क्यानाडाको चिकित्सक संघ र आउँदै गरेको नेपाल चिकित्सक संघको चुनाव

डा. उमेशप्रसाद भट्टराई

विकसित देशहरुमा एउटा गुणस्तरीय र अब्बल स्वास्थ्य प्रणाली भएको देश हो क्यानाडा। अझ भन्नु पर्दा क्यानाडावासीहरुले आफुले गर्व गर्नु पर्दा आफ्नो देशको स्वास्थ्य प्रणाली सम्झिने गर्छन, स्वास्थ्य प्रणाली हरेक नागरिकको आफ्नो पहिचान जस्तै बनेको छ । तर अहिलेको चर्चा भने यो देशको चिकित्सक संघको चुनाबी प्रक्रियासंग केन्द्रित छ ।

क्यानाडामा चाँही चिकित्सक संघको अध्यक्षको जिम्मेवारी पालैपालो गरि हरेक बर्ष एउटा प्रान्तको चिकित्सकले गर्ने गर्दो रहेछ । यहाँ अध्यक्षमा विजय उम्मेदारले पहिलो बर्ष विजय उम्मेदवार भएर, दोस्रो बर्ष चिकित्सक संघको अध्यक्ष भएर, अनि तेस्रो बर्ष भूतपूर्व अध्यक्ष भएर , समग्रमा तिन बर्ष काम गर्दो रहेछ ।

हरेक प्रान्तबाट अध्यक्ष पदमा उम्मेद्वारी दिन कम्तिमा ५० जनाको समर्थन आवश्यक पर्दछ । ५० जनाको समर्थन पाएको खण्डमा जो कोहि चिकित्सकले पनि उम्मेदवारी दिन पाउँदछन् । अनि त्यसो हुँदा त धेरै जनाको अध्यक्ष पदमा उम्मेद्वारी दावी हुन्छ होला भन्ने नेपाली मनले सोच्न सकिन्छ तर वास्तविकता भने फरक छ ।

यहाँ सकभर एकजना भन्दा धेरैले उम्मेद्वारी नै दिदैनने् । एकजनाको मात्र उम्मेद्वारी परेको खण्डमा उक्त व्यक्तिलाई चिकित्सक संघको वार्षिक भेलाबाट चिकित्सक संघका काउन्सिलका पदाधिकारीले स्वीकृत गर्दछन् । व्यवहारिक रुपमा भन्नु पर्दा प्रान्तबाट चुनिएर आएको व्यक्ति नै अध्यक्ष हुने निश्चित नै हुन्छ ।

बिरलै मात्र रुपमा यहाँ दुई जनाको उम्मेदवारी पर्ने गर्छ । त्यसो भएमा मात्र चुनाव हुन्छ। यदि दुई जना उम्मेद्धार भएर चुनाव भयो भने उक्त प्रान्तका चिकित्सकले एउटालाई मात्रै होइन दुबै उम्मेद्धारलाई भोट गर्नुपर्छ । तर फरक यति हो कि भोट गर्दा पहिलो प्राथमिकता र दोस्रो प्राथमिकता भनेर हाल्नुपर्छ । अर्थात एलेक्ट्रोनिक ब्यालोटको नामको छेउ मा १ र २ टाइप गर्छन् ।

चुनावमा झगडा लफडाबाजीका घटना सून्य नै हुन्छन् । किनभने उक्त निर्वाचनको मुख्य उदेश्य भनेको आफ्ना पेसागत चिकित्सकलाई सहयोग गरि कसरी बलियो एकता बनाउने अनि कसरी गुणस्तरीय स्वास्थ्य सेवा दिने भन्ने हुन्छ । यी बाहेक अरु तेस्रो उद्धेश्य केही हुँदैन ।

क्यानाडामा चिकित्सक संघ निकै नै बलियो संस्था मानिन्छ। स्वास्थ्य मन्त्रीदेखि स्वास्थ्य क्षेत्रका दिग्गजहरु सबै चिकित्सक संघकै सुझावका आधारमा नीति तय गर्छन । चिकित्सक संघलाई वाइपास गरेर सरकारले कुनै पनि स्वास्थ्य नीति तथा कार्यक्रम ल्याउन्न ।

कुनै पनि चिकित्सकलाई कारबाही गर्नु पहिला चिकित्सक संघको धारणा नै अन्तिम हुने गर्दछ । अपबाद बाहेक चिकित्सक संघले दोषी ठहराएका चिकित्सकलाई मात्रै कानूनी कारबाही हुन्छ ।

समग्रमा भन्नु पर्दा चिकित्सकलाई सबैले धेरै नै आदर सम्मान गर्छन् । जसलाई कायम राख्नु नै क्यानाडीएन चिकित्सक संघको मुख्य उद्धेश्य हुन्छ । तसर्थ अरु चुनाबी मैदान जस्तो पार्टिगत ढंगले विभाजन हुदैंन अनि सबैले आफ्नो पेसागत संस्थालाई कसरी बलियो बनाउन सकिन्छ र कसरी गुणस्तरीय सेवा प्रदान गर्दै जनता माझ लोकप्रिय हुन सकिन्छ भनेर लागेका हुन्छन् ।

नेपालमा पनि नेपाल चिकित्सक संघको लामो इतिहास छ । प्रजातन्त्र स्थापना देखि बहुदल हुँदै गणतन्त्र स्थापना सम्म यो संघले ठुलो भूमिका निर्वाह गरेको छ तर जब जब चुनावी प्रकिया आउँछ हामीबीच एक अर्कालाई होचाउने, फलानो ढिस्कानो पार्टीको भनेर चुनाब लड्ने प्रबृत्ति देखिने गर्दछ ।

चिकित्सकहरुले राजनीति नै गर्नु हुन्न भन्ने होइन तर जबसम्म पेसागत संस्थामा पार्टीगत राजनीति हाबी हुन्छ न त त्यो संस्था नै बलियो हुन्छ न त उसले गर्ने क्रियाकलाब नै ।

अहिले नेपाल संघीय संरचनामा गईसकेको अवस्थामा चिकित्सक संघको मुख्य उद्देश्य दुईवटा हुनु पर्दछ जस्तो लाग्छ । एक कसरी सबै प्रदेशका चिकित्सकलाई एकताबद्द बनाउने अनि अर्को कसरी एक अर्को प्रदेश बीच रहेको स्वास्थ्य अवस्थाको अन्तरको खाडललाई पुरेर गुणस्तरीय सेवा प्रदान गर्ने ।

चुनाव प्रजातन्त्रको सुनौलो उपहार हो , यसलाई सहि ढंगले प्रयोग गरे बास्ना आउँछ नत्र गन्हाउँछ । अब कुन बाटो समात्ने हो त्यो सबैले सोच्ने बेला आएको छ ।

#डा. भट्टराई हाल क्यानाडामा स्वास्थ्य प्रणाली सम्बन्धि अध्ययन् गर्दैछन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *