदीय समितिलाई जानकारी गराएको छ । आइतबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा महाशाखाबाट सहभागी पदाधिकारीहरुले खोपको अवस्था र अभियानबारे जानकारी गराएका हुन् ।
‘अहिलेसम्म ७८ प्रतिशत बालबालिका पूर्ण खोप पाएका छन् । २१ प्रतिशतले आंशिक र १ प्रतिशतले कुनै पनि खोप पाउन सकेका छैनन्,’ संसदीय समितिलाई खोपको अवस्था बारेमा जानकारी गराउने क्रममा परिवार परिवार कल्याण महाशाखाका निर्देशक डा भिमसिंह तिंकरीले भने । उनले देश संघीय संरचनामा गईसकेको अवस्थामा खोप सम्वन्धी ऐन र व्यवस्थापमा समेत केही परिवर्तन गर्न आवश्यक भएको भन्दै संसदीय समितिको ध्यानाकर्षण गराएका थिए ।
महाशाखाकै खोप शाखा प्रमुख डा झलक गौतमलले आगामी फागुन र चैत महिनामा शुरु गर्न लागेको दादुरा रुवेला अभियानको विस्तृत योजना सुनाएका थिए । उनले सन् २०१९ मा दादुरा रुवेला निवारण गर्ने लक्ष्य सफल नभएपछि विश्व स्वास्थ्य संगठनले सन् २०२३ सम्ममा पुरा गर्नुपर्ने भनि नयाँ लक्ष्य तोकि दिएको भन्दै त्यसका लागि अभियान सञ्चालन गर्न लागिएको बताए ।
महाशाखाका जनस्वास्थ्य अधिकृत बसन्त श्रेष्ठ र खोप सुपरभाईजर भरत भण्डारीले नयाँ संरचनामा खोप सम्वन्धी नीति समेत केही परिवर्तन गर्नु पर्ने भएको भन्दै सांसदहरुको ध्यानाकर्षण गराएका थिए ।
बैठकमा के भने सांसदले ?
खगराज अधिकारी सांसद
खोपको अभियान आफैमा राम्रो हो । तर खोप अभियान शुरु गर्दै गर्दा गुणस्तरमा ध्यान दिऔँ । इन्डोनेसिया, चीन र केही बंगलादेशबाट आउने खोपहरुको गुणस्तरमा प्रश्न उठेको छ । त्यस तर्फ तपाँईहरुले ध्यान दिनु परयो । खोपमा सबैभन्दा बढी सहयोग ग्लोवल एलायन्स फर भ्याक्सिन एण्ड इमुनाइजेशन (गाभी)ले गरेको छ । उसको योगदानको भरपुर फाइदा लिनुपर्छ । तर कतिपय कर्मचारीहरु उसैको खर्चमा विदेश भ्रमणमा जाने गरेको सुनिएको छ । खोपको पैसा भ्रमणमा नसकौँ ।
अञ्जना विसंखे सांसद
खोपको कुरा गर्दा पाठेघरको मुखको क्यान्सर विरुद्ध लगाउने खोप एचपीभीको पनि कुरा आयो । यो अहिले किन रोकिएको छ ? पहिले कास्की र चितवनमा शुरु भएको थियो क्यारे ? यो महिलाहरुको लागि निकै नै अनिवार्य मानिएको खोप हो । यसलाई छिटो लागू गर्नुपरयो । बरु हामीले के के सहयोग गर्नुपर्छ गर्छौ ।
गजेन्द्र महत सांसद
खोपको महत्वकोबारेमा हामीलाई जानकारी गराउनु भयो धन्यवाद । तर मेरो जिल्ला, मेरो निर्वाचन क्षेत्र जुम्लामा खोप लगाउनका निकै कोस टाढा हिडेर जानुपर्छ । कहिले हिउ पर्छ जान सकिदैन । पुगेको बेलामा खोप हुँदैन ? यो खोप स्थानीय तहमा अर्थात गाँउमै लगाउने व्यवस्था गर्न सकिदैन ?
जयपुरी घर्ती सभापति शिक्षा तथा स्वास्थ्य समिति
खोपको जानकारी, दादुरा रुवेला खोप अभियान र खोप सम्वन्धी नीति नियम बारेमा जानकारी गराउनु भयो । यसका लागि समितिको तर्फबाट धन्यवाद । तपाईँहरुको चासो अभियान र ऐन निर्माण तथा संसोधनमा समितिले के गर्नुपर्छ ? सांसदले के गर्नुपर्छ । भन्नुस हामी गर्न तयार छौँ । भावी पुस्तालाई रोग लाग्नबाट बचाउन यो खोपको महत्व निकै नै छ । अझ् तपाईँहरुले पाठेघरको मुखको क्यान्सर विरुद्ध प्रयोग हुने खोपको प्रयोग सकेसम्म छिटो शुरुवात गरिदिनुपरयो । पाठेघरको मुखको क्यान्सर महिलाहरुको लागि निकै ठूलो समस्या र देशका लागि भयावह समस्या बन्दै गएको छ । यसलाई रोक्नका लागि अभियान शुरु गर्नुस । कानूनमा संसोधन गर्नुपर्ने जो कुरा भन्नु भएको छ । हामीले यसमा गर्नुपर्नै सहयोग गर्नेछौँ ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठ र महानिर्देशक डा रोशन पोखरेलले समेत सांसदको प्रश्नको जवाफ दिएका थिए ।
सम्पर्क इमेल : [email protected]